+

संगीत : मानसिक स्वास्थ्यको औषधि

२०८३ असोज  २५ गते १२:३८ २०८३ असोज २५ गते १२:३८
Shares
संगीत : मानसिक स्वास्थ्यको औषधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतले मानसिक तनाव, चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्ने र डोपामाइन तथा सेरोटोनिनको सन्तुलन मिलाउने लेखमा उल्लेख छ।

मानिसको भावना, विचार र संवेदनालाई ध्वनीको माध्यमबाट व्यक्त गर्न प्रयोग हुने विधिहरू गायन, बादन र नृत्यको संगम नै संगीत हो । संगीत मनोरञ्जनको साधन मात्र होइन, बरू यो ब्रम्हाण्डको त्यस्तो विश्व्यापी भाषा हो, जसलाई बुझ्न कुनै शब्द वा व्याकरणको आवश्यकता पर्दैन ।

एउटा सामान्य धुनले मानिसलाई गहिरो शान्ति दिन सक्छ । संगीतले मस्तिष्कमा ‘डोपामाइन’ र ‘सेरोटोनिन’ जस्ता न्यूरो ट्रान्समिटरहरूको सन्तुलन मिलाएर मानसिक तनाव, चिन्ता र डिप्रेसनलाई प्राकृतिक रुपमै कम गर्न मद्दत गर्दछ । त्यसैले चिकित्सकीय दृष्टिकोणले हेर्दा, संगीत मानसिक स्वास्थ्यका लागि एउटा शक्तिशाली औषधि र व्यायाम दुवै हो ।

फिनल्याण्डको हेलसिन्की विश्वविद्यालयका अनुसन्धानकर्ताहरू एउटा शोध गरेका थिए । जसमा ‘ट्वीङ्कल ट्वीङ्कल लिटल स्टार…’ बालगीत गर्भवती आमाले बच्चा जन्माउनुभन्दा ३ महिना अगाडिदेखि हप्ताको ५ पटक बजाएर सुनाइयो । अनि बच्चा जन्मिएर ४ महिनाहुँदासम्म यसबारे अध्ययन गरियो ।

गीत नसुनेका भन्दा गीत सुनेका बच्चाहरूको ‘ब्रेन एक्टिभिटी’ अनौठो रूपमा बढेको पाइयो । जसले बच्चाहरूको मस्तिष्कमा दीर्घकालीन स्मृति बन्ने कुरालाई प्रमाणित गर्‍यो ।

अध्ययनहरूले के भन्छ भने– आमाको गर्भमा रहेको २० देखि २४औं हप्तामा बच्चाको सुन्ने शक्तिको विकास भइसकेको हुन्छ । जसले गर्दा उसले बाहिरी आवाज वा धुन पहिचान गर्न थाल्दछ । यसबारे बेलायतको लेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि कैयौं पटक परीक्षण गरिसकेका छन् ।

मानसिक स्वास्थ्यमा संगीतको प्रयोग

जतिबेला कोरोना संक्रमणले उच्च प्रभाव पारिरहेको थियो, त्यतिबेला मानिसहरूले संगीतको प्रयोगबाट आफूलाई शान्त राख्न प्रयास गरे । कोरोनाका कारण अत्यन्त तनावपूर्ण र मानसिक आघात पुर्‍याउने खालको परिस्थितिको सामना गरिरहँदा संगीतलाई सहयोगी माध्यमका रूपमा सर्वत्र स्वीकार गरिएको निष्कर्ष हार्डबर्ड युनिभर्सिटी अमेरिकाको मनोचिकित्सा विभागका प्रमुख डा. डेभिड सिल्बरस्वेइगले बताएका छन् ।

दोश्रो विश्वयुद्ध आधुनिक इतिहासमा ‘म्यूजिक थेरापी’ लाई एउटा व्यवसायिक र वैज्ञानिक उपचार पद्धतिको रूपमा स्थापित गर्ने विशेष मोड हो भन्न सकिन्छ । त्यतिबेला मानसिक रुपमा गम्भीर आघात भोगेका लाखौं सैनिकहरूको मानसिक स्वास्थ्य सबल बनाउन संगीतको व्यापक प्रयोग गरिएको देखिन्छ ।

त्यतिबेला युद्ध मैदानबाट फर्किएका त्रसित र घाइते सैनिकहरू राखिएका सैनिक अस्पतालहरूमा स्थानीय ‘स्वयंसेवक संगीतकार’ हरू गएर संगीत प्रस्तुत गर्थे ।
सैनिकहरूलाई मनोरञ्जन र हौसला बढाउन सुरु गरिएको यो प्रयासले अचम्मको क्लिनिकल सुधार देखिएको थियो ।

संगीत सुनेपछि सैनिकहरूको मानसिक तनाव घट्यो, रुने÷कराउने समस्या कम भयो र उनीहरूको घाउ निको हुने गति पनि तीब्र भयो । त्यतिबेला अमेरिकी युद्ध विभागले ‘टेक्निकल बुलेटिन १८७’ प्रकाशित गरी सैनिकहरूको मानसिक र शारीरिक पुर्नस्थापनाका लागि संगीतलाई अनिवार्य रूपमा समावेश गर्ने निर्णय लियो ।

