+
+
कांग्रेस महासमिति बैठकः :

कांग्रेसमा भोटिङ टर्‍यो, एक्लै चुनाव लड्ने संकल्पमा सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते २३:४४

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ ।

कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । भोलि बिहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । तर साँझसम्म प्रतिवेदन टुंगिएको थिएन ।

महामन्त्री थापाले सांगठनिक प्रतिवेदनमा रहेको भविष्यमा हुने चुनावमा निर्वाचन पूर्व गठबन्धन नगर्ने संकल्प गर्ने प्रस्तावमा संस्थापन पक्षले आपत्ति जनाएको थियो । लगातार छलफल गर्दा पनि सहमति नजुटेपछि सभापति देउवाले उद्घाटनका क्रममा गठबन्धनबारे अहिले निर्णय नगर्ने मत राखेका थिए ।

लगत्तै भएको छलफलमा महामन्त्री थापा आफ्नो प्रस्तावबाट पछाडि हट्न तयार भएनन् । एकातिर सभापतिले स्वीकार नगरेको प्रतिवेदन कसरी पार्टीको हुने प्रश्न थियो भने अर्कोतिर महामन्त्रीले स्वीकार नगरेको प्रतिवेदन उनले नै कसरी लैजाने प्रस्ताव थियो । देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूबीच भएको छलफलमा सभापति र महामन्त्रीको दुवै प्रस्ताव लैजाने सहमति भयो ।

देउवाले अहिले गठबन्धनबारे बोल्ने बेला भएको छैन भन्ने प्रस्ताव लैजाने र थापाले एक्लै चुनाव लड्ने प्रस्ताव लैजाने सहमति भयो । तर प्रवक्ता डा. प्रकाशशरण महतले प्रश्न गरे, मूल प्रस्ताव कुन हो ?  सभापतिको प्रस्ताव पार्टीको हुने, र महामन्त्रीको प्रस्ताव व्यक्तिगत विचार हुनुपर्ने उनको तर्क थियो ।

तर महामन्त्री त्यसमा सहमत भएनन् । त्यसो भए यसबारे केन्द्रीय समितिमा भोटिङ गर्ने प्रस्ताव आयो । भोलि मंगलबार बिहान गोदावरीमा केन्द्रीय समिति बैठक राख्ने र दुवै प्रस्तावमाथि मतदान गर्ने नेताहरुले प्रस्ताव गरे ।

महामन्त्री थापा त्यसमा सहमत भए । ‘एक जना मात्र भए पनि म केन्द्रीय समिति फेस गर्छु’ उनले भने । त्यही सहमतिका साथै शीर्ष नेताहरु पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा आए । महामन्त्री थापाले आफूहरुबीच भएको सहमति नेताहरुलाई जानकारी गराए । त्यसमाथि छलफल सुरु भयो ।

धेरै नेताहरुले गठबन्धनबारे बोल्न हतार नगर्न भनेर महामन्त्री थापालाई सम्झाए, कतिपयले उनलाई समर्थन गरे । तर बहुसंख्यक नेताहरु केन्द्रीय समितिमा मतदान गर्ने पक्षमा नदेखिएपछि सभापति देउवाले रूखमा मात्र भोट हाल्ने वातावरण बनाउँछौं भन्ने हटाउन आग्रह गरे । महामन्त्री थापाले असहमति जनाए ।

सहमहामन्त्रीहरु भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय डिना, बद्री पाण्डे, जीवन परियारका साथै गोपालमान श्रेष्ठ, कृष्ण सिटौला लगायत नेताहरुले एक्लै चुनाव लड्छु भनेर जान सक्नुपर्ने मत राखे । ‘महासमितिमा आएका नेता कार्यकर्ताको आत्मविश्वास भर्नुपर्दैन ? भनेर नेताहरुले प्रश्न गरेपछि सभापति सहमत हुनुभयो’ एक नेताले भने, ‘नेताहरुको दबावसँगै बालुवाटारमा भएको भेटले पनि काम गरेको हुनसक्छ ।’ बूढानीलकण्ठमा भइरहेको छलफल छाडेर देउवा र उपसभापति पूर्णबहादुर खड्का केहीबेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

