+

खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब चुहिन्छ ? लुकाएर राखिने यो समस्या कति गम्भीर ?

२०८३ असोज  २१ गते १४:४१ २०८३ असोज २१ गते १४:४१
खोक्दा वा हाच्छ्युँ गर्दा पिसाब चुहिन्छ ? लुकाएर राखिने यो समस्या कति गम्भीर ?

हाँस्दा पिसाब चुहिन्छ । खोक्दा पनि रोकिँदैन । हाच्छ्युँ गर्दा, भर्‍याङ चढ्दा वा भारी सामान उठाउँदा त झन् समस्या हुन्छ ।

कतिपय महिलालाई यस्तो भएपछि घरबाट बाहिर निस्कनसमेत डर लाग्छ । लामो यात्रा गर्नुपर्‍यो भने बाटोमा शौचालय पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुन्छ ।

व्यायाम गर्न, सामाजिक कार्यक्रममा जान वा धेरैबेर घरबाहिर बस्न पनि उनीहरू हिच्किचाउन थाल्छन् ।

तर यो कुरा धेरै महिलाले कसैलाई भन्दैनन् ।

लाज लाग्छ । असहज लाग्छ । कतिपयलाई त लाग्छ, उमेर बढेपछि यस्तो हुनु स्वाभाविक हो । बच्चा जन्माएपछि यस्तै हुन्छ । त्यसैले, उनीहरू उपचार खोज्नुको साटो समस्या सहेर बस्छन् ।

तर यसरी पिसाब चुहिनु सामान्य अवस्था होइन । उमेर बढ्दै गएपछि वा बच्चा जन्माएपछि उसै हुने समस्या पनि होइन । यसको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ ।

खोक्दा वा हाच्छ्युँ गर्दा नै किन चुहिन्छ पिसाब ?

हाँस्दा, खोक्दा, हाच्छ्युँ गर्दा, दौडिँदा, उफ्रिँदा वा भारी सामान उठाउँदा पेटभित्र अचानक दबाब बढ्छ । सामान्य अवस्थामा पेल्भिक फ्लोर अर्थात् यौनांगको तल्लो भागका मांसपेशी र पिसाब नलीलाई सहारा दिने तन्तुले त्यो दबाब सम्हाल्छन् । त्यसैले, पिसाब बाहिर निस्किँदैन ।

तर यी मांसपेशी कमजोर भए वा तिनबीचको समन्वय बिग्रिएमा पिसाब चुहिन सक्छ । यसलाई चिकित्सकीय भाषामा ‘स्ट्रेस युरिनरी इन्कन्टिनेन्स’ भनिन्छ । गर्भावस्था, प्रसूति, रजोनिवृत्ति, उमेर बढ्दै जानु, मोटोपन र मधुमेहजस्ता कारणले पनि पेल्भिक फ्लोरका मांसपेशीमा असर पर्न सक्छ ।

सुरुमा केही थोपा, पछि दैनिकीमै असर

पिसाब चुहिने समस्या धेरैजसो विस्तारै बढ्न सक्छ । सुरुमा खोक्दा, हाच्छ्युँ गर्दा वा व्यायाम गर्दा केही थोपा मात्र चुहिन सक्छ । त्यसपछि समस्या बढ्दै जाँदा यात्रा गर्न, व्यायाम गर्न, सामाजिक कार्यक्रममा सहभागी हुन वा घरबाट बाहिर निस्कनसमेत अप्ठ्यारो हुन सक्छ ।

अर्थात, समस्या पिसाबको मात्र रहँदैन । यसले बिस्तारै महिलाको दैनिक जीवनलाई नै साँघुरो बनाउन सक्छ ।

पिसाब चुहिने डरले कतिपय महिला आफूलाई मन लागेको काम गर्नसमेत छाड्न सक्छन् । त्यसमाथि पिसाब चुहिनेसँगै पोल्ने, दुख्ने, पिसाबमा रगत देखिने, बारम्बार संक्रमण हुने वा पिसाब गरेपछि पनि थैली पूरै खाली नभएको जस्तो लाग्ने भए चिकित्सकसँग जाँच गराउनु अझ आवश्यक हुन्छ ।

