+
+

दार्जिलिङको संगीत संस्कारलाई ‘भ्वाइस’मार्फत फैलाइरहेका अश्विन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १८:०७

काठमाडौं । दार्जिलिङका अश्विन राईको सपना फुटबलर बन्ने थियो । सानैदेखि फुटबल खेल्थे उनी । एकदिन स्कुलमा आयोजना भएको हाजिरीजवाफ प्रतियोगिताले फुटबलर बन्ने उनको सपना सधैंका लागि मोडियो र उनले गायक बन्ने अठोट गरे ।

खासमा भएको के थियो भने हाजिरीजवाफका सहभागीले जानेको कुनै प्रतिभा प्रस्तुत गर्नुपर्ने थियो । उनले ढोलक बजाएर भजन गीत गाए । अश्विनको प्रस्तुतिमा उनको टिमले जित्यो । ‘त्यतिबेलै मैले गायक बन्ने निधो गरें,’ अश्विन भन्छन् ।

गायक बन्ने अठोटको यात्रामा उनी यतिबेला द भ्वाइस अफ नेपालको स्टेजमा प्रस्तुति दिंदैछन् । कोच राजेशपायल राईको समूहबाट उनी अन्तिम १० मा प्रवेश गरे । जुनसुकै जनरामा गीत गाएर मक्ख पार्न सक्नु उनको खुबी हो । यद्यपि, उनी सुगम संगीतमा रुचि राख्छन् । नारायणगोपाल, गोपाल योञ्जन, अम्बर गुरुङदेखि पछिल्लो छिमलका उज्वल सागर र सुजन चापागाईंलाई पछ्याउँछन् ।

भ्वाइसमा उनको यो दोस्रो प्रयास हो । यसअघि उनी छनोट हुन सकेनन् । लाइभ राउण्डको दबाबबीच यसैसाता अनलाइनखबरसँग अश्विन गफिए । ‘सुरुमा गीतको दबाब थियो । एउटा गीत तयार पार्न पनि समय पाइन्थ्यो । अहिले चाहिं गीत पनि गाउनुपर्छ र भोट पनि माग्नुपर्छ । अहिले एकदमै धेरै प्रेसर छ । प्रेसर कुकर नै भएका छौं हामी,’ उनी सुनाउँछन् ।

भ्वाइस अफ नेपालको प्लाटफर्मबाट उनले सिकेको कुरा ‘धैर्य’ हो । ‘धैर्य एकदमै चाहिने रहेछ । संगीत त सिक्नु पर्छ पर्छ, त्योसँगै अरु धेरै कुरा सिक्नुपर्ने रहेछ हामीले । अरुलाई सम्मान गर्नु । छोटो अवधिमा गीत कसरी तयार गर्ने, प्रस्तुति कसरी गर्ने,’ उनी भन्छन्, ‘अनि मिडियालाई इन्टरभ्यु पनि (ठट्टा गर्दै) ।’

संगीतका विद्यार्थी अश्विन दार्जिलिङ क्षेत्रका उदाउँदा गायकलाई भ्वाइसको प्लाटफर्म ‘हेल्पफुल’ हुने बताउँछन् ।

‘दार्जिलिङमा त गाउन भनेपछि सबै सुरिलो हुन्छ । भाँडा माझ्दै गरेका दिदीबहिनी र आमाहरु पनि सुरिलो हुन्छन् । दाउरा काट्दै गरेको दाजु पनि सुरिलो हुन्छ । एउटा गीत बजाइदियो भने पर्फेक्ट पिचमा गाउनुहुन्छ उहाँहरुले । भ्वाइसले यी ट्यालेन्टलाई प्लाटफर्म दिने काम गरेको छ । जस्तै मलाई हेर्नुस् न,’ अश्विन भन्छन्, ‘त्यस्तो जग्गाबाट पनि राम्रो गायक जन्मिएका छन् । हाम्रो लागि भ्वाइस राम्रो प्लाटफर्म छ ।’

भ्वाइसपछि आफ्नै कम्पोजमा गीत ल्याउने तयारीमा छन् अश्विन । ‘भ्वाइसअघि कन्सर्टमा अरुका गीत गाउँथे । अब आफ्नै गीत निकाल्छु,’ उनले योजना सुनाए, ‘अब आफ्नै गीतमा काम गर्नेछु ।’ उनी नेपालमा बसेर सांगीतिक करिअरलाई अघि बढाउने मुडमा छन् ।

‘नेपालमा बस्ने इच्छा छ मेरो । मातृभाषा पनि नेपाली हो । यहाँ कम्फर्टेबल छु । आफ्नोपन पनि राम्रो छ । अहिले त यतै मन लागिसक्यो । यतै सेटल हुने मन छ,’ उनले भने । रियालिटी शोमा गएर आएकाहरुको दार्जिलिङमा धेरै इज्जत हुने अश्विन बताउँछन् । ‘अरु त लोकल अरुको घरकी मुर्गी दाल बराबर भनेजस्तै हो,’ उनी भन्छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?