नेपालमा पनि अहिले डिप्रेसन, मानसिक आघात र मानसिक तथा मनोसामाजिक विकासमा ढिलाइ भएका व्यक्तिहरूको उपचारमा ‘म्यूजिक थेरापी’ प्रयोग भइरहेका छन् । विकसित देशहरूमा मनोरोग अस्पतालमा संगीतलाई एउटा अनिवार्य प्रणालीकै रूपमा जडान गरिएको हुन्छ ।

मानसिक अस्पतालका आकस्मिक कक्ष र वार्डहरूमा २४ सै घण्टा प्रतिमिनेट ६० देखि ८० बीपीएम भएका शान्त प्राकृतिक धुन तथा मधुर आवाजमा शास्त्रीय संगीत बज्ने गरी साउण्ड सिस्टम जडान गरिएको हुन्छ । जसले भर्ना भएका बिरामीहरूको आक्रामक व्यवहार र चिन्तालाई औषधिबिना नै २५ प्रतिशतसम्म कम गराउन मद्दत गरेको अध्ययनहरूले प्रमाणित गरेका छन् ।

मानसिक स्वास्थ्यका लागि संगीत कसरी सुन्ने ?

नेपाली माटोका सुगन्ध बोकेका मौलिक संगीतहरूमा मानसिक तनाव कम गर्ने र मनलाई शान्त पार्ने अद्भुत क्षमता छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानहरू र आईएस्ओ सिद्धान्तका नियमहरूलाई आधार मान्ने हो भने हाम्रो स्नायू प्रणालीलाई शान्त पार्न र ‘मुड फ्रेस’ गराउन संगीतका धुनहरू निकै प्रभावकारी मानिन्छन् ।

मस्तिष्कलाई प्रचुर आराम दिनका लागि शब्द नभएका र प्रति मिनेट ६० देखि ८० बिट्सको गतिमा बज्ने नेपाली शास्त्रीय तथा आधुनिक धुनहरू सबैभन्दा बढी प्रभावकारी मानिन्छन् । जसमा बाँसुरीको धुन हुन सक्दछ । डर र चिन्ता पैदा गर्ने मस्तिष्कको ‘अमिग्डाला’ भागलाई बाँसुरीको धुनले तुरुन्तै शान्त बनाउँछ । शरीरको तनावजन्य हर्मोन ‘कोर्टिसोल’ को स्तर घटाउन मधुर सारङ्गी र सितारका धुनहरू बढी प्रभावकारी मानिन्छन् ।

नारायणगोपाल, भक्तराज आचार्य जस्ता गायकहरूले गाउनुभएका भजन, गजल र सुस्त गतिका सुगम संगीतहरूले पनि मनलाई एकाग्र बनाउन मद्दत गर्दछ । तर, ऊर्जाको कमी महसुस भइरहेको अवस्थामा मनलाई ऊर्जा दिन र डोपामाइन रिलिज गराउन अलि तीब्र गतिको संगीत आवश्यक पर्दछ । जसमा मादलको कम्पनले मुटुको धड्कनलाई उत्साहजनक रूपमा गति दिन्छ भने नेवारी धिमे, तामाङ डम्फू वा मारुनीका लयहरूले मस्तिष्कको ‘रिवार्ड सेन्टर’ लाई सक्रिय बनाई निराशा हटाउन मद्दत गर्दछन् ।

नेपथ्य, १९७४ एडी, अल्बाट्रोस जस्ता ब्याण्डका देशभक्ति वा प्रेरणादयी गीतहरूले आत्मविश्वास र मानसिक ऊर्जा तुरुन्तै बढाईदिन्छन् । त्यस्तै, भजन कीर्तन र आध्यात्मिक संगीतमा एउटा बलियो सामाजिक र मानसिक उपचार पद्धति लुकेको हुन्छ ।

कस्ता संगीत कहिले सुन्ने ?

समय, अवस्था र परिस्थिति अनुकुल संगीतका साधनहरूको छनोट गर्नुपर्ने हुन्छ । जस्तो बिहान उठ्नेबित्तिकै आफ्नो संस्कार अनुरुपका भजन वा बाँसुरीको धुन सुन्दा त्यसले सकारात्मक भावना पैदा गराउन मद्दत गर्दछ ।

तनाव भएको बेलामा भने आफ्नो मुडसँग मिल्ने द्रुत गतिको गीत सुन्नुपर्दछ । तर, ‘मुड कुल’ हुँदै जाँदा संगीतको गतिलाई पनि कम गर्दै लैजानुपर्दछ । भनाइको अर्थ, तनाव कम हुँदै गयो भने बाँसुरी वा सारंगीका धुनहरूमा ‘सिफ्ट’ हुनुपर्दछ । संगीतलाई साँच्चै औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । अवस्था अनुसार संगीतलाई छानेर सुन्न सकियो भने तनावबाट चाँडो मुक्त हुन सकिन्छ ।

संगीत मन नपराउने मानिस मनोरोगी हुन त ?

संगीत मन नपराउनु एउटा सामान्य व्यक्तिगत रुचि मात्र हुन सक्दछ । संसारमा ३ देखि ५ प्रतिशत मानिसहरूको बनावट नै त्यस्तो हुन्छ कि उनीहरूलाई संगीतले कुनै प्रभाव नै पार्दैन । उनीहरूको मस्तिष्कको संगीत सुन्ने भाग ‘अडिटोरी कोर्टेक्स’ र खुसी महसुस गराउने भाग ‘रिवार्ड सेन्टर’ बीचको सञ्चारमा कमेजोरी हुन्छ । यस्ता व्यक्तिहरू पूर्णरूपमा स्वस्थ, बौद्धिक नै हुन्छन् तर उनीहरूलाई संगीतले खासै प्रभाव पार्न सक्दैन ।

फेरि सबै मानिसको रुचि एउटै हुन्छ भन्ने पनि हुँदैन । कतिपय मानिसहरूलाई संगीतको सट्टा किताब पढ्दा, खेल खेल्दा, प्राकृत्तिक रमणीय वातावरणमा घुम्दा, चित्र बनाउँदा बढी आनन्द आउन सक्दछ । त्यस्ता मानिसहरूले संगीतबाट भन्दा अन्य माध्यमबाट आफ्नो मस्तिष्कलाई शान्त र तनावमुक्त बनाइरहेका हुन्छन् ।

तर, यदि कुनै व्यक्तिले संगीत धेरै मनपराउँथ्यो पछि अचानक संगीत सुन्दा दिक्क लाग्ने, झर्को लाग्ने वा कुनै पनि कुराबाट खुसी नमिल्ने भएको छ भने त्यो डिप्रेसन वा अत्यधिक मानसिक तनावको लक्षण हुन सक्दछ । यस्तो अवस्थालाई चिकित्सा विज्ञानले ‘एनेडोनिया’ अर्थात् खुसी हुन नसक्ने अवस्था भन्दछ ।

फेरि कतिपय मानिसलाई संगीत वा चपाएको, ढोका ढक्ढक्याएको जस्ता कुनै विशेष आवाज सुन्दा अत्यधिक रिस उठ्ने, छट्पटी हुने वा मानसिक तनाव बढ्ने गर्दछ । यो भने मानसिक स्वास्थ्य समस्या हो । यसलाई ‘मिसोफोनिया’ भनिन्छ । यस्ता अवस्थाहरू देखिएका मानिसहरूले भने अनिवार्य परामर्श र थेरापी लिनुपर्दछ ।

नेपालमा नीतिगत व्यवस्था नै छैन

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा २०७७ सालमा जारी गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनामा स्पष्ट रुपमा ‘म्यूजिक थेरापी’बारे उल्लेख नगरिएको भएतापनि त्यसले गैरऔषधोपचारको दायरालाई भने स्वीकार गरेको छ । संगीत थेरापी, आर्ट थेरापी र ध्यान जस्ता विधिलाई समेत मानसिक स्वास्थ्यको उपचारका लागि स्वीकार भने गरेको देखिन्छ ।

त्यस्तै, २०७४ मा जारी भएको अपाङता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐनले पुर्नस्थापना, सामाजिक सुरक्षा र मनोरञ्जनको अधिकार सुनिश्चित गरेको देखिन्छ । मानसिक अस्पताल तथा सुधार गृहहरूमा बिरामीहरूको मानसिक सबलीकरणका लागि मनोरञ्जनात्मक र सिर्जनात्मक क्रियाकलापहरू गर्नका लागि नीतिले वैधता दिएको छ ।

अब के गर्ने ?

विश्व मानसिक स्वास्थ्य दिवस हरेक वर्ष अक्टोबर १० मा विश्वभर मनाइन्छ । यस वर्ष मानसिक समस्यालाई प्रत्यक्ष अनुभव गरेका व्यक्तिहरूको आवाज सुन्दै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने मूल उद्देश्यका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।

यस अवसरमा नेपाल सरकारले पनि मानसिक स्वास्थ्य उपचारलाई सहज बनाउन विकसित भइरहेका नवीनतम् विधिहरू र त्यसका प्रभावहरूबारे समुदायस्तरमै व्यापक संवाद गरी त्यसलाई कानुनी रुपमै व्यवस्थित गर्न ढिलो गर्नु हुँदैन । योसँगै मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवा जसरी नागरिकका लागि सहज बनाइदिन प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना मनोविद्को दरबन्दीको व्यवस्था गरिनुपर्दछ ।

म्यूजिक थेरापीबारे नेपाल सरकारले हाल देखिएका प्रभावको थप अध्ययन, अनुसन्धान गरी यसको एउटा छुट्टै कार्यविधि बनाइदिन सके मानसिक स्वास्थ्य समस्यालाई हल गर्ने दिशामा एउटा महत्वपूर्ण प्रयत्न हुने निश्चित छ ।

मानसिक स्वास्थ्य संगीत
सीता भण्डारी
लेखक
सीता भण्डारी
मनोविद्

मनोविद् भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् । उनी मनोविज्ञान सम्बन्धी विभिन्न अनुसान्धानमा संलग्न हुँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय