+

विपद्को पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ

२०८३ असोज  २३ गते ९:५९ २०८३ असोज २३ गते ९:५९
विपद्को पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ

भदौ १० को भोटेकोशी बाढी पीडितका पीडा, छट्पटी र वेदना असह्य छन् । भावना अव्यक्त छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएका वीभत्स दृष्यहरूले पीडितको मन झन अशान्त बनाउँछ । यी सबै कुराहरूले जुनसुकै पेशा र व्यवसायको भएता पनि मान्छेलाई एकाकार पार्दोरहेछ ।

म पेशाले मनोविद् भएकाले यी सबै दृश्य र परिस्थितिलाई नजिकबाट नियालिरहेको छु । यसै बीचमा एउटा गैरसरकारी संस्थाको आह्वानमा बाढी प्रभावित नुवाकोट र रसुवाका विस्थापित परिवारहरूलाई राखिएको होल्डिङ सेन्टरमा सामाजिक मनोपरामर्श दिन खटिएँ ।

आज जति पनि पीडितहरू हुनुहुन्छ सबैलाई एक किसिमको जीवनवादी, आशावादी र हृदयको झंकारलाई सुन्ने परामर्श चाहिएको छ ।

पीडितका वेदना र अभावलाई नजिकबाट नियालिरहेको थिएँ । केही दिनपछि प्रत्यक्ष त्यही ठाउँमा पुगियो । यो बेला त्यो ठाउँमा जाने किन नजाने भन्ने दोधारलाई चिरेर मन दरो बनाई घरबाट निस्केको म त्यहाँ पुग्दा झन् भक्कानिएँ ।

मानिसहरू आफन्त र सर्वस्व गुमाएको पीडामा अर्थचेत अवस्थामा देखिन्थे । सबको मनमा एक किसिमको त्रास र सन्नाटा मात्र देखिन्थ्यो । कसैलाई कसैको मतलब थिएन । महाप्रलयको आँधीबेहरी जसरी चारैतिर सन्नाटा सिवाय केही थिएन । सुरुमा कसैसित बोल्ने आँट आएन । नजिकै गएर उभिएँ । कहाँबाट कुरा सुरु गरूँ अन्योलग्रस्त भएँ । कसैको पीडा कसैको भन्दा कम थिएन । केवल कसले कसरी मन बुझाइरहेको छ भन्ने मात्र फरक थियो । कोही कसैसित बोलिरहेका थिएनन् ।

मनलाई भारी बनाएर एकजना अर्धबैंसे नारीको अगाडि पुगेँ । सामान्य आदरपूर्वक केही सोध्ने चेष्टा गरेँ । उनमा मसँग बोल्ने कुनै इच्छा थिएन । बेचैन र अव्यक्त कुण्ठाले जलिरहेकी छिन् भन्ने आभास हुन्थ्यो । तैपनि कुराकानीको झिनो प्रयास गरेँ ।

उहाँको श्रीमान् बेपत्ता हुनुहुन्थ्यो । पेशाले सुरक्षाकर्मी हुनुहुँदो रहेछ । घरमा वृद्ध सासुससुरा र साना छोराछोरी रहेछन् । परिवारको आर्थिक दायित्व बहन गर्ने श्रीमान् बेपत्ता भएको कुरा सुरुका दिनमा पत्यारै लागेन। बर्दीका सुरक्षाकर्मी यताउता गरेको देख्दा आफ्नो श्रीमानको झझल्को आउँदोरहेछ । तर क्रमशः समय बित्दै गयो घण्टा बित्यो, दिन बित्यो, हप्ता बित्यो । हामीले उनलाई भेट्दा घटना भएको एक महिना बितिसकको थियो ।

उहाँ बेलाबेला बरबराउनुहुन्थ्यो । भक्कानिनुहुन्थ्यो । चिच्याउनुहुन्थ्यो । आफूलाई सम्हाल्न सकिरहनु भएको थिएन । मैले उहाँलाई नजिकबाट नियाल्न खोजेँ मनोपरामर्श दिन थालेँ । सुरुका दिनमा त्यसमा अनिच्छुक हुनुहुन्थ्यो तर क्रमश आफूले आफैँलाई सम्हाल्दै जानुभयो । चारैतिर अन्धकार मात्र देख्ने उहाँ क्रमश उज्यालोको सानो किरण देख्न थालेको अनुभुति गर्न थालेँ ।

मैले पनि उहाँलाई नजिकबाट नियाल्दै गएँ । बुझ्दै गएँ र उहाँमा एक किसिमको आत्मविश्वासको सानो त्यान्द्रो विकास गर्दै लगेँ। छोराछोरी र परिवारको जिम्मेवारी बोध गर्दै आशाका किरणहरू अनुभूत गर्न सिकाउँदै गएँ । सानासाना नानी बाबुको भविष्यलाई लिएर बेलाबेला चिन्तित हुनुहुन्थ्यो, मूर्छित बन्नुहुन्थ्यो तर त्यसलाई क्रमश पार गर्दै जानुभयो उहाँ अहिले सत्यलाई स्वीकार गर्न थाल्नुभएको छ ।

