News Summary
Generated by OK AI. Editorially reviewed.- यात्रामा वाकवाकी, चक्कर र बान्ता हुन मोशन सिकनेसका कारण भित्री कान र आँखाबाट आउने संकेत नमिल्दा हुन्छ ।
- बालबालिका, गर्भवती, स्तनपान गराइरहेका, वृद्धवृद्धा र केही स्वास्थ्य समस्या भएकाले औषधि लिनुअघि चिकित्सक वा फार्मासिस्टसँग सल्लाह लिनुपर्छ ।
यात्राका क्रममा धेरै मानिसलाई वाकवाकी लाग्ने, चक्कर आउने र बान्ता हुने समस्या हुन्छ । लामो दूरीको यात्रा, घुम्ती सडक, गर्मी, धुवाँ, सवारीसाधनको गति र गन्धले यस्तो समस्या बढाउन सक्छ । यसलाई सामान्यतया मोशन सिकनेस अर्थात् यात्राका कारण हुने वाकवाकी वा बान्ता भनिन्छ ।
केही सावधानी अपनाएर र आवश्यक परे उपयुक्त औषधि प्रयोग गरेर यसलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
यात्रा गर्दा किन बान्ता हुन्छ ?
हाम्रो शरीरको सन्तुलन कायम राख्न भित्री कान, आँखा तथा मांसपेशी र जोर्नीबाट मस्तिष्कमा सूचना पुग्छ । गाडीमा यात्रा गर्दा भित्री कानले शरीरको गति र चालसम्बन्धी संकेत पठाउँछ । तर गाडीभित्र बसेर मोबाइल हेर्दा वा पढ्दा आँखाले नजिकको स्थिर वस्तुमा ध्यान केन्द्रित गर्ने भएकाले चालसम्बन्धी फरक संकेत प्राप्त हुन सक्छ । यी संकेतबीच तालमेल नमिल्दा वाकवाकी लाग्ने, चक्कर आउने, पसिना आउने र बान्ता हुने जस्ता लक्षण देखिन सक्छन् ।
बालबालिकामा, विशेषगरी ७-१२ वर्ष उमेर समूहमा, यो समस्या बढी देखिन सक्छ । माइग्रेन वा भित्री कानसम्बन्धी समस्या भएका व्यक्तिमा पनि यसको जोखिम बढी हुन सक्छ ।
यात्रा गर्दा वान्ता हुने समस्या कम गर्न धेरै उपाय छन् । त्यस्ता उपायहरूले काम नगरेमा वान्ता रोक्ने औषधि अन्तिम विकल्प हो ।
कस्ता औषधि प्रयोग हुन्छ ?
मोशन सिकनेस रोक्ने औषधि सामान्यतया लक्षण सुरु हुनुअघि लिँदा बढी प्रभावकारी हुन्छन् । लक्षण सुरु भएपछि पेटको चाल सुस्त हुन सक्छ, जसले मुखबाट खाएको औषधि शरीरले सोस्न समय लाग्न सक्छ । त्यसैले औषधि छान्दा यसको असर सुरु हुन लाग्ने समय र यात्राको अवधि विचार गर्नुपर्छ ।
वान्ता हुँदा प्रयोग गरिने केही औषधिको निम्नअनुसार रहेका छन्:
१.डाइमेनहाइड्रिनेट
कति सेवन गर्ने ?
सामान्यतया ५०–१०० एमजी । यात्रा सुरु हुनुभन्दा ३०–६० मिनेटअघि लिन सकिन्छ । आवश्यक भए ४, ६, ८ घण्टाको अन्तरमा दोहोर्याउन मिल्छ ।
सम्भावित असर
निद्रा लाग्ने, मुख सुक्ने, दृष्टि धमिलो हुने र चक्कर लाग्ने ।
२.सिनारिजिन
कसरी खाने ?
१५ एमजीका चक्की भए सामान्य वयस्क मात्रा ३० एमजी अर्थात् दुई चक्की यात्रा सुरु हुनुभन्दा करिब २ घण्टा अघि सेवन गर्ने । लामो यात्रामा आवश्यक भए १५ एमजी प्रत्येक ८ घण्टामा लिन सकिन्छ ।
सम्भावित असर
निद्रा लाग्ने र अपच हुन सक्छ । लामो समय प्रयोग गर्दा केही व्यक्तिमा चालसम्बन्धी समस्या देखिन सक्छ ।
३.मेक्लिजिन
कसरी खाने ?