अब महामन्त्रीको प्रतिवेदनमा यसभन्दा अगाडिको निर्वाचनको गठबन्धन बाध्यताको उपज थियो भनिनेछ । ‘नेपाली कांग्रेस दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौं । र, हाम्रा मतदातालाई हाम्रो चुनाव चिह्न रूखमा मात्र मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं’  प्रतिवेदनमा उल्लेख हुनेछ ।

सहमहामन्त्री उपाध्यायले पनि सबै विषयमा सहमति जुटेको सञ्चारकर्मीहरुलाई जानकारी दिइन् । उनले भनिन्, ‘विवादको खास कुरा थिएन । जुन गठबन्धनबाट हामी चुनाव लड्यो, त्यसमा तिक्तता नहोस् भनी त्यस्ता शब्द नराख्ने कुरा भएको छ ।’

गगन भर्सेस देउवा

यसअघि महासमिति बैठक उद्घाटन गर्दा सभापति देउवाले महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदनको निष्कर्षमा प्रतिवाद गरेका थिए । पार्टीको राजनीतिक इतिहासलाई संक्षेपमा प्रस्तुत गरेका सभापति देउवाले अहिलेको गठबन्धनबारे कुनै निर्णय लिन नहुने निष्कर्ष सुनाएका छन् ।

‘भविष्यमा राजनीतिक गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्नेछ’, देउवाले भने ।

१४ मिनेट लामो लिखित सम्बोधनमा सभापति देउवाले संविधान जोगाउन गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गरे । ‘वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ’, उनले भने ।

वर्तमान सत्ता गठबन्धन निर्माण हुने राजनीतिक पृष्ठभूमिबारे भने सभापति देउवाले महामन्त्री थापासँग फरक मत राखेनन् । संसद् विघटन गर्ने, अस्थिरता ल्याउने र गणतन्त्र कमजोर पार्ने प्रयत्नविरुद्ध अहिलेको गठबन्धन बनेको भन्दै देउवाले भने, ‘निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रूपमा लिएका छौं ।’

महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदनमा भने पवित्र उद्देश्यले गठबन्धन गरिए पनि आगामी चुनाव एक्लै लड्नुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन् ।

वर्तमान संसदको अवधिभर संयुक्त सरकारमा सहभागी हुने, तर आगामी चुनावबाट कांग्रेसले कसैसँग गठबन्धन नगर्ने निर्णय गरेर जानुपर्ने प्रस्ताव गरेका छन् । ‘नेपाली कांग्रेसले भविष्यमा हुने आवधिक निर्वाचनहरुमा निर्वाचन पूर्व गठबन्धन (प्रि–इलेक्सन एलायन्स) गरेर अब कहिल्यै आफ्ना मतदातालाई अन्य कुनै दलको चुनाव चिह्नमा मत हाल्ने अवस्था सिर्जना गर्ने छैन’, थापाको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्षको चुनावमा गठबन्धन गर्दा भएका क्षतिहरुबारे थापाले लामै व्याख्या गरेका छन् । गठबन्धनबाट चुनावमा भाग लिदा कार्यकर्तामा परेको मनोवैज्ञानिक असर र पार्टीले राजनीतिक रुपमा भोग्नुपरेको क्षतिबारे प्रतिवेदनमा लामै व्याख्या गरेका छन् ।

‘…आफैंले बनाएको संविधान, आफैंले परिकल्पना गरेको राजनीतिक प्रणालीमा निर्वाचनबाट पहिलो पार्टी बनेर सबै तहको सरकारमा नेतृत्वदायी भूमिकामा रहेको यो क्षणमा पार्टीभित्र ठूलो उत्साह र विजयभाव मात्र हुनुपर्ने हो’, महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन्, ‘तर पार्टीका सदस्यको ठूलो पंक्तिमा समेत कताकता एक किसिमको अलमल र संशय देखिन्छ ।’

