+
+

हनुमानढोकाको आगमछेँ घर नेपाली सीप र शैली पुनः निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १३:४०

१३ पुस, काठमाडौं । हनुमानढोकाको नासल चोक प्रवेश गर्ने मूल ढोकासँगै रहेको आगम घर (आगम छेँ) नेपाली सिप र शैलीमा पुन: निर्माण गर्ने भएको छ ।

चौक्वाठ शैलीमा निर्मित मल्लकालीन दरबारको दक्षिण पश्चिम कुनामा अवस्थित आगमछेँ मन्दिर पुनस्निर्माण लगायत दरबार क्षेत्रमा रहेका शिवपार्वती डवली, मसान चोकमा थुपारिएका मक्किएका काठ व्यवस्थापन, नारायण सत्तल, कामदेव मन्दिर पुनःनिर्माणलगायतका विषयमा छलफल  गर्दा  सरोकारवाला कार्यालय र अधिकारीको बैठकमा  नेपाली सीप र शैलीमा निर्माण गर्न सहमति भएको हो ।

२०७२ को भूकम्पको कम्पनले जीर्ण भएका बसन्तपुर क्षेत्रका केही सम्पदा पुन: निर्माण भइसकेका छन् ।

केही पुन: निर्माणका चरणमा छन् । यी प्राचीन भौतिक संरचनामध्ये भूकम्पको कम्पनले जीर्ण बनाएको आगमछेँको जोखिम अवस्थाका बारेमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० ले अध्ययन गरेको थियो ।

यसको पुनःनिर्माणका लागि नेपाली मौलिक शैली र प्रविधिको प्रयोग गरेर सवलीकरण गर्ने विषयमा स्थानीय र विज्ञबाट प्राप्त सुझाव र प्रतिवेदनका आधारमा यसलाई सवलीकरण गर्ने प्रक्रिया अगाडि बढेको छ ।

स्थानीय समेत रहेका प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले, प्राविधिक, सामाजिक, राजनीतिक र प्रक्रियागत सन्तुलन कायम गरेर पुनःनिर्माणको काम थाल्नु पर्ने बताएका थिए ।

पुनःनिर्माणमा सार्वजनिक खरिद विधि वा र उपभोक्तामध्ये  उपयुक्त हुने विधि प्रयोग काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् ।

उपमेयर डंगोलले भनिन्, ‘योजनाका विषयमा समुदायलाई जानकारी दिऊँ। सरोकार राख्ने सबैसँग छलफल गरेर निर्विवाद रुपमा पुननिर्माणको काम थालनी गरौँ । यत्ति त ढिला भइसक्यो । समुदायलाई सहभागी गराउँदा केही महिना लाग्छ भने त्यो समयमा हतार नगरौँ ।’

आगमछेँको पुननिर्माण  महानगरपालिका र पुरातत्व विभागको सँगै काम गर्ने योजना  रहेको उनले बताइन् । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले  प्राचीन स्मारक संरक्षण ऐनले निर्दिष्ट गरेका व्यवस्थाबमोजिम निर्माण हुने बताए ।

हनुमान ढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार २०७२ सालको भूकम्पले संरचना भत्काउँदा जम्मा भएका करिब ४ हजार क्युविक काठ मसान चोकमा छ । त्यसमध्ये बुट्टा कुँदिएका १ हजार क्युविक काठ छुट्याइएको छ । बाँकी ३ हजार क्युविक काठ मक्काएर पुन प्रयोग गर्न नसकिने अवस्थामा छ ।

‘ती काम नलाग्ने काठ लिलाम विक्रीको प्रक्रिया अगाडि बढेको थियो । सम्पदा क्षेत्रका काठ लिलाम भयो भन्ने आरोप आउने सम्भावना भएकोले प्रक्रिया स्थगित गरियो । घाटमा दिने विषयमा पनि छलफल भएको थियो । मन्दिरमा भएका शुद्ध काठ घाटमा दिन नमिल्ने सुझाव आयो,’ उनले सुनाए ।

कस्तो छ आगमछेँको अवस्था ?

आगमछेँ पहिलो ३ तला भवन र माथिल्ला ३ तला मन्दिर शैलीमा छ । भूकम्पपछि ४ ठाउँमा उत्खनन गरेर जगको अवस्था अध्ययन गरिएको थियो । यसमध्ये ३ ठाउँमा इटा र गारोको अवस्था राम्रो भेटियो ।

१ ठाउँमा ५० मिलिमिटर इन्क्लाइनेसन भेटिएको छ । बैठकमा प्रस्तुतिकरण गर्दै आर्किटेक्ट रेणु महर्जनले भनिन् , ‘माथिल्लो संरचना जोखिमयुक्त छ । पर्खाल चर्किएको, छुट्टिएको छ । यसलाई काठको टेकाले अड्याएर राखिएको छ ।’

नेवार परिवारमा आफ्नै छुट्टै भगवान स्थल हुन्छ । यसलाई आमग घर मानिन्छ । यसमा परिवारका सदस्यबाहेक अन्यलाई प्रवेश गर्न अनुमति हुँदैन । यसलाई कोठा वा मन्दिरका स्वरुपमा बनाइएको हुन्छ ।

हनुमानढोका दरबार भित्रको मोहनचोक प्रताप मल्लले बनाएका हुनाले यससँगैको आगमछेँ पनि उनैले बनाएको जनविश्वास छ । यो तान्त्रिक दशमहाविद्या देवी अन्नपूर्णको मन्दिर हो । मन्दिरभित्र महत्वपूर्ण भित्रे चित्र छ ।

मन्दिरको चारैतिर तोरणसहित कलात्मक ढोका छन् । आकर्षक झ्यालहरू छन् । टुँडालमा शिव सम्प्रदायका देवीदेवताका प्रतिमा कोरिएका छन् । प्रत्येक छानाको कुनामा मयुर आकृति छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?