सामान्यतया २५–५० एमजी यात्रा सुरु हुनुभन्दा १–२ घण्टा अघि सेवन गर्ने । आवश्यक परे यात्राका क्रममा प्रत्येक २४ घण्टामा एकपटक थप मात्रा लिन सकिन्छ ।
सम्भावित असर
निद्रा लाग्ने, मुख सुक्ने र दृष्टि धमिलो हुने ।
४.प्रोमेथाजिन
कसरी खाने ?
सामान्यतया २५ एमजी । औषधिअनुसार यात्रा सुरु हुनुभन्दा १–२ घण्टाअघि वा अघिल्लो रात लिनुपर्ने हुन सक्छ । मात्रा र समयका लागि औषधिको निर्देशन वा स्वास्थ्यकर्मीको सल्लाह पालना गर्नु राम्रो हुन्छ ।
सम्भावित असर
धेरै निद्रा लाग्न सक्छ । चक्कर र रक्तचाप घट्ने समस्या पनि हुन सक्छ ।
५.हायोस्सिन हाइड्रोब्रोमाइड
कसरी प्रयोग गर्ने ?
३०० एमजीका चक्की भए वयस्कमा सामान्यतया एक चक्की यात्रा सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि लिनुपर्छ । आवश्यक भए कम्तीमा ६ घण्टाको अन्तरमा लिन सकिन्छ । तर २४ घण्टामा बढीमा तीन मात्रा लिने ।
सम्भावित असर
मुख सुक्ने, दृष्टि धमिलो हुने, कब्जियत र पिसाब फेर्न कठिनाइ हुन सक्छ । ग्लुकोमा वा पिसाब रोकिने समस्या भएकाले विशेष सावधानी अपनाउनुपर्छ ।
विशेष सावधानी
यहाँ उल्लेख गरिएका औषधि र मात्रा स्वास्थ्य समस्या नभएका वयस्कहरूका लागि हुन् । नेपालमा उपलब्ध ब्रान्ड, औषधिको क्षमता र प्याकेटमा उल्लेख गरिएको निर्देशन फरक हुन सक्छ । सामान्य परिस्थिति नहुँदा आफ्नो स्वास्थ्य अवस्था र परिस्थिति हेरेर चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्नुपर्छ ।
यी औषधि सबै एकैपटक वा पालैपालो मिसाएर प्रयोग गर्नु हुँदैन । यीमध्ये धेरै औषधिले निद्रा लगाउन सक्छन् । हायोस्सिनका छालामा टाँसिने प्याचको मात्रा र प्रयोग गर्ने समय चक्कीभन्दा फरक हुन्छ । प्याचको निर्देशन छुट्टै पालना गर्नुपर्छ र प्याच काटेर प्रयोग गर्नु हुँदैन ।
आफूखुसी औषधि सेवन नगर्नुहोस् । सही औषधि, मात्रा र प्रयोग गर्ने समयबारे चिकित्सक वा विशेषगरी फार्मासिस्टसँग परामर्श लिनुहोस् ।
यी औषधिले कसरी काम गर्छन् ?
डाइमेनहाइड्रेनेट, सिनारिजिन, मेक्लिजिन, प्रोमेथाजिन जस्ता औषधिले मुख्यतः हिस्टामिनसम्बन्धी संकेतलाई रोक्दै मस्तिष्कमा सन्तुलन र वाकवाकीसँग सम्बन्धित प्रतिक्रियालाई कम गर्छन् ।
हायोसिन हाइड्रोब्रोमाइडले एसिटाइलकोलिनको प्रभाव रोक्ने भएकाले भित्री कान र मस्तिष्कबीचका सन्तुलनसम्बन्धी संकेतबाट उत्पन्न लक्षण कम गर्न मद्दत गर्छ । तर औषधिको असर व्यक्तिपिच्छे फरक हुन सक्छ ।
पहिलोपटक औषधि लिँदै हुनुहुन्छ भने यात्राअघि स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ ।
कसले औषधि लिनुअघि सल्लाह लिनुपर्छ ?
