+
+

द्वन्द्वमा रुमल्लिएको वर्ष २०२३

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते ११:०१

काठमाडौं । विश्वव्यापी द्वन्द्वको सन्दर्भमा हेर्दा सन् २०२३ विभिन्न युद्धमा रुमल्लिएको छ । पूरै विश्वलाई प्रभाव पार्ने गरी पश्चिम एशियादेखि दक्षिण अमेरिकासम्म युद्ध भएका छन् ।

जारी विभिन्न युद्धलाई नियाल्दै संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको चर्चा समेत हुने गरेको छ ।

रुस–युक्रेन युद्ध यस वर्षभर नै जारी रह्यो । यो वर्षको उत्तरार्धतिर इजरायल र हमासबीच युद्ध भइरहेको छ ।

अर्मेनिया र अजरबैजानबीच पनि यसै वर्ष पुनः द्वन्द्व भयो । भेनेजुएला र गुएनाबीच पनि द्वन्द्व निम्तियो ।

इजरायल-हमास युद्ध

यस वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १४ जनाको ज्यान लियो । त्यसको प्रतिवादमा इजरायलले प्यालेस्टाइन क्षेत्रमा हमास केन्द्रित आक्रमण गर्दा त्यहाँ २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । ज्यान जानेमा निहत्था नागरिक र बालबालिका बढी रहेको भन्दै इजरायलले आलोचना भइरहेको छ । मानवीय संकट निम्तिँदा समेत इजरायलले बर्बरता नरोकेको भन्दै अरब राष्ट्र आक्रोशित छन् । इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको आरोप उनीहरुको छ ।

यो युद्ध स्थगनको संकेत अझै देखिएको छैन । युद्ध समाधानका निम्ति राष्ट्रसंघीय सुरक्षा परिषदमा पेश गर्न लागिएको मस्यौदाको भाषामा अझै पनि मतभेद छन् ।

प्यालेस्टाइन क्षेत्रमा गहिरिँदो मानवीय संकटलाई मध्येजनर गर्दै हमला रोक्न अन्तर्राष्ट्रिय समुदायले गरेको अपिललाई बेवास्ता गर्दै इजरायलले कारबाही जारी राखेको छ ।

गएराति मात्रै लाखौं इजरायलले प्यालेस्टाइन रहेका रफा क्षेत्रमा हमला गर्दा २० जनाले ज्यान गुमाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको सफायालाई आफ्नो राजनीतिक अस्तित्वसँग जोडेकाले यो विषय थप जटिल र पेचिलो बन्दै गइरहेछ ।

रुस-युक्रेन युद्ध

सन् २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्ध सन् २०२३ भर नै जारी रह्यो । सन् २०२२ को जाडोयाममा युद्ध केही सुस्ताएको थियो । तर अमेरिकाले युक्रेनलाई साथ दिँदा युद्ध फेरि जुर्मुरायो । राष्ट्रसंघका अनुसार युद्धमा एक लाखभन्दा बढी मानिस ज्यान गुमाएका छन् ।

पश्चिमा राष्ट्र तथा त्यस गठबन्धनका सहयोगीको सम्पूर्ण ध्यान रुस र युक्रेन युद्धमा केन्द्रित थियो । युद्धका कारण उनीहरुले घरेलु राजनीतिमा भन्दा पनि अन्तर्राष्ट्रिय मामिलामा बढी समय खर्चिनुपर्यो । युक्रेनलाई आर्थिक तथा सैन्य सहायताका लागि उनीहरुको सम्पूर्ण शक्ति केन्द्रित हुन पुग्यो । युद्धमा दुबै पक्षको ठूलो हताहती भए पनि यसलाई पुटिन र पश्चिमा मलुकले प्रतिष्ठाको विषय बनाएकाले युद्ध अन्त्यको छाँट छनक अझै देखिएको छैन ।

अरमेनिया-अरजरबैजान द्वन्द्व

अरमेनिया र अजरबैजानबीच नागोरनो र कराबख क्षेत्रलाई लिएर लामो समयदेखि विवाद कायमै छ । सन् २०२० को युद्धविराम सम्झौता भंग गर्दै त्यहाँ द्वन्द्व भएको थियो । दुई दिनसम्म भएको भिडन्तमा १०० जना भन्दा बढीले ज्यान गुमाए ।

अजरबैजानले विवादित भूमि आफ्नो नियन्त्रणमा लिएको थियो । सन् २०२३ मा बाकुले त्यहाँ चेकपोइन्ट राख्ने निर्णय लियो । अरमेनियामा हतियार गइरहेको हुनसक्ने भन्दै त्यसलाई रोक्न उसले सैन्य चेकपोइन्ट राखेको थियो ।

दुई मुलुकबीच नागोरो र कराबख क्षेत्रलाई लिएर भएको विवाद समाधानका लागि युरोपेली युनियन, अमेरिका र रुसले पहल गरेका थिए । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै अरमेनियाको भूभागमा विवाद नगर्न अजरबैजानलाई सजग गराएको थियो । त्यहाँ रहेका आदिवासीको अधिकारको सम्मान गर्न पनि उसले अजरबैजानलाई भनेको थियो ।

दुई मुलुकबीचको द्वन्द्वमा अजरबैजानलाई रुस र टर्कीको साथ थियो भने अरमेनियालाई अमेरिका र बेलायतको ।

युद्ध रोक्न विभिन्न तहबाट कूटनीतिक प्रयत्नका बाबजुद त्यहाँको सुरक्षा अवस्थामा फेरबदल आएन ।

नागोरनो र कराबखको सम्पूर्ण विवाद १ जनवरी २०२४ भित्र समाधान गरिसक्ने सम्झौता पनि दुई मुलुकबीच भएको छ । विवाद समाधान हुने हो वा द्वन्द्वले नयाँ रुप लिने हो भन्ने अन्यौल अझै छ ।

भेनेजुएला र गुएना

अमेरिकाले विश्वभरका द्वन्द्व सम्हाल्न खोजे पनि अमेरिकी महादेश पनि उसले सोचेझैँ सुरक्षित छैन । दक्षिण अमेरिकी क्षेत्रको सुरक्षामा भेनेजुएलाका राष्ट्रपति निकोशल मडुरोको महत्वाकांक्षाले चुनौती थपिदियो । इसिक्युबो क्षेत्रको विवादलाई लिएर गुएनालाई नै भेनेजुएलामा गाभ्ने महत्वाकांक्षी योजनामा मडुरो अघि बढे ।

इसिक्युबो क्षेत्रमा पेट्रोलियम पदार्थको प्रशस्त भण्डारण रहेकाले दुई मुलुकले यसमा विवाद गरिरहेका छन् । भनेजुएलाका मानिसहरु नियोजित ढंगले यस क्षेत्र भेनेजुएलाबाट खोसिएको विश्वास राख्छन् ।

सन् २०२४ मा फेरि चुनाव लड्ने योजनामा रहेका मडुरोले जनताको यही भावनालाई पक्रेर इसिक्युबोलाई चुनावी मुद्दा बनाएका छन् । डिसेम्बरभित्र यस इलाकालाई लिएर जनमत संग्रहको तयारी भइरहेको छ । जनमत संग्रहको नतिजाले मडुरोलाई गुएना गाभ्ने अनुमति दिनेसक्ने र उनले गुएनामा हमला गर्न सक्ने भन्दै गुएना र ब्राजिलका सेनाहरु उच्च सतर्कतामा रहेका छन् ।

–एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?