+
+

सरकारको कामलाई एमालेले दूरबिन लगाएर हेरिरहेको छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १४:१३

१३ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् ।

चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गरेका हुन् ।

धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै ओलीले भने, ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छर त्यसमा ?’ प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको अवधिमा के-के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको भनाइ थियो ।

ओलीले प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर सार्वजनिक रुपमा भन्न चुनौती दिए ।

नेकपा एमालेले सरकारको कामलाई नजिकबाट खबरदारी गरिरहेको भन्दै ओलीले नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए ।

‘कसैले ढाँट छल गर्न खोज्ला, कसैले लुकिछिपीकन नचाहिने काम गर्न खोज्ला, तर नेकपा एमालेले दूरबिन लगाएर कुनाकुनामा हेरेको छ,’ ओलीले भने, ‘सरकारका काम पाइला पाइलामा हेरेको छ । हरेक ठाउँमा एमालेले हेरेको छ । तसर्थ नराम्रा काम गरेर उम्किन्छु भनेर कसैले नसोचे हुन्छ ।’

नेपाली कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै ओलीले उनीहरु एजेण्डाविहीन पनि भएको बताए । तर एमालेसँग राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको दाबी उनले गरे ।

‘अहिले एक धार्नीको कांग्रेस, बिसौलीको माओवादी, यस्तै छन् धार्नी बिसौलीवाला,’ ओलीले भने, ‘माओवादी कांग्रेस पार्टीबीच अहिले छलफल चलिराख्या छ, जनताका बीचमा के भन्न जाने हो ? कुन मुखले जाने, के कुरा लिएर जनताकहाँ जाने ? कांग्रेसका केन्द्रीय बैठकहरुले त्यसको समाधान पाएका छैनन् । तर हाम्रो पार्टीको काँधमा यो देशको राष्ट्रियताको रक्षा गर्ने अभिभारा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?