बच्चालाई वयस्कको मात्रा दिनु हुँदैन । बालबालिकामा औषधिको मात्रा उमेर, तौल र औषधिको प्रकारअनुसार फरक हुन्छ । विशेषगरी साना बालबालिकामा निद्रा लगाउने औषधि गलत मात्रामा दिँदा गम्भीर असर पर्न सक्छ । गर्भवती वा स्तनपान गराइरहेका व्यक्ति, वृद्धवृद्धा, ग्लुकोमा भएका, पिसाब फेर्न कठिनाइ भएका, मुटुको चालसम्बन्धी समस्या भएका वा नियमित रूपमा निद्रा लगाउने औषधि सेवन गर्ने व्यक्तिले औषधि प्रयोग गर्नुअघि चिकित्सक वा फार्मासिस्टसँग सल्लाह लिनुपर्छ ।
यी औषधि सेवन गरेपछि सवारीसाधन आफैँ नचलाउनुहोस् । मदिरा वा अन्य निद्रा लगाउने औषधिसँग मिसाउँदा निद्रा, चक्कर र अन्य प्रतिकूल असर बढ्न सक्छन् ।
बान्ता सुरु भइसकेपछि के गर्ने ?
बान्ता सुरु भएमा सम्भव भएसम्म सुरक्षित ठाउँमा आराम गर्नुहोस्, टाउको कम चलाउनुहोस् र ताजा हावा लिनुहोस् । पानी वा जीवनजल थोरै-थोरै गरेर पिउनुहोस्। एकैपटक धेरै पिउँदा फेरि बान्ता हुन सक्छ । बान्ता भइरहेको अवस्थामा मुखबाट खाएको औषधि शरीरमा सोसिन नसक्ने सम्भावना हुन्छ । त्यसैले बारम्बार बान्ता भइरहेमा थप औषधि आफैँले दोहोर्याउनुको सट्टा स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस् ।
पानीसमेत अडिन नसक्ने गरी बान्ता भइरहेमा, पिसाब अत्यन्त कम भएमा, धेरै कमजोरी वा बेहोस हुने अवस्था आएमा, बान्तामा रगत देखिएमा वा पेट अथवा टाउकोमा कडा दुखाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ । यात्रा सकिएपछि पनि बान्ता जारी रहेमा वा यात्रासँग सम्बन्धित नभएका अन्य लक्षण देखिएमा त्यसलाई सामान्य मोशन सिकनेस भनेर बेवास्ता गर्नु हुँदैन ।
खाली पेट बस्दा बान्ता हुँदैन ?
यात्रामा हुने बान्ता रोक्न खाली पेट बस्नु आवश्यक छैन । यात्रा सुरु गर्नुअघि हल्का खाना खाने, पानी पर्याप्त पिउने, अगाडितिर हेर्ने, मोबाइल कम चलाउने, टाउको स्थिर राख्ने र पर्याप्त निद्रा लिने जस्ता उपाय उपयोगी हुन्छन् ।
नियमित यात्राले समयसँगै अभ्यस्त हुन मद्दत गर्न सक्छ । बारम्बार मोशन सिकनेस हुने व्यक्तिले यात्राअघि उपयुक्त औषधिबारे स्वास्थ्यकर्मी वा फार्मासिस्टसँग सल्लाह लिन सक्छन् । औषधिको मात्रा र प्रयोगको समय सही हुनुपर्छ, र निद्रा लाग्ने औषधि सेवन गरेपछि सवारी चलाउनु हुँदैन । सावधानीपूर्वक योजना बनाउँदा चाडपर्वको लामो यात्रा अझ सहज र सुरक्षित बनाउन सकिन्छ ।
औषधिबिना बान्ता रोक्न के गर्न सकिन्छ ?
–अगाडितिर फर्केर बस्ने वा क्षितिजतिर हेर्न ।
–मोबाइल चलाउने, किताब पढ्ने वा भिडियो हेर्ने जस्ता गतिविधि नगर्ने ।
–टाउको सिटमा अड्याएर स्थिर राख्ने ।
–गाडीको झ्याल खोलेर ताजा हावा लिने ।
–यात्रा गर्नुअघि दाँत माझेर मुख सफा राख्ने।
–लामो यात्रामा सुरक्षित ठाउँमा रोकिएर बीचबीचमा आराम गर्ने।
–यात्रा गर्नुअघि पर्याप्त निद्रा लिने।
–अदुवा प्रयोग गर्न सकिन्छ
प्रतिक्रिया 4