+
+

गृहमन्त्रीको आलोचना गर्दै रविले भने- तपाईंको सरकार, तपाईंलाई मुबारक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १०:५७

९ पुस, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् ।

रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए ।

चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग उनले भने, ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्याहो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’

उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे ।

उनले भने, ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले, गृहमन्त्रीज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले ।’

‘सब चिज योजनाबद्ध छ’

आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गर्दै उनले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए । ‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त ? छैन, किनकि सब चिज योजनाबद्ध छ,’ लामिछानेले भने ।

सुन तस्करी प्रकरणको मुद्दा कमजोर बनाएर आफ्नालाई बचाएको गृह प्रशासनले रवि लामिछानेलाई कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको उनले आशंका गरे ।

उनले सुन तस्करीमा संलग्न व्यक्तिबारे आफूले दिएको सूचनाको आधारमा गृहमन्त्री श्रेष्ठले आफ्ना मान्छेलाई जोगाएको आरोप लगाउँदै उनले अब सहकारीको माध्यमबाट आफूलाई फसाउन खोजिएको आशंका गरे । ‘यही सरकारीभित्र छिरेर, यहाँबाट सुरुवात गरेर यसलाई फसाउँछु भन्ने कुनै योजनाभित्र हुनुहुन्छ कि भन्ने मलाई आशंका छ,’ उनले भने ।

राष्ट्रिय परिचय पत्र रूजुको जिम्मा विदेशी कम्पनीलाई दिइएको भनेर पत्रिकामा आएको समाचारको आधारमा गृहमन्त्रीले छानविन समिति बनाएको, समितिले आफूसँग वयान पनि लिएको तर त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक नगरेको भन्दै लामिछानेले आक्रोश पोखे ।

उनले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले ‘राम्रोसँग’ अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले प्रहरीमार्फत् ल्याएर ‘मुद्दा कमजोर’ बनाएको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?