+
+

दीक्षान्तमा पनि दुःखी यी गोल्डमेडलिस्ट र अरू विद्यार्थी !

ज्ञानको डिग्री त्रिविबाट लिएर दीक्षान्त समारोहमा टोपी उडाए पनि श्रमबजारमा चल्नका लागि विदेशकै विश्वविद्यालय ताक्नेको संख्या ठूलो भेटियो, रंगशालामा ।

नुनुता राई नुनुता राई
२०८० पुष २ गते २१:१२

२ पुस, काठमाडौं । ४९औं त्रिवि दीक्षान्त समारोहमा जुन तथ्यले कुलपति तथा प्रधानमन्त्री प्रचण्डलाई उत्साहित बनायो, त्यसको अर्को पाटोले विद्यार्थीहरूलाई भने पिरोलेको छ ।

प्रचण्ड खुसी हुने सन्दर्भको कुरा गरौं । सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल समेत बोलाएर त्रिविले एकैसाथ सबैभन्दा धेरै विद्यार्थी दीक्षित गर्ने विश्वविद्यालयको विश्व रेकर्ड कायम गरेको घोषणा गर्‍यो ।

‘आजको दीक्षान्त समारोहले नेपालको इतिहासमा मात्र होइन, विश्वको इतिहासमा समेत रेकर्ड रहन गयो’ प्रधानमन्त्रीले  दीक्षान्त समारोहमा भने, ‘त्रिभुवन विश्वविद्यालयले नेपाली उच्च शिक्षाको क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको मुक्तकण्ठले प्रशंसा गर्दछु ।’ तर कुलपतिलाई खुशी बनाएको समारोहमा उपस्थित दीक्षित विद्यार्थी भने निराश सुनिए ।

उनीहरुलाई दुःखी बनाउने कुरा थियो, नेपालको वर्तमान अवस्था । यहाँ थप अध्ययन, प्राज्ञिक शोध, अनि सीपमूलक रोजगारीको अभावले उनीहरुलाई अत्याएको छ भन्ने प्रष्टै बुझ्न पाइयो । त्यसैले उनीहरुले थप उच्च शिक्षा अथवा उचित अवसरको लागि विदेशिने मनसाय  व्यक्त गरे ।

अर्थात् ज्ञानको डिग्री त्रिविबाट लिएर दीक्षान्तमा टोपी उडाए पनि श्रमबजारमा चल्नका लागि विदेशकै विश्वविद्यालय ताक्नेको संख्या ठूलो भेटियो, दशरथ रंगशालामा । यस्तो मनसाय राख्नेमा स्वर्णपदक विजेतादेखि अरु दीक्षितसम्म भेटिए । तीमध्ये थुप्रैसँग अनलाइनखबरले भलाकुसारी गरेको छ ।

यही हप्ताभित्र लन्डन उड्ने तयारीमा रहेकी मानविकी तथा सामाजिक विज्ञानमा स्नातक सुजाता बुढाथोकीले भनिन्, ‘शैक्षिक गुणस्तरमा राम्रो छ तर रोजगारीको हिसाबले नेपालमा चित्तबुझ्दो छैन ।’ उच्च शिक्षासँगै भविष्य सुरक्षित गर्ने उद्देश्यले लण्डन जाने योजनामा रहेको उनले बताइन् ।

मानविकी तथा सामाजिक विज्ञानमै स्नातक गरेकी सुशीला मगर नेपालमा रोजगारीको खोजीमा छिन् । तर अहिलेसम्म उनले पढेको विषयमा रोजगारी पाउन सकेकी छैनन् ।

भन्छिन्, ‘यही बसौं भन्ने मन त हो तर चित्तबुझ्दो केही नहुने रहेछ त्यसैले अब विदेश नै जानुपर्ला भन्ने सोच बनाउँदैछु ।’ विदेशमा पढ्दा रोजगारीको अवसर धेरै पाउन सकिने उनको बुझाइ  छ ।