गठबन्धन गरेर चुनावमा भाग लिएपछि उत्पन्न परिस्थितिलाई महामन्त्री थापाले कांग्रेसको पार्टी जीवनकै कठिन दिनभन्दा खराब परिस्थितिसँग तुलना गरेका छन् । ‘२०६२ सालअघि कांग्रेसको संगठन खुम्चिएको थियो, संरचना खल्बलिएको थियो । कति ठाउँमा अधिवेशन नै भएको थिएन, धेरैको त काठमाडौंमै भयो । तर त्यस्तो अवस्थामा पनि हाम्रो पार्टी उद्देश्यहीन थिएन’ महामन्त्री थापाले ज्ञानेन्द्र शाहको कू र माओवादी विद्रोहकालीन परिस्थितिसँग पार्टीलाई तुलना गरेका छन् ।

तर अहिले चुनाव जितेर पनि कार्यकर्ता र पार्टीमा उत्साह नरहेको उनको निष्कर्ष छ । ‘शान्ति स्थापना र संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाइ छाड्ने हाम्रो मिसनले पार्टीभित्र र बाहिर सबैलाई जोड्न सकेको थियो । तर आज पार्टी एकप्रकारले मिसनविहीन जस्तो देखिएको छ । निर्वाचन जितेको छ, सरकारमा छ तर पनि अबको गन्तव्य नै नदेखिरहेको जस्तो भएको छ’, प्रतिवेदनमा छ ।

गठबन्धन गर्दा कार्यकर्ताले रुख चिह्नमा मतदान गर्न नपाएको र समग्रमा पार्टीको लोकप्रिय घटेको महामन्त्री थापाको निष्कर्ष छ । उनले गठबन्धनकै कारणले ६२ प्रदेशसभा क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशतर्फ रुख चिह्न नै दर्ता नभएको, प्रतिनिधिसभातर्फ ७४ क्षेत्रमा रुख चिन्ह नै नभएको र २१ क्षेत्रमा एउटा पनि उम्मेदवार कांग्रेसले उठाउन नपाएको उल्लेख गरेका छन् । त्यसो हुँदा २०७४ भन्दा गत वर्षको चुनावमा प्रतिनिधिसभातर्फ १३.२ प्रतिशत र प्रदेशसभातर्फ १५.७४ प्रतिशत मत कम घटेको निष्कर्ष उल्लेख गरेका छन् ।

यस्ता तथ्यलाई देखाएर थापाले चुनाव हारेपनि एक्लै लड्ने घोषणा गर्नुपर्ने प्रस्ताव तयार पारेका छन् । ‘..तत्काल कुनै अप्ठ्यारा र चुनौती आएपनि वा पार्टीले क्षति नै बेहोर्नुपरे पनि लोकतान्त्रिक मूल्य मान्यता, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विधिको शासन लगायतका आधारभूत मान्यतामा कहिल्यै सम्झौता गर्ने छैन ।’

सत्ता र पदसँग लेनदेन नभएका पंक्ति कांग्रेसभित्र र बाहिर पनि ठूलो संख्यामा भएकाले पार्टीले प्रष्ट एजेण्डा बोक्नुपर्ने महामन्त्री थापाको प्रस्ताव छ । २००३ साल, २०४६ साल र २०६२/६३ सालकै जस्तो प्रष्ट उद्देश्य बोकेर जान पनि आगामी चुनावमा कसैसँग गठबन्धन गर्न नहुने थापाको प्रस्ताव छ ।

तर संगठनात्मक प्रस्तावसँगै महामन्त्री थापाले ल्याएको यस्तो राजनीतिक विश्लेषणप्रति सभापति देउवा सहमत छैनन् । सभापति देउवाले देशको सवैभन्दा ठूलो शक्ति कांग्रेस रहेकाले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने तर्क गरेका छन् । त्यसलाई देउवाले परिस्थिति हेरेर राजनीतिक निर्णय लिइनुपर्ने निष्कर्ष सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?