‘बच्चा जन्माएपछि त यस्तै हो’ भनेर नबस्नुहोस्

गर्भावस्थामा पेल्भिक फ्लोरमा ठूलो दबाब पर्छ । गर्भाशयको आकार बढ्दै जाँदा दबाब पनि बढ्छ ।त्यससँगै हुने हार्मोनल र शारीरिक परिवर्तनले पिसाब नियन्त्रणमा भूमिका खेल्ने मांसपेशी र तन्तुमा असर पार्न सक्छ ।

कतिपय महिलामा गर्भावस्थामै पिसाब चुहिने समस्या सुरु हुन्छ । गर्भावस्थामा यस्तो समस्या देखिएमा बच्चा जन्मिएपछि पनि कायम रहने सम्भावना हुन सक्छ । उमेर, तौल र यसअघि भएका गर्भावस्थाले पनि यसमा प्रभाव पार्न सक्छन् ।

सामान्य प्रसूतिपछि पिसाब नियन्त्रण गुम्ने समस्या सिजेरियन प्रसूतिभन्दा बढी देखिन सक्छ । तर सिजेरियन गरेपछि यो जोखिम पूरै हट्छ भन्ने होइन । गर्भावस्थाले नै पेल्भिक फ्लोरमा असर पार्न सक्छ ।

बच्चा जन्मिएपछि सुरुका केही महिनामा शरीरको पुनःस्थापनासँगै समस्या आफैं कम हुन सक्छ । तर हरेक महिलामा यस्तो हुन्छ भन्ने छैन । कतिपयमा यो समस्या लामो समयसम्म रहन सक्छ ।

त्यसैले, सुत्केरी भएपछि पिसाब चुहियो भन्दैमा ‘यो त सामान्य हो’ भनेर बेवास्ता गर्नु हुँदैन ।

पेल्भिक फ्लोर भनेको के हो ?

पेल्भिक फ्लोर भनेको यौनांगको तल्लो भागमा रहेका मांसपेशी र तन्तुको समूह हो । यसले शरीरका तल्लो पेटका महत्वपूर्ण अंगलाई सहारा दिन्छ । पिसाब र दिसा नियन्त्रणमा राख्न तथा पेटभित्र दबाब बढ्दा अंगलाई सहारा दिन यसको महत्वपूर्ण भूमिका हुन्छ ।

गर्भावस्था, प्रसूति, उमेर बढ्नु, मोटोपन, लामो समयको कब्जियत वा केही शल्यक्रियाका कारण यी मांसपेशी कमजोर हुन सक्छन् । तर यहाँ एउटा महत्वपूर्ण कुरा छ ।

हरेक महिलामा पिसाबको समस्या पेल्भिक फ्लोर कमजोर भएर मात्र हुँदैन । कतिपयमा यी मांसपेशी उल्टै धेरै कसिएका वा अत्यधिक सक्रिय पनि हुन सक्छन् । यस्तो अवस्थामा दुखाइ, पिसाब गर्न अप्ठ्यारो वा यौनसम्बन्धका बेला दुखाइजस्ता समस्या देखिन सक्छन् ।

त्यसैले, पिसाब चुहियो भन्दैमा सबैले एउटै किसिमको व्यायाम गर्न थाल्नु उचित हुँदैन । पहिले समस्या के हो भन्ने पत्ता लगाउनुपर्छ ।

के हुन्छ उपचार ?

उपचार पिसाब चुहिने प्रकार, समस्या कति गम्भीर छ र त्यसको कारण के हो भन्नेमा निर्भर हुन्छ । सुरुमा पेल्भिक फ्लोरको व्यायाम, मूत्रथैलीको तालिम, जीवनशैलीमा परिवर्तन तथा व्यवहारसँग सम्बन्धित उपाय अपनाउन सल्लाह दिइन सक्छ ।

कतिपय अवस्थामा औषधि वा विशेष उपकरणको आवश्यकता पर्न सक्छ । स्ट्रेस युरिनरी इन्कन्टिनेन्स लामो समयसम्म रहिरहेमा केही अवस्थामा इन्जेक्सन वा स्लिङ शल्यक्रियाजस्ता उपचार पनि विकल्प हुन सक्छन् ।

तर कुन उपचार आवश्यक छ भन्ने कुरा चिकित्सकीय जाँचपछि मात्र तय हुन्छ ।

कीगल व्यायाम सबैका लागि उपयोगी हुन्छ ?

