+
+

मधेशमा जघन्य अपराधको जड बन्दै लागूऔषध

गत साउनयता धनुषामा ७ जनाको हत्या भएको छ, जसमध्ये तीनवटा घटनामा लागूऔषध सेवनकर्ता संलग्न छन् । मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ । धेरै अपराधमा लागूऔषध जोडिन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० पुष १० गते १४:४९
राखी यादवको शव भेटिएको स्थल ।

१० पुस, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ कुसमहा सतोखरकी ६ वर्षीया राखी यादव मंसिर २७ गते साँझ छिमेकीको मटकोर (विवाहअघि गरिने एक साँस्कृतिक कर्म)  हेर्न सतोखर पोखरी पुगेकी थिइन् । मटकोर सकिएर सबै घर फर्किए, तर राखी आइपुगिनन् ।

परिवारका सदस्यहरुले राति नै सोधखोज गरे । भोलिपल्ट तालिम प्राप्त कुकुरसहित प्रहरी पनि खोजीमा जुट्यो, राखी भेटिइनन् । साँझ सतोखर पोखरी नजिकै खाल्डोमा जमेको पानी दमकलले सुकाउँदा राखीको शव भेटियो ।

‘हामी दिनभर खोज्यौं, साँझसम्म नभेटेपछि खाल्डोमै हुनसक्ने आशंकामा सकाउने काम गर्‍यौं । त्यसमै बालिकाको शव फेला भेटियो’, धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवा भन्छन् ।

उनका अनुसार बलिकाको शव हेर्दा अत्यन्त क्रुरतापूर्वक हत्या भएको देखिन्थ्यो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ गर्‍यो । दुबैले अभियोग पनि स्वीकार गरे ।

प्रहरीका अनुसार दुबै किशोर लागूऔषध प्रयोगकर्ता हुन् । एक अनुसन्धान अधिकृतका अनुसार मटकोरको बेला मादक पदार्थसँगै लागूऔषध सेवन गरेका थिए । उनीहरुले रथमा खेलिरहेकी राखीलाई बेपत्ता बनाएको र बलात्कार गरेर हत्या गरेपछि शव खाल्डोमा फालेको अन्ुन्धानका क्रममा खुलेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ हनुमाननगरमा एक बालकको लागूऔषध सेवनकर्ताबाट हत्या भएको छ । मावलीमा बस्दै आएका ११ वर्षीय आदित्य ठाकुर ३० मंसिरमा राति अबेरसम्म घर फर्किएनन् । परिवारका सदस्यले खोेजे, नभेटेपछि प्रहरीलाई खबर गरे ।

प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा घरभन्दा पर आदित्य रक्ताम्य अवस्थामा फेला भेटिए ।

‘उपचारको लागि प्रादेशिक अस्पताल भर्ना गरायौं, तर उपचारकै क्रममा मृत्यु भयो’, डीएसपी रञ्जन अवाले भने । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले स्थानीय २६ वर्षीय सञ्जय साह र २४ वर्षीय बादललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा आदित्य मधेश प्रदेशसभा भवन नजिकै मोबाइल चलाइरहेका बेला दुबै पुगेका थिए । लागू औषध सेवन गरेका उनीहरुले मोबाइल मागे, नदिएपछि बाँसको भाटाले हिर्काए । ‘मरणासन्न हुने गरी कुटेपछि भागेको दुबैले वयान दिएका छन्’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

प्रहरी अधिकृतहरुका अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको छ ।

लागूऔषधको नशामा बालकको हत्या गरेको प्रहरीको निष्कर्ष छ । धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्मा भन्छन्, ‘दुबै घटनामा आरोपी लागूऔषध सेवनकर्ता रहेको देखाएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको ५ महिनामा धनुषामा ७ जनाको हत्या भएको छ, जसमध्ये तीनवटा घटनामा लागूऔषध सेवनकर्ता संलग्न छन् । मधेश प्रदेशका ८ जिल्लामा ५७ जनाको हत्या भएको छ ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको तथ्यांकमा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ९६ जना र २०७९/०८० मा १०६ जनाको हत्या भएको थियो । धेरै अपराधमा लागूऔषध जोडिन गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् ।

यद्यपि हत्या, बलात्कारजस्ता जघन्य अपराधको मुद्दा लागूऔषधभन्दा ठूलो भएको र लागूऔषध प्रमाणित गर्न समस्या हुने भएकाले तथ्यांकमा भने नखुलाएको उनले बताए ।

प्रहरी अधिकृतहरुका अनुसार हत्याका घटनाभन्दा धेरै चोरी, डाँका, महिला तथा घरेलु हिंसा जस्ता अपराधमा समेत लागूऔषध सेवनकर्ताको संलग्नता देखिने गरेको छ । ‘पछिल्लो समय बढेको चोरी घटनामा ८० प्रतिशतभन्दा बढी लागूऔषध सेवनकर्ता देखिन्छ’, एक अनुसन्धान अधिकृतले भनेका छन् ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रविन धितालका अनुसार प्रायः लागूऔषध सेवनकर्ता २५–३० वर्षमुनिका हुन्छन् । ‘ड्रग्सको लतमा परेपछि अभिभावक भन्दा टाढा हुने चोरी, कुटपिट, ग्याङफाइट जस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ’, उनले भने ।

