+
+

नेपालदेखि अमेरिकासम्म आफ्नो फेसन ब्रान्डलाई फैलाएका विश्व गौतम

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० पुष ११ गते १६:२९

काठमाडौं । चितवनका विश्व गौतमलाई सानैदेखि फेसनप्रति विशेष लगाव थियो । चिटिक्क परेर हिंड्न रुचाउँथे, रोजेको पहिरन लगाउँथे । जसै विद्यालयस्तरको पढाइ सकियो, थप अध्ययनका लागि काठमाडौं हान्निए उनी ।

काठमाडौं आएपछि के पढ्ने, कसरी पढ्ने दुविधा थिएन उनलाई । सिधै नमुना कलेज अफ फेसन टेक्नोलोजीमा भर्ना हुन पुगे र स्नातक तहमा आफ्नो रोजाइको विषय फेसन पढे । परिवारका अन्य सदस्यहरूले व्यवसाय गरेको देखेका विश्वले पनि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोच राख्थे । त्यसैले नमुना कलेज पढेर कपडाको व्यवसाय गर्ने उद्योग खोल्ने लक्ष्य उनको थियो ।

सोही लक्ष्यलाई साकार पारेका छन् विश्वले । उनले देखेको सपना आफ्नो नामजस्तै विश्वव्यापी बनेको छ । फेसनको दुनियाँमा गन्यमान्य नाम बनेको छ विश्व गौतम । जसको आफ्नै ब्रान्ड छ ‘बीजी’ । विश्व कहिले नेपाल बस्छन् त कहिले अमेरिका । १८ वर्षदेखि फेसन उद्यममा उनी निरन्तर सक्रिय छन् ।

यसरी सुरु भएको थियो विश्वज क्रियसन’

कलेजले गरेको फेसन सो र फेसन एक्जिबेसनमा उनले डिजाइन गरेका ड्रेसहरू सधैं पहिलो हुन थाल्यो । उनले डिजाइन गरेको कपडा उत्कृष्ट भएपछि धेरै मिडियाहरूले उनलाई कभर गरे केही कम्पनीले उनलाई कामको लागि बोलाए पनि । पढाइ र सिकाइलाई सँगै अघि बढाउने क्रममा विश्वले बुझे उनमा व्यवसाय गर्ने मात्र होइन, राम्रो डिजाइन गर्न सक्ने क्षमता पनि रहेछ ।

अब व्यवसाय र डिजाइनलाई सँगसँगै अघि बढाउने योजना बनाए ७ जना कामदार र ५ वटा मेसिनबाट ‘विश्वज क्रियसन’सुरु गरे ।

उनको ड्रेसहरूलाई नेपाली सेलिब्रिटीहले रुचाउन थाले । जसले उनको फेसन यात्रा अझै फराकिलो हुँदै गयो । उनले डिजाइन गरेका कपडाहरू विदेश निर्यात गर्न थाले । विभिन्न अन्तर्राष्ट्रिय फेसन शोहरुमा पनि भाग लिन थाले । ५ वटा मेसिन र ७ जना कामदारबाट सुरु भएको विश्वज क्रियसनले डेढ वर्षको अन्तरालमा ५०० मेसिन र ७०० कामदारको साथमा काम गर्न थाल्यो ।

विश्वज क्रियसन सफलताको बाटोमा लम्केको बेला उनले अर्को कम्पनी ‘डिजाइनर कलेक्सन’पनि खोले । विश्वज क्रियसनले डिजाइनर कपडाहरू तयार गर्न थाल्यो भने डिजाइनर कलेक्सनले भने डिजाइनलाई बाहिर निर्यात गर्न थाल्यो ।

कडा मेहनत र निरन्तर प्रयास

परिवारबाट टाढा बसेर पढ्न काठमाडौं आएसँगै उनको संघर्ष सुरु भयो । काठमाडौं बसेर गुजारा गर्न र पढ्नका लागि खर्च जुटाउनुपर्ने थियो । त्यसैले उनी पढाइसँगै डिजाइनिङको काम पनि गर्थे ।

‘काम र पढाइलाई सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले मैले पढाइमा मात्र पर्याप्त समय दिन भ्याइनँ,’ विश्व सुनाउँछन्, ‘कलेजले दिएको होमवर्क पूरा गर्ने समय पनि निकाल्न गाह्रो हुन्थ्यो, त्यसैले पढाइमा म खासै राम्रो थिइनँ ।’ शिक्षकहरूको नजरमा पनि उनी औसत विद्यार्थी थिए ।

उनी भन्छन्, ‘पढाइमा राम्ररी समय दिन नपाएकोमा चिन्ता लाग्थ्यो । फेरि सोच्थें अहिले मैले काम गरिनँ भने कलेजमा फी तिर्ने पैसा हुँदैन, त्यसैले काम गर्नैपर्छ ।  त्यसैले काम र पढाइलाई सँगै अघि बढाएँ ।’

पढाइसँगै काम गर्ने भएकाले उनीसँग सैद्धान्तिक ज्ञान र सीप दुवै थियो । त्यसैले कलेजले गर्ने फेसन शोमा विश्वले डिजाइन गरेको डिजाइन अब्बल हुने गर्थ्यो । त्यसले उनको हौसलालाई झन् बढाउन थाल्यो ।

जति सफलता हात पर्दै गयो त्यो भन्दा बढी सफल हुने मोह जाग्छ । त्यस्तै विश्वलाई पनि एकपछि अर्को ठूला सफलताहरू हात पर्दै गइरहेका थिए । उनले गरेको मेहनतको फल पाइरहेका पनि थिए । त्यसै क्रममा आफ्नो बाँकी पढाइ पूरा गर्न अमेरिका जाने निधो गरे ।

