+

‘मलाई धेरै अल्छी लाग्छ, कारण के हुनसक्छ ?’

२०८० पुष  ३ गते १३:२८ २०८० पुष ३ गते १३:२८
‘मलाई धेरै अल्छी लाग्छ, कारण के हुनसक्छ ?’

हिँड्न मन लाग्दैन । खान, खेल्न, पढ्न, काम गर्न पनि जाँगर चल्दैन । ज्यान भारी लाग्छ । किन यस्तो हुन्छ ?

शारीरिक थकान वा अरु सामान्य कारणले यस्तो महसुष हुन्छ । बेलाबखत यस्तो सबैलाई हुन्छ, जुन सामान्य हो । तर, हरबखत वा धेरैजसो समय अल्छी लागिरहन्छ भने त्यसले अरु समस्यालाई संकेत गर्छ । अर्थात अल्छी लाग्नुको सोझो अर्थ भनेको तपाईंको मानसिक वा शारीरिक स्थितीमा केही न केही गडबडी छ ।

अल्छी लाग्नुको मूलत दुई कारण हुन्छ, शारीरिक र मानसिक ।

तनाव वा डिप्रेसन जस्ता मनोविकारले पनि शरीरमा फुर्ति आउँदैन । केही गर्ने जाँगर र उर्जा हराउँछ । यसैगरी शारीरिक रुपमा कुनै पोषक तत्वको कमी, कुनै रोग आदि भएमा अल्छी लाग्छ ।

अल्छी लाग्नु भनेको मनबाट उत्साह हराउनु हो र शरीर शिथिल एवं लाचर हुनु हो । यस्तो अवस्थामा हामीलाई आफ्नो नियमित कामकाग गर्न मात्र होइन, साथीभाईसँग बोल्न, परिवारसँग बस्न पनि जाँगर चल्दैन । शरीर थाकेको महसुष हुन्छ ।

यी ६ कारणले अल्छी लाग्नसक्छ

अनिद्रा

तपाईं राम्ररी सुत्नुभएको छैन । निद्रा विथोलिएको छ । निद्रामा धेरै सपना देख्नुभयो वा ऐंठन पर्नुभयो । वा सुत्ने तालिका मिलेन । यस्तो अवस्थामा तपाईंको शरीरमा उर्जा हराउँछ । बिहान उठ्दा तपाईंको शरीर कमजोर भएको महसुष हुन्छ ।

जब हामी गहिरो निद्रा लिन्छौं, शरीरलाई राम्ररी विश्राम मिल्छ । सामान्यत शरीरलाई दैनिक सात वा आठ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ ।

सोडियमको कमी

अल्छी लाग्नुको अर्को कारण हुनसक्छ शरीरमा सोडियमको कमी । यदि शरीरमा सोडियमको कमी भयो भने हामीलाई थाकेको, गलेको वा उर्जा नै नभएको महसुष हुन्छ ।

सोडियम हामीले नुनमार्फत प्राप्त गरिरहेका हुन्छौं । तर, धेरै नुन खानु स्वास्थ्यका लागि उचित हुन्न । त्यसैले यसको सन्तुलनमा एकदमै ध्यान दिनुपर्छ । सामान्यत एक जना वयस्कले दिनमा पाँच ग्रामदेखि एक चम्चा नुन खान सक्छन् ।

क्याल्सियम अपुग

क्याल्सियमको अभाव भएमा शरीर लुलो भएको महसुष हुन्छ । हातखुट्टा, जोर्नी वा मांशपेसी दुखेको जस्तो लाग्छ । काम गर्ने जाँगर चल्दैन । अल्छी लाग्छ ।

शरीरलाई उर्जावान र तन्दुरुस्त राख्न एकदमै जरुरी मिनरल हो, क्याल्सियम । यसलाई सुक्ष्म पोषक तत्व भनिन्छ । हड्डी बलियो बनाउन र स्वस्थ संरचनाका लागि क्याल्सियम आवयश्क पर्छ । अनिद्रा, डिप्रेसन, डिमेन्सिया पनि क्याल्सियमकै कमीले हुनसक्छ ।

दूध, बदाम, सुन्तला, ब्रोकाउली, भिन्डी, अन्डा आदिबाट क्याल्सियम प्राप्त हुन्छ ।

भिटामिनको अभाव

भिटामिनले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा भिटामिन बी १२ को कमीले नशाहरु कमजोर हुन्छ । त्यसैले शरीर लुलो हुने, हातखुट्टा झमझमाउने, करेन्ट लागेजस्तो हुन्छ ।

भिटामिनको अभाव भएमा शरीर अल्छी र शिथिल हुन्छ ।

गोलभेडा, सखरखण्ड, गाजर, ब्रोकाउली आदि भिटामिनको स्रोत हुन् ।

थाइरोइड भएमा

हाम्रो घाँटीभित्र एक ग्रन्थी हुन्छ । यो ग्रन्थीले मुटु, मस्तिष्क र शरीरका अरु अंगलाई सही तरिकाले काम गर्नका लागि हर्मोन पैदा गर्छ । शरीरलाई उर्जावान बनाइराख्न थाइराइड ग्रन्थीले काम गर्छ ।

जब थाइरोइड हर्मोन गडबड भएमा पनि अल्छी लाग्छ । थाइराइडको गडबडीले निद्रा नलाग्ने, शरीर गलेको महसुष हुने, बोल्न वा काम गर्न जाँगर नलने, दिक्क लाग्ने हुन्छ ।

रगतको कमी

अल्छी लागिरहनुमा शरीरमा रगतको अभाव पनि एउटा कारण हुनसक्छ । किनभने शरीरको विभिन्न भागमा अक्सिजन पु¥याउने काम रगतले गर्छ । जब रगतको कमी हुन्छ, शरीरका ति सबै भागहरुमा अक्सिजन राम्ररी प्रवाह हुन पाउदैन । यही कारण हाम्रो शरीर सिथिल हुन्छ ।

हिँड्दा, काम गर्दा थकान महसुष हुन्छ । हामीलाई हरक्षण अल्छी लागिरहन्छ ।

अब के गर्ने त ?

बेलाबखत अल्छी लाग्नु सामान्य हो । तर, यदि आफ्नो दैनिकी नै प्रभावित हुनेगरी अल्छी लाग्छ भने शारीरिक वा मानसिक समस्या पो छ कि भनेर हेर्नुपर्ने हुन्छ ।

मूलतः सन्तुलित खानपान, पुग्दो निद्राले अल्छी भगाउँछ । गेडागुडी, सागपात, मौसमी फलफूल, माछामासु, अण्डा, दूध वा दूधजन्य परिकार आदि सन्तुलित मात्रामा खाने । व्यायाम गर्ने । योग, ध्यान, प्राणायाम जस्ता विधि अपनाउने ।

जंकफुड वा प्रशोधित खानपान नियन्त्रण गर्ने, चुरोट र रक्सीको मात्रा घटाउने, सुत्ने र उठ्ने तालिका नियमित बनाउने ।

यदि थाइरोइड वा कुनै समस्याको शंका लागेमा सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

क्याल्सियम थाइरोइड भिटामिन
प्रा.डा. लोचन कार्की
लेखक
प्रा.डा. लोचन कार्की
जनरल फिजिसियन 

मेडिकल काउन्सिल दर्ता नम्बर : ४६८७ एमबीबीएस, एमडी, पोस्ट ग्राजुएसन इन एभिएसन मेडिसिन वीर अस्पताल, फ्रन्टलाइन अस्पताल, हिमाल अस्पतालमा कार्यरत, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?