+
+

अनुसन्धानको निष्कर्ष : महिलाको आँसुको गन्धले हराउँछ पुरुषको रिस

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १६:०३

८ पुस, काठमाडौं । महिलाले कुनै पनि झगडामा आँसुलाई हतियार बनाउँछन् भन्ने आरोप लगाउँछन् धेरै पुरुषहरु । खैर, यो त बहसको एउटा अलग्गै मुद्दा हुनसक्छ । तथापि धेरैले अनुभव गर्ने कुरा के हो भने प्रायः जब कुनै दम्पतीमा झगडा हुन्छ तब महिला रुन थाल्छन्, जसका कारण पुरुषको रिस र आक्रोश मत्थर भएर जान्छ र धेरै हदसम्म झगडा नै फासफुस हुन्छ । त्यसैले हाम्रो आम भनाइ यो छ कि महिलाको आँसुको अगाडि पुरुष कमजोर हुन्छन् ।

यद्यपि आँसुका अगाडि पुरुष कमजोर हुने कुराको वैज्ञानिक प्रमाण त छैन तथापि आँसु वास्तवमै त्यस्तो हतियारको रुपमा रहेको हुन्छ जसको बारेमा महिला तथा पुरुष आफैंलाई थाहा हुँदैन। अनि महिलाको आँसुले पुरुषमा आक्रामकता घटाइदिने एक अध्ययनले देखाएको छ ।

आँसुमा हुन्छ रासायनिक संकेत

हालैको अध्ययनले गरेको खुलासा निकै आश्चर्यजनक छ । पीएलओएस बायोलोजी नामक जर्नलमा बिहिबार प्रकाशित शोध रिपोर्ट अनुसार महिलाहरुको आँसुको गन्धले पुरुषको आक्रोशलाई मत्थर पारिदिन्छ ।

इजरायलको भिजम्यान इन्स्टिच्युट अफ साइन्सका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा मानिसको आँसुमा एउटा यस्तो रासायनिक संकेत पाइएको छ जसले  आक्रामकता सम्बन्धी मस्तिष्कका दुई हिस्साको गतिविधिलाई सुस्त बनाइदिन्छ ।

शोधकर्ता टोलीका प्रमुख शनि एग्रोनका अनुसार जब उनीहरुले अध्ययनका लागि स्वयंसेवकहरु खोज्न सुरु गरे तब धेरैजसो महिलाहरु अगाडि सरे । किनकि उनीहरुका लागि रुने कार्य सामाजिक रुपमा पनि धेरै स्वीकार्य छ ।

आँसुको गन्धनले घटाइदिन्छ टेस्टोस्टेरोन

भिजम्यान इन्स्टिच्युटले यसअघि गरिएको अध्ययनले पनि पोथी मुसाको आँसुले भाले मुसाहरुबीचको लडाइँलाई कम गर्ने देखाएको थियो । साथै भाले मुसाहरुले पनि अरु आक्रामक मुसाहरुको आक्रमणबाट बँच्नका लागि शरीरमा आफ्नै आँसु समेत लगाउने गरेको अनुसन्धानले देखाएको थियो ।

वैज्ञानिकहरुका अनुसार अन्य विभिन्न अध्ययनहरुबाट समेत आँसुको गन्धले उत्तेजक हर्मोनको रुपमा रहेको टेस्टोस्टेरोन हर्मोनको उत्सर्जनमा कमी ल्याउने देखाएको छ ।

शोधकर्ता एग्रोनले न्युजविकलाई बताए अनुसार आँसुको गन्ध सुँघेसँगै पुरुषमा टेस्टोस्टेरोन हर्मोनको स्तर कम हुने पछिल्लो नतिजालाई हेर्दा पनि आँसुले आक्रामकतालाई कम गर्ने कुराको पुष्टि हुन्छ ।

उनको अनुसार मुसामा देखिएको उक्त प्रभाव मानिसमा पनि पर्ने आकलन अनुसार प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसको नतिजाबाट आफूहरु आश्चर्यचकित भएको उनको भनाइ छ ।

झण्डै आधाले घट्यो बदलाको भावना

शोधकर्ताका अनुसार अनुसन्धानका क्रममा सहभागी गराइएका स्वयंसेवक पुरुषहरुलाई एउटा कम्प्युटर गेम खेल्न दिइएको थियो, जसको उपयोग अन्य खालका आक्रामकता सम्बन्धी अध्ययनमा पनि गरिन्थ्यो । त्यसमा खेलाडीहरुले पैसा एकत्रित गर्दथे र अगाडि रहेको खेलाडीले उनीहरुको पैसा चोर्ने प्रयास गर्दथ्यो । यस्तोमा खेलाडीले बदला लिन सक्छन् वा अगाडिको त्यस खेलाडीको पैसा चोर्न सक्दछन् ।

अध्ययनका क्रममा के पाइयो भने यो खेलका क्रममा महिलाहरुको आँसुको गन्ध सुँघेपश्चात् पुरुषहरुमा बदला लिने भावनामा ४३.७ प्रतिशतले कमी आयो । यो नतिजा मुसामा गरिएको अध्ययनको नतिजासँग मिल्दो छ ।

तर मुसामा जस्तो गन्धहीन रासायनिक संकेत पत्ता लगाउने क्षमता मानिसको नाकमा भने हुँदैन । त्यसैले शोधकर्ताहरुले ६२ जना पुरुषमा गहन अध्ययन गर्दा त्यसमध्ये चार जनालाई आँसुले नै फरक पार्यो, त्यसको गन्धले होइन ।

उनीहरुले अनुसन्धानमा लिइएका सहभागीहरुलाई एमआरआई मेसिनमा जोडेका थिए । त्यसैले आँसुको गन्ध सुँघेपश्चात् पुरुषको मस्तिष्कको आक्रामकतासँग सम्बन्धित क्षेत्र प्रिफन्टल कर्टेक्स कम सक्रिय थियो ।

तर घरेलु हिंसाका घटनामा भने आँसुको काम छैन

लिभरपुल जोन मुरेस विश्वविद्यालयका मनोवैज्ञानिक डाक्टर मिन्न ल्योन्सले गार्जियन पत्रिकालाई बताए अनुसार इजरायलमा गरिएको यो अनुसन्धानको नतिजा निकै उल्लेख्य छ । तर यसलाई पूर्णरुपमा सही मान्न भने सकिंदैन । उनका अनुसार वास्तविक जीवनमा चिजहरु फरक तरिकाले चल्दछन् ।

घरेलु हिंसाका घटनामा आँसुले अपराधीको आक्रामकता कम गर्नमा निकै कम मात्रै मद्दत गर्दछ । आखिर घरेलु हिंसामा पर्ने महिलाहरुको आँसुको रासायनिक संकेतले हिंस्रक पुरुषमा किन कुनै प्रभाव पार्दैन त ? ल्योन्स भन्छिन्, ‘रोदनको सामाजिक सन्दर्भ निकै जटिल हुन्छ र मलाई शंकै लाग्छ कि आँसु घरेलु हिंसाको सन्दर्भमा यसमा सफल हुनसक्छ ।

यद्यपि आक्रामकता घटाउने अन्य धेरै विषयमध्ये आँसु पनि केवल एउटा चिज हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?