+
+

सेनालाई पाण्डेको प्रश्न : ०८३ चैतमा द्रुतमार्गको निर्माण सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १३:५४
सांसद राजेन्द्र पाण्डे । फाइल फोटो

४ पुस, काठमाडौं । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडौं–तराई मधेश द्रुतमार्ग प्रगति सन्तोषजनक नभएको बताएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था समितिमा प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजनाका अधिकारीहरुसँग भएको छलफलमा पाण्डेले २०८३ चैतभित्र निर्माण सम्पन्न हुन्छ कि हुँदैन भनेर सोधेका छन् ।

२०७४ वैशाख १ मा द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो भने १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए । पछिल्लो पटक थप भएको म्यादअनुसार ०८३ चैत मसान्तमा सम्पन्न हुनुपर्छ ।

तर सेनाले समितिलाई दिएको जानकारी अनुसार इन्ट्री प्वाइन्ट खोकनाको जग्गा विवाद अझै टुंगिएको छैन भने निजगढको इन्टरचेन्ज डिजाइन फेर्ने प्रस्ताव नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको छ ।

द्रुतमार्गलाई सेनाले १३ प्याकेज बनाएको छ, जसमध्ये ५ वटाको अझै ठेक्का लागेको छैन । रुख कटानका लागि ७ महिनासम्म स्वीकृति नपाएको भनेर सेना आफैंले ब्रिफिङ गरेको उल्लेख गर्दै पाण्डेले भने, ‘आजको कामको स्पीड हेर्दा ८३ चैतमा काम सम्पन्न गरेर दिनुहोला ? हुन्छ जस्तो मलाई लागेन ।’

आफू बागमती प्रदेशको मुख्यमन्त्री भएको बेला समेत प्रधानसेनापतिलाई बोलाएर ध्यानाकर्षण गराएको उनले स्मरण गरे । छिटो होस् भन्नेका लागि सेनालाई दिएको भन्दै उनले भने, ‘प्रगति जति हुनुपर्ने हो, त्यति देखिएन ।’

साथै द्रुतमार्ग निर्माणमा भद्रगोल छ, मनपरी छ भनेर गुनासो आएको भन्दै उनले के भएको हो भनेर सोधेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?