+
+

मर्दीमा किन हराइरहन्छन् पदयात्री ?

३ दिनसम्म भेटिएनन् मर्दीमा हराएका स्विडेनी नागरिक

विकास रोकामगर विकास रोकामगर
२०८० पुष १६ गते १४:२७

१६ पुस, पोखरा । मर्दी हिमाल पदमार्गमा एकल पदयात्रामा निस्किएका स्विडेनका नागरिक माइकल लिउ ब्लमबर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन छन् । शनिबार बिहान करिब ४ बजे मर्दी हाइक्याम्पबाट बेसक्याम्पतिर उक्लिएका उनी सोमबार बिहानसम्म सम्पर्कमा आएका छैनन् ।

मर्दी ट्रेकका क्रममा सम्पर्कविहीन हुने माइकल पहिलो उदाहरण भने होइनन् । मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अनुसार विभिन्न मितिमा हालसम्म त्यहाँ ५ जना पदयात्री सम्पर्कविहीन भइसकेका छन् । उनीहरुको पत्तो अहिलेसम्म लाग्न सकेको छैन । विभिन्न समयमा दुर्घटना भएकामध्ये हालसम्म ७ जनाको उद्धार गरिएको छ ।

मर्दी पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्दछ । मर्दीबाट सम्र्पकविहीन भएका पदयात्रीबारे समितिले ‘केही तथ्यांक’ राखे पनि क्षेत्राधिकारभित्र पर्ने नियामक संस्था अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भने तथ्यांक छैन । ‘हामीसँग त्यस्तो केही तथ्यांक पनि राखिएको छैन रहेछ, थप बुझ्नुपर्छ’, एक्याप प्रमुख डा. रविन कडरियाले अनलाइनखबरसँग भने ।

मर्दी ट्रेकमा फेरि अर्का पदयात्री २० वर्षीय माइकल सम्पर्कविहीन भएसँगै त्यहाँको कमजोर उद्धार संयन्त्र उदांगिएको छ । खोजी तथा उद्धारमा न एक्याप गम्भीर रुपमा लागेको देखिन्छ न पालिका नै । बरु, मर्दीका पर्यटन व्यवसायी र पालिकाबीच यहीबेला पर्यटन शुल्क उठाउने विषयमा जुहारी चलिरहेको छ ।

पर्यटकसँग पवेश शुल्क उठाएको भन्दै मर्दीका पर्यटन व्यवसायीले आइतबार बिहान पालिकाले बनाएको सूचना केन्द्र तोडफोड गरिदिएका छन् ।व्यवसायीहरुले पालिकाले आफ्नो निर्णय फिर्ता नलिएसम्म शुल्क उठाउन नदिने घोषणा नै गरेका छन् । पालिकाले विज्ञप्ति नै जारी गरेर कानुनी कारवाही गर्ने चेतावनी दिएको छ ।

शनिबार बिहान हाइक्याम्पस्थित एक होटलमा आफ्नो सबै सामान छोडेर उकालो लागेका माइकललाई खोज्न व्यवसायी, एक्याप र पालिकाले आआफ्नै तरिकाले खोजिरहेका छन् । सम्पर्कविहीन पदयात्रीलाई खोज्न खोज्न व्यवसायी, पालिका र एक्यापबीच समन्वय पनि शून्य देखिएको छ ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङ माइकल होटल नफर्किएसँगै खोजी कार्य तीव्र पारिएको बताउँछन् । ‘हामी अस्तिदेखि नै दिनरात नभनी जंगलमै हिँडिरहेका छौं । अहिलेसम्म केही पत्तो लागेको छैन, व्यवसायीहरुले मात्रै सबै गर्न कहाँ सक्छन्’, उनको आरोप छ, ‘खोजी, उद्धारमा पालिकाको भूमिका शून्य देखियो । एकजना पनि मान्छे खटाएको छैन ।’

यता, गाउँपालिकाले पनि दानबहादुर पौडेलको नेतृत्वमा आइतबारबाटै खोजी तथा उद्धारका लागि टोली खटाइसकेको जानकारी दिएको छ । पालिका प्रवक्ता गणेश आचार्य पौडेलको नेतृत्वमा ५ जनाले सम्पर्कविहीन भनिएका स्विडेनी नागरिकको खोजी कार्य भइरहेको बताए ।

‘स्थानीय तहबाट हिजै एक्सनमा गइसकेको छ । धेरै समय टपमा बसेको र जंगलजंगल डुलेकाले खोजी कार्यमा सहज हुन्छ भनेर नै उहाँको नेतृत्वमा टोली खटिएको हो,’ प्रवक्ता आचार्यले भने, ‘यतिबेला आरोपप्रत्यारोपभन्दा पनि मुख्य काममा सबै मिलेर लाग्नुपर्छ भन्ने हो ।’

गाउँपालिकाले मर्दी हिमालको हुमाल (लोक्याम्प)मा खडा गरेको पर्यटक सूचना केन्द्रमा ३० डिसेम्बरमा फर्किने भनेर गएका माइकल नफर्र्किएपछि पोखरा ८ का वडाध्यक्ष राम गुरुङले एक्यापलाई शनिबार साँझ नै खबर गरेको बताए ।

एक्याप प्रमुख रविन कडरियाका अनुसार गाउँपालिकाबाट जानकारी आएपछि आइतबार बिहानै वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा उद्धार टोली मर्दी उक्लेको थियो । मर्दी पुगेको उक्त टोली सोमबार बिहानमात्रै हाइक्याम्पबाट उकालो लागेको छ ।

‘हामीले पनि स्थानीय, स्थानीय र प्रहरीसँग समन्वय गर्ने हो । सम्पर्कविहीनलाई खोज्ने मुख्य काम त प्रहरीकै हो’, एक्याप प्रमुख कडरियाले भने, ‘त्यसबाहेक हामीसँग भएका चेक प्वाइन्टहरुबाट पनि जानकारी लिने काम गरिरहेका छौं ।’

एक्यापका अनुसार माइकल थोरङ पास, हुँदै पुनहिलसम्म आएको देखिएको छ । त्यहाँसम्म समूहमै आएका माइकल मनास्लु छिरेपछि भने एक्लिएको एक्यापको ‘ट्राभल्स हिस्ट्री’ मा देखिएको छ । ‘मनास्लु आएपछि उहाँ एक्यापका पोथना, छोमरोङ कतै इन्ट्री देखिँदैन,’ कडरियाले भने, ‘यता, मर्दी आइसकेपछि भने हाइक्याम्पबाट माथितिर लागेको देखिन्छ । अहिलेसम्म हराइरहेकोमात्रै भन्न सकिन्छ ।’

पदयात्रामा एक्लै जान मिल्छ ?

एक्याप तथा पर्यटन व्यवसायीका अनुसार सम्पर्कविहीन भनिएका माइकल एक्लै मर्दी पदयात्रामा थिए । सम्पर्कमा नआएपछि स्थानीय, व्यवसायी र सुरक्षाकर्मीको रोहबरमा उनले होटलमा छाडेको झोला खोलिएको थियो ।

झोला खोल्ने क्रममा माइकलले पदयात्रामा आवश्यक पर्ने सामानसँगै पर्स पनि त्यही छोडेको भेटिएको मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका अध्यक्ष राजकुमार तामाङले बताए ।

तामाङका अनुसार बिना गाइड पदयात्रामा जान दिनु नै सबैभन्दा ठूलो गल्ती हो । ‘ऊ एक्लै आएको देखिन्छ । शनिबार पनि ती स्विडेनी नागरिक गाइडसँग आएको भए घटना नघट्न सक्थ्यो कि !’ उनले भने ।

नेपाल पर्यटन बोर्डको पछिल्लो नियमअनुसार पनि एक्लै पदयात्रामा सोलो अर्थात् एकल पदयात्रामा जान मिल्दैन । बोर्डले अघिल्लो अप्रिल महिनादेखि लागू हुने गरी फ्रि–इन्डिभिजुअल ट्रेकर (एफआईटी) बन्द गरेको थियो ।

उक्त नियमअनुसार पदयात्रीले अनिवार्य पथप्रदर्शक (गाइड) लैजानुपर्ने हुन्छ । तर, मर्दी उक्लिने अधिकांश पर्यटक सोलो अर्थात् एकल पदयात्री नै हुने गरेको व्यवसायी नै स्वीकार्छन् ।

एक्याप प्रमुख कडरियाका अनुसार पनि सुरुमा समूहमै विभिन्न पदयात्रा पूरा गरेर मनास्लुदेखि एकल यात्रा थालेको चेकपोस्टको तथ्यांकबाट देखिन आएको छ । व्यवसायीसँगै एक्यापले पनि एकल पदयात्राबारे नियम बने पनि कार्यान्वयन नहुँदा दुर्घटना हुने गरेको बताउँछ । ‘नियमले त सुरक्षाका दृष्टिले सोलो ट्रेक बन्देज छ । तर, त्यो कार्यान्वयन हुन सकेको छैन’, डा कडरियाले भने, ‘नियमलाई कडाइका साथ लागू गर्न सकियो भने यो समस्या कम हुन्थ्यो ।’

कति पुग्छन् मर्दीमा पदयात्री ?

माछापुच्छ्रे मोडेल ट्रेकअन्तर्गत पर्ने मर्दी पदयात्रा पछिल्लो समय स्वदेशी तथा विदेशी पदयात्रीको रोजाइँमा पर्दै आएको छ । यो पोखरादेखि २२ किलोमिटर दूरीमा मात्रै छ । यहाँ पुग्ने पर्यटकले ४ हजार ५ सय उचाइबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृंखलासँगै मौसममा हिउँसँ रमाउन पाउँछन् ।

मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सेप्टेम्बर र डिसेम्बर महिनामा मात्रै त्यहाँ ७ हजार ६५ जना विदेशी र १० हजार ८८२ जना पर्यटक पुगेका छन् ।

सन् २०२२ को सेप्टेम्बर र डिसेम्बरमा मर्दीमा ८ हजार ५४६ जना विदेशी पर्यटक र १० हजार ८३२ जना स्वदेशी पदयात्री पुगेको समिति अध्यक्ष राजकुमार तामाले जानकारी दिए ।

गाउँपालिकाले कात्तिक १७ गतेदेखि मर्दी पदयात्रामा जाने पर्यटकसँग प्रवेश शुल्क उठाउन सुरु गरेको थियो । पालिकाले स्वदेशी पदयात्रीसँग सय र विदेशीसँग ५ सय रुपैयाँ उठाउन थालेको थियो । जसमा एक महिनामै १२ लाख रुपैयाँ संकलन गरेको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?