सुरुका दिनहरूमा सत्यलाई स्वीकार गर्न निकै गाह्रो भएको थियो उहाँलाई । उज्यालो बाटोतर्फ लम्कने प्रयास गर्दैगर्दा धेरै पटक उहाँ लड्नुभयो । फेरि उठ्नुभयो । आफूले आफैँलाई सम्हाल्दै अगाडि बढ्नुभयो यसैगरी हाम्रो बीचमा भावनात्मक र मानसिक कुराहरू हुँदै गइरहेका थिए ।

नुवाकोटपछि रसुवातर्फ लागेँ । त्यहाँको पीडा झन् दर्दनाक थियो ।

केही समय बितिसकेको हुनाले होला यहाँका पीडितहरूमा अलि छिट्टै कुरा सुन्न खोज्ने, अनुभूति गर्न खोज्ने बानीको विकास भइसकेको जस्तो लाग्यो । परामर्शका विभिन्न चरणहरू क्रमशः अगाडि बढाउँदै लगेँ र उहाँहरूमा पनि सकारात्मक नतिजाहरू देखिन थाल्यो । पीडितका घाउमा मल्हम लगाउन पाउँदा खुसी र आनन्दको अनुभूति पनि बढ्दै गइरहेको थियो ।

 

मैले आफ्नो घर, परिवारको माया ममताका कुराहरूलाई सामान्यीकरण गर्दै गएँ। आफैँभित्र हराउँदै यही परिस्थितिमा मिसिँदै साक्षात्कार हुँदै अगाडि बढेँ । आज जति पनि पीडितहरू हुनुहुन्छ सबैलाई एक किसिमको जीवनवादी आशावादी र हृदयको झंकारलाई सुन्ने परामर्श चाहिएको छ।

पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ । यस्तो जीवनवादी अभियान सबैभन्दा छिटो पीडितकहाँ पुर्याउनुपर्ने दायित्व सरकारको हो । समाजको हो र हरेक जिम्मेवार नागरिक हामी सबैको हो ।

यसै बीचमा फेरि म पुरानै ठाउँमा पुगेँ । जहाँ मैले ती महिलालाई निकै नजिकबाट परामर्श दिइरहेको थिएँ । पछि उहाँलाई भेट्दा अत्यन्तै सकारात्मक र दरिलो भएको भेट्टाएँ ।

आफ्ना सन्तानको भविष्य प्रति गहिरो गरी सोचमग्न देखिनुहुन्थ्यो । उहाँ पीडाका बीचबाट उठ्दै हुनुहुन्थ्यो । सम्हालिँदै हुनुहुन्थ्यो । यसरी असह्य पीडाका बीचबाट पनि आफूलाई सम्हालेर आफ्नो परिवार र भविष्यप्रति सकारात्मक भएको देखेपछि मलाई एक किसिमको ऊर्जा प्राप्त भयो । अर्कै किसिमको सफलताको अनुभूति भयो । र लाग्यो मैले ती पीडितका केवल मनस्थिति र परिस्थिति लाई बुझ्न खोजेको थिएँ र बुझाउन खोजेको थिएँ त्यो कुरा मैले आंशिक भएपनि गर्न सकेँ । त्यसमा म खुसी छुँ ।

मानसिक स्वास्थ्य बाहिरबाट हेर्दा सामान्य जस्तो लागे पनि यो अत्यन्तै महत्वपूर्ण र जीवनसँग जोडिएको विषय हो । यसलाई इन्कार गर्न ठूला दुर्घटना हुन सक्छन् त्यसैले यस्ता महाविपद्का बेला मानसिक स्वास्थ्य सबैभन्दा महत्वपूर्ण र आवश्यक हुन्छ । आज जति पनि पीडितहरू हुनुहुन्छ सबैलाई एक किसिमको जीवनवादी आशावादी र हृदयको झंकारलाई सुन्ने परामर्श चाहिएको छ ।

मनोपरामर्श विपद्
लेखक
सृजना आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विपद्को पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ

विपद्को पीडाले भिजेका घाउहरूलाई मलम चाहिएको छ

आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

अचानक मृत्यु सधैं ‘विना संकेत’ हुँदैन

अचानक मृत्यु सधैं ‘विना संकेत’ हुँदैन

नाना पाटेकरको मृत्युको कारण ‘कार्डियाक अरेस्ट’, के हो यो समस्या ?

नाना पाटेकरको मृत्युको कारण ‘कार्डियाक अरेस्ट’, के हो यो समस्या ?

खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब चुहिन्छ ? लुकाएर राखिने यो समस्या कति गम्भीर ?

खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब चुहिन्छ ? लुकाएर राखिने यो समस्या कति गम्भीर ?

‘प्लेग’ महामारीको इतिहास : मर्न लागेका आफन्तलाई घरमै छाडेर मानिसहरू भाग्थे

‘प्लेग’ महामारीको इतिहास : मर्न लागेका आफन्तलाई घरमै छाडेर मानिसहरू भाग्थे