+
+

नगरवासीलाई सस्तोमा औषधि बेच्न भाडामा घर खोज्दै महानगर

१५ दिने सूचना प्रकाशित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १४:११

४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ । महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ ।

महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

महानगरपालिकाले महाराजगञ्ज क्षेत्रमा वडा नम्बर ३ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, वीर अस्पताल क्षेत्रमा वडा नम्बर २२ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, कालीमाटी क्षेत्रमा १३ नम्बर वडाको स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकै, लैनचौर क्षेत्रमा वडा नम्बर २६ को स्वास्थ्य प्रबर्द्धन केन्द्र नजिकैको घर भाडामा लिने जनाएको हो ।

महानगरपालिकाले भाडामा लिने घर आठ सयदेखि १२ सय वर्ग फिट भएको तथा नक्सा पास हुनुपर्ने, कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान हुनुपर्ने जनाएको छ ।

हेर्नुहोस् सूचनाः

माघदेखि ५ स्थानमा सञ्चालन

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागका अनुसार चालु आर्थिक वर्षमा ५ स्थानमा फार्मेसी सञ्चालनको तयारी गरेको छ ।

‘हामीले बबरमहलमा एक ठाउँमा स्थान फेला पारिसकेका छौं, अन्य चार स्थानका लागि आज घर भाडा लिन सूचना प्रकाशित भएको हो । यो वर्ष ५ स्थानबाट फार्मेसी सञ्चालन हुन्छ,’ महानगरका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलले भने । माघ महिनादेखि फार्मेसी सञ्चालन हुने बताए ।

फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने फर्मासिस्ट महानगरमा भएको श्रम बैंकमा आवद्ध भएकालाई राख्ने र नपुगेको अवस्थामा विज्ञापन खोलेर राख्ने उनले बताए ।

‘हाम्रो फार्मेसीमा नेपाल सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भने, अन्य औषधिहरु प्रचलित सरकारी मूल्य अनुसार पाइन्छ,’ पौडेलले अनलाइनखबरसँग भने ।

उनले आवश्यकता र प्रभावकारिता अनुसार आगामी आर्थिक वर्षमा विस्तार गर्ने समेत बताए ।

काठमाडौंले स्वास्थ्य क्षेत्रमा ९२ करोड ६६ लाख बजेट ल्याएको महानगर आफैंले ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने भन्दै ६ करोड बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?