पिसाब चुहिने समस्या सुन्नासाथ धेरैले भन्छन्, ‘कीगल एक्सरसाइज गर्नुस् ।’

पेल्भिक फ्लोरका मांसपेशीलाई खुम्च्याउने र फेरि खुकुलो पार्ने अभ्यासलाई कीगल व्यायाम भनिन्छ । सही तरिकाले गर्दा यसले केही महिलामा पिसाब नियन्त्रण सुधार्न र प्रसूतिपछिको पुनःस्थापनामा सहयोग गर्न सक्छ । तर समस्या यतिमै सकिँदैन ।

कतिपयले गलत मांसपेशी कसिरहेका हुन्छन् । पेट, नितम्ब वा तिघ्राका मांसपेशी कस्नु नै कीगल हो भन्ने ठान्न सक्छन् । कतिपयले आवश्यकताभन्दा बढी पनि यस्तो व्यायाम गर्छन् ।

यदि पेल्भिक फ्लोरका मांसपेशी पहिल्यै धेरै कसिएका छन् भने थप कस्ने व्यायामले उल्टै दुखाइ, असहजता वा पिसाबसम्बन्धी समस्या बढाउन सक्छ । त्यसैले, कीगल सुरु गर्नुअघि वास्तविक समस्या के हो भन्ने पत्ता लगाउनु महत्वपूर्ण हुन्छ । आवश्यक परे पेल्भिक फ्लोर फिजियोथेरापिस्टको सहयोग लिन सकिन्छ।

उपचार भनेको मांसपेशी कस्ने मात्रै होइन

पेल्भिक फ्लोरका मांसपेशी पेटका गहिरा मांसपेशी, डायाफ्राम र कम्मर तथा नितम्ब वरपरका मांसपेशीसँग मिलेर काम गर्छन् । त्यसैले, यसको पुनःस्थापना केवल मांसपेशी खुम्च्याउने अभ्यासमा सीमित हुँदैन।

पेल्भिक टिल्ट, कोर एक्टिभेसन, बर्ड–डग र ग्लुट ब्रिजजस्ता अभ्यास केही अवस्थामा उपयोगी हुन सक्छन् । सही मांसपेशी प्रयोग भइरहेको छ कि छैन भनेर बुझ्न बायोफिडब्याक प्रविधिले पनि सहयोग गर्न सक्छ । तर सबैलाई एउटै अभ्यास आवश्यक हुँदैन ।

कसैलाई मांसपेशी बलियो बनाउनुपर्ने हुन सक्छ भने कसैलाई मांसपेशी खुकुलो पार्ने र शरीरका विभिन्न भागबीच समन्वय मिलाउने अभ्यास आवश्यक पर्न सक्छ ।

कहिले चिकित्सककहाँ जाने ?

पिसाब चुहिने समस्या बारम्बार भइरहेको छ, बिस्तारै बढ्दै गएको छ वा यसले व्यायाम, काम, निद्रा, यौन सम्बन्ध वा दैनिक जीवनमै असर पार्न थालेको छ भने चिकित्सकसँग परामर्श लिनुपर्छ ।

पिसाब गर्दा दुखाइ वा पोलाइ हुनु, पिसाबमा रगत आउनु, पिसाब थैली पूरै खाली नभएको महसुस हुनु, बारम्बार पिसाबको संक्रमण हुनु, श्रोणि क्षेत्रमा अन्य समस्या देखिनु वा अचानक पिसाब नियन्त्रणमा परिवर्तन आउनु पनि जाँच गराउनुपर्ने संकेत हुन् ।

सबैभन्दा महत्वपूर्ण कुरा, पिसाब चुहिनु लुकाएर राख्नुपर्ने लाजको विषय होइन ।

यो स्वास्थ्यसम्बन्धी समस्या हो । कारण पत्ता लगाएर समयमै उपचार सुरु गर्न सके धेरै अवस्थामा यसलाई नियन्त्रण गर्न सकिन्छ ।

बीबीसीबाट

पिसाब पिसाब नियन्त्रण स्ट्रेस युरिनरी इन्कन्टिनेन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय