News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा रेखा थापाले नयाँ बानेश्वरको बीआर क्याफेमा ‘मानसिक स्वास्थ्य मेला’ आयोजना गरिन्।
नायिका रेखा थापाले हालै नयाँ बानेश्वरमा बीआर क्याफेको नयाँ आउटलेट खोलेकी छिन् । आज शनिबार क्याफेमा रेगुलर दृश्य थिएन । मध्याह्नपछि क्याफे आफ्नो रेगुलर अपडेट भन्दा फरक थियो ।
हेर्दाहेर्दै त्यहाँ ‘मानसिक स्वास्थ्य मेला’ लेखिएका ब्यानर टाँसिए । क्याफेका कुर्सीहरूको अरेन्जमेन्ट फेरियो । ग्राहकभन्दा पनि त्यहाँ कुरा सुन्न र सुनाउन मान्छेहरू आउन थाले ।
यी सबैको कारण थियो- आज परेको विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर आयोजित ‘मानसिक स्वास्थ्य मेला’ । विदुषी साइकोलोजिकल सपोर्ट सेन्टर र बीआर क्याफेको पहलमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विपद्का घटनाहरू र त्यसले महिलाको मानसिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे विमर्श गरियो ।

मानसिक स्वास्थ्य सबैका लागि किन महत्त्वपूर्ण छ ? भन्ने मूल प्रश्नलाई केन्द्रमा राख्दै कार्यक्रममा विशेषज्ञहरूले विपद् व्यवस्थापनमा मनोवैज्ञानिक परामर्शलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
हालैका प्राकृतिक तथा मानव सिर्जित विपद्हरूले समाजको तल्लो तहदेखि माथिल्लो तहसम्म मानसिक समस्या सिर्जना गरेको उल्लेख गर्दै वक्ताहरूले विशेषगरी महिला तथा बालबालिका उच्च जोखिममा रहेको औँल्याएका थिए ।
घरपरिवारको जिम्मेवारी, सामाजिक सुरक्षा र विपद्का बेला भोग्नुपर्ने शारीरिक तथा मानसिक पीडाले महिलाहरूको मनोसामाजिक स्वास्थ्यमा दूरगामी असर पार्ने गरेको बताइएको थियो ।
‘विपद् पछिका अवस्था र महिलाको मानसिक स्वास्थ्य’ विषयक प्यानल छलफलमा देशका प्रतिष्ठित मनोविद्, प्राध्यापक तथा अधिकारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता चर्चित नायिका तथा अभियन्ता रेखा थापाले गरेकी थिइन् भने सहजीकरण जुमना शर्माले गरेकी थिइन् ।
प्यानल छलफलमा डा. रक्षा थापा (मनोविद्), डा.अर्चना पाण्डे विष्ट, सहप्राध्यापक जानकी धामी र पुनाश्लोभा महर्जन (मनोविद्) रहेका थिए ।
छलफलका क्रममा प्यानलिस्ट डा. रक्षा थापाले विपद्को समयमा उद्धार र राहत मात्र नभई मनोसामाजिक परामर्श पहिलो आवश्यकता हुनुपर्ने बताइन् ।
त्यस्तै, सहप्राध्यापक जानकी धामी र मनोविद् पुनाश्लोभा महर्जनले महिलाहरूले विपद्का समयमा सामना गर्ने दोहोरो दबाबबारे प्रकाश पार्दै नीतिगत तहबाटै मानसिक स्वास्थ्य सेवालाई स्थानीयस्तरसम्म सहज बनाउनुपर्ने माग गरे ।
त्यस्तै यो कार्यक्रममा एउटा नाटक पनि देखाइएको थियो । मानसिक स्वास्थसम्बन्धी चेतना फैलाउने नाटकले मानसिक स्वास्थको विषय उजागर गरेको थियो ।
त्यस्तै मेलामा स्वास्थ्यवर्धक खानेकुराका स्टलहरू समेत राखिएका थिए । स्वस्थ खानेकुरा पनि मानसिक स्वास्थको उत्तिकै महत्त्वपूर्ण भएको बताइएको थियो ।
प्रतिक्रिया 4