ब्याचलर्स इन फार्मेसी गरेकी दीक्षा दाहाल छिट्टै थप उच्च शिक्षाको लागि विदेश जाने तयारीमा छिन् । एक निजी अस्पतालमा कार्यरत दीक्षा उद्योग क्षेत्रमा काम गर्ने लक्ष्यका साथ पढिन् तर अवसर पाइनन् ।

नेपालको शैक्षिक गुणस्तर उत्कृष्ट भए पनि रोजगारीको अवसर नहुँदा विद्यार्थीको भविष्य अन्याेलमा रहेको उनी बताउँछिन् । भन्छिन्, ‘हामी हाम्रो क्षेत्रमा योग्य छौं तर हाम्रो क्षमता अनुसारको अवसर खोइ त ? सरकारीमा सीमित कोटा छन् त्यहाँ पर्नको लागि शैक्षिक योग्यतासँगै राजनीतिक पहुँच पनि चाहिन्छ ।’

सरकारले आफूले उत्पादन गरेको जनशक्ति कुन क्षेत्रमा कुन अवस्थामा छन्, निजी क्षेत्रले कुन तलब स्केलमा काम गरिरहेका छन् भन्ने अध्ययन तथा अनुगमन गर्नुपर्ने दीक्षाको भनाइ छ ।

बीएससी नर्सिङ गरेकी दिलिजा बोहरा सरकारले जनशक्ति उत्पादन गर्ने मात्रै नभएर खपत हुने ठाउँहरु पनि निर्माण गर्नुपर्ने बताउँछिन् । दक्ष हुँदाहुँदै अवसर नपाउँदा निराश हुनुपरेको उनी बताउँछिन् । भन्छिन्, ‘निश्चित सरकारी कोटामा काम गर्नेको अवस्था आशाजनक भए पनि त्यहाँ नअटेका लागि ठाउँ खै त ?’

२० लाख खर्च गरेर पढेर १५ देखि २० हजार तलबमा काम गर्नुपर्ने अवस्था रहेको छ । दिलिजा भन्छिन् ‘निजीमा काम गर्दा हामीले कमाएको तलबले बाँच्नको लागि पनि पुग्दैन । सरकारले सीप अनुसारको तलब नपाएपछि निराश हुँदै बस्नु भन्दा अवसर जहाँ छ, हामी त्यहाँ जाने हो ।’

दिलिजाका अनुसार नेपालको नर्सिङ क्षेत्रमा स्नातकोत्तर तहमा नेपालमा एडल्ट, कम्युनिटी, साइक्याट्रिक, वुमन हेल्थ भन्दा बाहेकको विषय अध्यापन हुँदैन ।

पत्रकारिता तथा आमसञ्चार पत्रकारिताकी गोल्डमेडलिष्ट बिजिशा बुढाथोकी भारतमा नै अवसरको खोजी गर्ने तयारीमा छिन् । भारतको एसियन कलेज अफ जर्नालिज्ममा इन्टिग्रेटेड मल्टिमिडिया जर्नालिज्म गरिरहेकी उनी भन्छिन्, ‘तालिमबाट त्यहाँको विभिन्न मिडियाहरुमा रोजगार हुने अवसर हुन्छ । त्यसमा मेरो कोसिस छ ।’

वातावरण विज्ञानमा स्नातकोत्तर गरेकी सुष्मा तिम्सिना नेपालमा बस्ने वातावरण नै नभएको सुनाउँछिन् । रोजगारी खोज्दा अनुभव नपुगेको भनेर फकाइएकी उनी भन्छिन्, ‘अवसर नै नपाए कसरी अनुभव बटुल्ने हो र ? स्नातकोत्तर सक्नासाथ चार/पाँच वर्षको अनुभव कहाँबाट ल्याउनु मैले ?’

न्यूनतम तलबमा अनुभवको लागि निजी क्षेत्रमा काम गरिरहेको सुनाउँदै भन्छिन्, ‘अहिले मैले काम गरिरहेको तलबले कार्यालय आउन–जानको लागि मात्रै हुन्छ । अनि यसरी मैले मेरो जीवन कसरी चलाउन सम्भव हुन्छ ?’ वर्षौं दु:ख गरेर उत्कृष्ट अंकसहित उत्तीर्ण गर्दा पनि रोजगार नपाउँदा निराश छिन् उनी । अझै केही समय पढे अनुसार रोजगारको खोजी गर्ने तर सोचे जस्तो नभए विदेश जाने मनसाय बनाउन थालेको उनले बताइन् ।

 गोल्डमेडलिष्टहरु पनि उस्तै सोच्छन्

समाजशास्त्र तथा मानवशास्त्रमा सर्वोत्कृष्ट भएर सुमन रिजाल पदक प्राप्त गरेकी दिलासा श्रेष्ठ हाल एक निजी अनुसन्धान केन्द्रमा कार्यरत छिन् । तर, उनी थप उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तयारीमा छिन् ।

सुमन भन्छिन्, ‘त्रिविको डिग्री त भयो नै अझ अर्को विदेशी विश्वविद्यालयको थप डिग्री हुँदा जब मार्केटमा आफैंलाई सेल गर्न सहज हुन्छ भन्ने लागेर पीएचडी गर्न जाने योजनामा छु ।’

उनलाई नेपालमा पनि अवसरको ढोकाहरु खुलिरहेकोले रोजगार हुने दक्ष जनशक्ति संख्या बढ्नेमा आशावादी छिन् । तर त्यसको लागि विद्यार्थी स्वयंले पनि मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘नेपालमा पनि विस्तारै क्षेत्रगत अवसरहरु खुलिरहेका छन् । तर, खुलेका श्रम बजारमा आफूलाई फिट गराउन शैक्षिक प्रमाणपत्रसँगै आफूमा सीप विकासको क्षमता पनि विद्यार्थी स्वयंले तयार गर्नुपर्छ ।’

स्नातकोत्तर राजनीतिशास्त्र विषयका गोल्डमेडलिस्ट अभिनव आचार्य राजनीतिशास्त्रमा एमफिल गरिरहेका छन् । भविष्यमा सक्रिय राजनीतिमा आउने तयारीमा रहेका उनी पीएचडीका लागि भने विदेश जाने तयारीमा छन् ।

उनी भन्छन्, ‘म सकेसम्म यहाँ गर्छु नभए विदेशमा पीएचडी गरेर नेपालमा नै सक्रिय राजनीतिमा आउने योजनामा छु ।’ नेपालमा शैक्षिक योग्यतासँगै सम्बन्धित क्षेत्रमा सीपको विकास गर्न सके बेरोजगार हुनुपर्ने अवस्था नरहेको उनको बुझाइ छ । उनी भन्छन्, ‘शैक्षिक प्रमाणपत्रसँग सीप छ भने बेरोजगार नै हुनुपर्ने अवस्था छ जस्तो मलाई लाग्दैन ।’

जैविक प्रविधिमा गोल्डमेडलिस्ट विनोद खड्का त्रिविबाट उत्पादित जम्मा संख्याको आधा भन्दा बढी अवसरको लागि बाहिर नै जानुपर्ने अवस्था रहेको बताउँछन् । उनी भन्छन्, ‘नयाँ अवसर खुलेको छैन । पुराना ठाउँजति सबै भरिएका छन् । वार्षिक रुपमा पास हुने यति धेरै विद्यार्थी छन् । जहाँ अवसर छ, त्यहीं जाने त हो ।’ निजी ल्याबमा कार्यरत उनी पनि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तयारीमा रहेको बताउँछन् ।

ख्वपः कलेज भक्तपुरबाट अंग्रेजी साहित्यमा गोल्डमेडलिस्ट पलिस्था रञ्जितकार पनि थप उच्च शिक्षाको लागि विदेश जाने तयारीमा रहेकी छिन् । उनी भन्छिन्, ‘पढाइसकेपछि विदेशमा पाउने अवसरको थोरै मात्रै कमि पाएँ भने मात्रै फर्कन्छु ।’ नेपालमा शैक्षिक योग्यता अनुसारको तलब भएको रोजगारी नपाउँदा धेरै युवा अवसरको खोजीमा विदेशिइरहेको उनको बुझाइ छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?