+
+

हात्ती धपाउन ड्रोनबाट गस्ती

सुरुमा एम्बुलेन्स र दमकलको साइरन बजाएर जंगली हात्ती भगाइरहेको बेलबारी नगरपालिकाले त्यो प्रभावकारी नभएपछि ड्रोन प्रयोग गर्न सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १२:३८
मोरङको कानेपोखरीमा देखिएको हात्तीको बथान

८ पुस, विराटनगर । भारतबाट आएका जंगली हात्तीले आतंक मचाउन थालेपछि मोरङको एउटा स्थानीय तहले ड्रोनबाट गस्ती सुरु गरेका छन् । बेलबारी नगरपालिकाले ड्रोनको प्रयोग गरेर हात्ती भगाउन थालेको हो ।

सुरुमा बेलबारी नगरपालिकाले एम्बुलेन्स र दमकलको साइरन बजाएर हात्ती भगाइरहेको थियो । तर साइरनबाट हात्ती भाग्न छाडेपछि ड्रोन प्रयोग गरिएको बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले जानकारी दिए ।

‘एम्बुलेन्स र दमकलको साइरनबाट भाग्ने हात्ती अहिले थेतरो भएछन्, भाग्नै छाडे,’ उनले भने, ‘ड्रोनको प्रयोग गर्दा बस्ती निस्किएका हात्ती जंगलतर्फ भागिरहेका छन्, कति प्रभावकारी हुन्छ हेरौं ।’

करिब डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी हुँदै छिरेको हात्तीको बथानले झापा, मोरङ र सुनसरीमा जंगल आसपासका बस्तीमा आतंक सृजना गरेको छ । स्थानीयले लगाएको बाली पनि हात्तीले नष्ट गरिरहेको छ ।

अनिल प्रधानसहितको टोलीले साइरन जडान गरिएको ड्रोनबाट हात्ती धपाइरहेका छन् । साइरन जडान गरिएको ड्रोनले हात्ती भगाउन सजिलो पनि भएको छ । उनका अनुसार साइरन र मौरीको भुनभुनको आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

हात्तीको नजिकै लगेर आवाज बजाएपछि हात्ती जुन बाटो आएको हो त्यही बाटो भाग्ने गरेको प्रधानले बताए । ड्रोनबाट बस्ती र बालीनालीमा पस्ने हात्ती धपाउन सजिलो हुने उनको अनुभव छ ।

भारतबाट छिरेको हात्तीको आक्रमणबाट तीन जिल्लामा एक महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । झापा, मोरङ र सुनसरी गरी ३ जिल्लामा ५ जनाको मृत्यु भएको हो । यी जिल्लामा ६० भन्दा बढी हात्तीको छुट्टा छुट्टै बथान छ ।

हात्तीको आक्रमणबाट ४ पुसमा हल्दिबारी गाउँपालिका–२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको थियो । मंसिर १८ गते बेलबारी १० भाउन्नेमा ५३ वर्षीय कमल माझीको मृत्यु भएको थियो । १५ मंसिरमा झापाको हल्दिबारी–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई डिउटीमै रहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

१३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको थियो । ५ मंसिरमा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

हात्तीको आक्रमणबाट तीन जिल्लामा ६ जना घाइते  भएका छन् । हात्तीकै कारण झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा गरी ३७ लाख ८५ हजार बराबरको भौतिक क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?