+
+

पाटन अस्पताल मृत्यु प्रकरण अध्ययन रिपोर्ट : औषधिको गुणस्तरमा समस्या भेटिएन 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते २०:००

८ पुस, काठमाडौं । पाटन अस्पतालमा सुइमार्फत औषधि दिएको केहीबेरमा नै दुई बिरामीको मृत्युको विषयमा गरिएको औषधि परीक्षणको गुणस्तर  कुनै समस्या नभएको पाइएको छ ।

१८ कात्तिकमा अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको सुइमार्फत औषधि दिएको पाँच मिनेटभित्रै मृत्यु भएको थियो ।

चिकित्सकहरुले उनीहरुलाई सेफ्ट्रिक्याक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) दिएका थिए । औषधि व्यवस्था विभागले गरेको अध्ययनमा दुवै औषधिको गुणस्तरमा कुनै समस्या नभएको एक उच्च अधिकारीले अनलाइखनखबरलाई जानकारी दिए ।

‘हामीले औषधिको गुणस्तर हेर्नका लागि दुई–तीन वटा कुरालाई परीक्षण गर्छौं । फर्माकोपिया प्यारामिटरभित्र रहेर औषधिको गुणस्तर हेर्नुपर्ने हुन्छ,’ ती अधिकारीले भने, ‘औषधिको गुाणस्तर मापदण्ड अनुसार नै भएको पाइयो ।’

त्यसैगरी, पोस्टमार्टमको प्रारम्भिक रिर्पोटमा पनि बिरामीमा निमोनिया र कलेजोमा समस्या रहेको पाइएको थियो । यद्यपि फाइनल रिर्पोट भने आइपुगिनसकेको छैन ।

पाटन अस्पतालका चिकित्सकहरु भने बिरामीको मृत्यु हुनुमा सुइमार्फत दिइएको औषधि मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताएका छन् ।

‘उहाँहरुलाई त्यही निमोनिया सेफ्ट्रियाक्सोन एन्टिबायोटिक सात दिन चलाएर ठीक भइरहेको थियो,’ मेडिसिन विभागका प्रमुख प्रा.डा. युवराज शर्माले भने, ‘यो औषधि सुरक्षित नै हो । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेका उहाँहरु सँगसँगै बित्नुभयो । तर, त्यो संयोग हुनसक्छ ।’

बिरामीमा उमेरसँगै (अन्य कारण) कहिलेकाहीँ रगतको ढिक्का उछिट्टिएर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?