अनि सुरु भयो विश्वको अमेरिका यात्रा

विश्व आफ्नो ब्रान्डलाई नामजस्तै विश्वभर चिनाउन चाहन्थे । नेपालको फेसन बजार साँघुरो थियो उनी ठूलो प्लाटफर्मको खोजीमा थिए । त्यसैले उनी अवसरको खोजीमा र बाँकी पढाइ पूरा गर्न अमेरिका लागे ।

स्नातकमा पढाइलाई राम्ररी समय दिन नपाएकाले उनले स्नातकोत्तर पढ्ने बेलामा भने पढाइमा मात्र समय दिने निधो गरे । त्यसैले दुई वर्ष काम नगरी पढाइमा मात्र केन्द्रित भए । ३.९५ जीपीए ल्याएर स्नातकोत्तर पूरा गरे ।

विश्व भन्छन्, ‘स्नातक तहदेखि काममा मेहनत गरेको कारण नै मैले यो सफलता हात पार्न सके भनेर आत्मसन्तुष्टि भयो ।’

पढाइ त सकाए अब उनलाई नेपालभन्दा बाहिर पनि आफ्नो व्यवसायलाई फैलाउनु थियो । त्यसैले उनले  उतै बसेर केही वर्ष संघर्ष गर्ने निधो गरे ।

‘केही समय कुनै डिजाइनर कम्पनीमा डिजाइनरको रूपमा काम गर्छु । अनि मात्र आफ्नो व्यवसाय सुरु गर्छु भन्ने थियो,’ उनी भन्छन्, ‘तर चार पाँच महिना प्रयास गर्दा पनि काम पाइनँ । किनकि त्यहाँ सबै कपडाहरूको डिजाइन, मेनुफ्याक्चरिङ भारत, चीन, बंगलादेश लगायत देशमा हुनेरहेछ । अमेरिकन डिजाइनरहरू पनि अन्य देशमा बसेर नै काम गर्दा रहेछन् ।’

अमेरिकामा फेसन डिजाइनरको रूपमा काम पाइँदैन रहेछ भन्ने कुरा थाहा भएपछि उनले अमेरिकाको टेक्ससमा ५० हजार डलरको लगानीमा सन् २०१९ ‘बीजी’लाई सुरु गरे ।

‘म एक्लैले बीजी अटायरलाई चलाए । दैनिक २० घण्टा सातै दिन काम गरेर अमेरिकामा बीजी अटाएरलाई स्थापित गरे,’ उनी भन्छन् ।

काममा धेरै समय दिने भएकोले उनको खाने सुत्ने समय मिलिरहेको थिएन । अमेरिकामा बीजी सुरु गरेको दुई वर्षपछि एकै पटक मधुमेह, ‘इन्सोमेनिया’ निद्रा नलाग्ने समस्या, कोलेस्टेरोल र टीजी (रगतमा ट्राइग्लिसराइड, रगतमा हुने बोसोको मात्रा बढ्ने चारवटा समस्या देखा पर्‍यो ।’

अमेरिकामा व्यवसाय सुरु गरेर स्थापित हुने समयमा यति धेरै स्वास्थ्य समस्या एकै पटक देखा पर्दा उनी आत्तिए पनि । काम छोड्न सक्ने अवस्था पनि थिएन । उनले हिम्मत हारेनन् र मेहनत गरिरहे र कामलाई अघि बढाए । कामदारहरू राखेर आफ्नो लागि पनि केही समय छुटाए र कम्पनीलाई पनि समय दिए ।

अमेरिकामा कम्पनी सुरु गरेको चार वर्ष पूरा भयो । तीन वर्ष उनले कामलाई मात्र महत्त्व दिए । पछिल्लो एक वर्षमा भने कामसँगै आफूलाई पनि समय दिए जसले गर्दा उनको स्वास्थ्य अवस्था पनि सुधारियो । अहिले अमेरिकामा उनको दुईवटा कम्पनी छ ।

५० हजार डलरबाट सुरु गरेको बीजी अहिले तीन मिलियनको भएको छ । एक्लै सुरु गरेको व्यवसायमा अहिले उनीसँग १० जना जोडिएका छन् । अमेरिकामा बसेर नेपाललाई चिनाउने मनसायले नेपाली ब्रान्डको सुरुवात गरेको उनी बताउँछन् ।

‘फेसनलाई डिजाइनरले विभिन्न कन्सेप्ट र सिर्जनात्मक तरिकाले प्रस्तुत गर्छ भने उक्त डिजाइन कुनै सेलिब्रिटीले लगाएपछि स्टाइल भई बजारमा ट्रेन्डिङ बन्छ,’ विश्व भन्छन् ‘मान्छेको जिन्दगी काम गर्न, मेहनत गर्न र अगाडि बढ्नको लागि हो । त्यसैले मेहनत गर्न अल्छी गर्नु हुन्न र कामलाई निरन्तरता दिइरहनुपर्छ ।’

विश्व गौतम बीजीको डिजाइनलाई धेरैले रुचाए । जसले गर्दा  पछिल्लो समय उनले उच्चस्तरीय ग्राहक मात्र होइन, मध्यमस्तरको ग्राहकहरूलाई लक्षित गरेर उनीहरूले किन्न सक्ने किफायती ड्रेसहरू पनि डिजाइन गर्न थालेका छन् । उनले डिजाइन गरेको ड्रेस हरेक नेपालीको घरमा होस् भन्ने चाहना छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?