+
+

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै, पहिलो दिन चार खेल

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ६:३४

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता हुन लागेको हो । टी–२० ढाँचामा हुने खेलको व्यवस्थापन नेपाल क्रिकेट संघ (क्यान)ले गरेको छ ।

१४ दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी छन् । खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुनेछन् ।

आज पहिलो दिन चार खेल हुँदैछन् । बागमती र मधेश प्रदेशबीच टीयू मैदानमा उद्घाटन खेल हुनेछ । खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मुलपानी मेदानमा खेल हुनेछ ।

यस्तै गण्डकी र लुम्बिनीबीच त्रिवि मैदानमा दिउँसो सवा १ बजे खेल हुनेछ भने सोही समयमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच मूलपानी मैदानमा खेल हुनेछ ।

प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । राउन्ड रोबिनपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् ।

क्यानका सचिव पारस खड्काले पहिलो पटक राउण्ड रोविन लिगमा प्रतियोगिता गर्न लागेकाले हरेक टिमले धेरै खेल खेल्न पाउने र यसले महिला क्रिकेटरका लागि पनि अवसर प्रदान गर्ने बताए ।

सहभागी टिमका कप्तानहरुले राउण्ड रोविनका आधारमा खेल हुँदा धेरै खेल खेल्न पाइने र नयाँ खेलाडीको लागि पनि प्रतिभा देखाउने अवसर हुने बताए ।

अघिल्ला संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।  यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

यस्तै तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरको पराजित टोली बाहिरिनेछ ।

पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?