+
+

नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ हुन ९८.६० मिटर बाँकी

अच्युत पुरी अच्युत पुरी
२०८० पुष १२ गते १३:३२
फाइल तस्वीर

१२ पुस, काठमाडौं । काठमाडौंको मुख्य प्रवेशद्वार नागढुंगामा निर्माण भइरहेको नागढुंगा टनेल (सुरुङ) ‘ब्रेक थ्रु’ हुन अब १ सय मिटर भन्दा कम लम्बाइ बाँकी रहेको छ ।

आयोजनाले बुधबार सार्वजनिक गरेको विवरण अनुसार यो सुरुङको ‘ब्रेक थ्रु’का लागि अब मात्र ९८.६० मिटर खन्न बाँकी रहेको छ । नागढुंगाको मूख्य सुरुङ कुल २ हजार ६८८ मिटर लम्बाइको हो । जसमध्ये २ हजार ५८९.४० मिटर सुरुङ खनिइसकिएको आयोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुले जानकारी दिएका छन् । उनका अनुसार आयोजनाको सुरुङतर्फको मात्र प्रगति अब ९८.२० प्रतिशत पुगेको छ । अब बाँकी १.८० प्रतिशत काम सम्पन्न भएसँगै सुरुङ ‘ब्रेक थ्रु’ हुने भएको छ ।

आयोजनामा रहेको रेस्क्यु टनेलको यसअघि नै ‘ब्रेक थ्रु’ भइसकेको छ । यहाँ २ हजार ५५७ मिटर लामो रेस्क्यु टनेल रहेको छ । जसको ७ अगष्ट २०२३ का दिन ‘ब्रेक थ्रु’ भएको हो । टनेलसहित सबै संरचनाको भौतिक प्रगति भने ६७.६१ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यहाँ टनेलसँगै अण्डरपास, बक्स कल्भर्ट, ओभरपास, पुल र फ्लाइओभरको काम जारी छ । टनेलतर्फ र रेस्क्यु टनेलमध्ये कुल ५ हजार ४९९ मिटरमध्ये ५ हजार ४००.४० मिटरको काम पूरा भएको हो । जुन ९८.६० प्रतिशत प्रगति हो ।

यो आयोजनाको अध्ययन सन् २०१४ मा भएको हो । सन् २०१६ मा स्रोत सुनिश्चित भएपछि सन् २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले यस आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा वीपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

नागढुंगा सुरुङमार्गको डिजाइन जापान सरकारको सहयोगमा भएको हो । कर बाहेक साढे १३ अर्ब रुपैयाँमा यो आयोजनाको ठेक्का लागेको हो । यो सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग समेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६१० मिटर लामो हुँदैछ ।

सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्ब भन्दा माथिको हो । आयोजनाको वित्तीय प्रगति ६२.४९ प्रतिशत रहेको छ । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको हो ।

आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) र विष्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नु पर्छ । सुरुङ मार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । साथै काठमाडौं भित्रने र बाहिरिने सवारी साधनको इन्धन बचत हुनेछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?