+
+

बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्रीको लापरबाही देखियो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १२:४१

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।

थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको थापाको भनाइ छ । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भने, ‘त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरवाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरवाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’

गत शुक्रबार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेको क्षेत्रबाट भौतिक पूर्वाधारमन्त्री ज्वालाले यात्रा गरेका थिए । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने प्रहरीकै कुटाइबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनकारीले मन्त्री ज्वालाको गाडी जलाइदिएका थिए ।

बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए । ‘यो समितिले मन्त्रीको लपरवाही हेर्छ की हेर्दैन ? लापरवाही हो भने दण्ड हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?