डरलाग्दो तथ्यांक

प्रहरीका अनुसार मधेश प्रदेशमा दैनिक औसत ३ जना लागूऔषधसहित पक्राउ पर्ने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा लागूऔषधसहित ९९९ जना व्यक्ति पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा यो संख्या बढेर १ हजार २८५ पुग्यो । आर्थिक वर्ष २०७९/०८० मा भने बढेर १ हजार ३०४ व्यक्ति लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामै ४३७ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए । पक्राउ परेकाहरु प्रायः ३० वर्षभन्दा मुनिका छन् । उनीहरुबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनका साथै अरु लागू औषध बरामद भएको छ ।

पाँच महिनामै प्रहरीले आठवटै जिल्लाबाट २ हजार ६८३ किलो गाँजा, ४७ किलो चरेस, ८६ ग्राम र ३२७७ मिलीग्राम हिरोइन, १७ हजार २३९ ट्याबलेट, १ हजार ५३१ बोतल र १४ हजार ४०५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ । खुल्ला सीमाका करण भारतबाट शरीरको विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागूऔषध ल्याउने गरिएको सर्लाहीका एसपी प्रविन धिताल बताउँछन् ।

सर्लाहीको मलंगवा नगरपालिका–८ दशगजा क्षेत्रमा बरहथवा नगरपालिका–५ का २२ वर्षीय इजरुल महम्मद शेष पुस १ गते दिउँसो मृत फेला परे । शरीरमा घाउखत थिएन, मुखबाट फिज आएको थियो । प्रारिम्भक अनुसन्धानबाट उनको अत्यधिक लागऔषध सेवनकै कारणले मृत्यु भएको प्रहरीको निष्कर्ष छ । उनी लागूऔषध सेवनकर्ता भएको र त्यसकै लागि सीमापारी गएर फर्किरहेको बेला मृत्यु भएको प्रहरीको भनाइ छ ।

लागू औषधको कुलतमा फसेकाहरुको उपचार र पुजर्स्थापनामा काम गर्दै आएको पुनर्जीवन नेपालका संस्थाका प्रमुख कार्यकारी अधिकृत अजितम पाण्डेका अनुसार सबभन्दा बढी साथीहरुको लहैलहैमा लागेर कुलतमा फस्छन् । कतिपय परिवारिक माहोलले गर्दा पनि लागूऔषधको कुलतमा फस्ने गरेका छन् ।

उनका अनुसार २/३ प्रतिशतलाई कुलतमा फस्नेबित्तिकै घरपरिवारले पुनर्स्थापना केन्द्रमा राख्छ भने ९७ प्रतिशले जबसम्म अपराधमा लाग्दैनन्, तबसम्म सुधार केन्द्रमा लग्दैनन् । कुलतमा फसेकाहरुलाई पूर्ण रुपमा सामान्य अवस्थामा फर्काउन कम्तिमा ६ महिनादेखि एक वर्ष लाग्छ ।

पुनर्स्थापना केन्द्रको मासिक शुल्क महंगो हुने भएकाले थोरै परिर्वतन देखिनासाथ ठीक भयो भन्ने ठान्छन् र लिएर जान्छन् । अनि पुनः कुलतमा फस्छन् ।

‘समाज लागूऔषधको दलदलमा फस्दैछ । नियन्त्रण गर्न समयमै सरकार, परिवार, समाज लागायत सबै पक्ष गम्भीर भएर लाग्नुपर्छ’, स्थानीय सरकारले पनि यसमा भूमिका नखेलेको भन्दै उनले भने, ‘यसप्रति राज्य बेपरवाह छ । नियन्त्रण गर्नुपर्छ भनेर कहिल्यै कुनै नेता वा जनप्रतिनिधिको भाषण सुन्नु हुन्न होला ।’

मधेश प्रदेश प्रहरी कार्यालयले ‘एन्टी ड्रग क्याम्पेन’ चलाएको छ र चालु आर्थिक वर्षमा ४ हजार लागूऔषध सेवनकर्ताको पहिचान गरी मनोपरामर्श दिने र परिवारको सहयोगमा उनीहरुलाई समाजमा पुनस्र्थापना गर्ने लक्ष्य लिएको छ ।

त्यसका लागि विद्यालयहरुमा लागूऔषधविरुद्ध सचेतना कक्षा सञ्चालन गर्ने गरेको छ । ‘प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्छ भन्ने बुझाइ गलत छ’ मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महतो भन्छन्, ‘सरकार, समाज र घर परिवार सबै मिलेर मात्र लागूऔषध नियन्त्रण सम्भव छ ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?