+
+
Shares

आमा विनाको संसार

हामीबीच तपाईं नरहे पनि तपाईंका बारेमा घरपरिवार, छरछिमेकीले वर्णन गरेका ती शब्दले आँखाबाट हर्षका आँसु खस्छन् र गर्व लाग्छ- मेरी आमा त कति महान् !  

तारा कँडेल तारा कँडेल
२०८१ वैशाख २६ गते ७:२२

आमा संसारमै सबैभन्दा मिठो र प्रिय शब्द हो। सन्तानलाई जतिसुकै अप्ठ्यारो बेलामा पनि साहस दिने, चुनौतीसित लड्न सिकाउने, बाँच्न सिकाउने अनि हरेक दुःखको एउटै औषधि आमा हो ।

एउटा सन्तानलाई जन्म दिंदै गर्दा हजारौं कोषिका चुँडिएको कठोर पीडालाई सन्तानको पहिलो मधुर चिच्याहटमा आमाले सजिलै भुलिदिन्छिन्। आफूले भोगेका हरेक पीडालाई कठोरताका साथ सहन गर्न सक्ने भएकै कारणले गर्दा ईश्वरीय वरदान, स्वर्गीय आनन्द र सन्तान उत्पादन गर्ने क्षमता भगवानले आमालाई नै सुम्पिएका होलान् ।

आमाको लामो प्रसव युद्धपछि मेरो जन्म त हुन्छ तर मलाई जन्माएको केही समयमा आमाको स्वास्थ्यमा खराबी देखिन थाल्छ। यता प्रसव पीडा त छँदैछ। 

यी यावत् पीडालाई सहन नसकेर मेरी आमाको मृत्यु हुन्छ। त्यही दिनदेखि मेरो संसार सबै उजाडिन्छ। अब मेरी आमाको नामको अघि स्वर्गीय जोडिन्छ। आमाको आशीर्वाद प्राप्त गर्नको लागि मैले पितृ भनेर पुकार गर्नुपर्ने हुन्छ। यो सोचले मेरो मन साह्रै भक्कानिन्छ।

आमा नहुनु भनेको मेरा लागि सर्वस्व गुम्नु जस्तै नै भयो। सानैबाट अभावै अभावमा दुःखका दिनले घेर्दाघेर्दैमा बितेको मेरो बालापन सायद खुसी भन्ने कुरा त जमिनको कुनै सतहमा लुकेको छ होला ।

आज मातातीर्थ औंसी। आमाको मुख हेर्ने दिन मेरी आमाले मलाई झुक्याएर अनायासै धर्तीबाट अस्ताएको पनि झण्डै २३ वर्ष हुन लागेछ। कहिलेकाहीं कुनै सन्तान आमाको काखमा लुटपुटिएको देख्दा आफू पनि रम्न नपाएको याद आउँछ र भुर्लुक्क आँसु उम्लिन्छन्। 

लाग्छ आमाको छत्रछायाँ नपुगेकै भएर त होला नत्र किन यी आँसुले आमा सम्झिन्थे र ?

आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रह्मनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ 

अचेल कहिले मन्दिर त कहिले वृद्धाश्रम गएर बसिरहन मन लाग्छ। ती वृद्धाश्रमका बा–आमामा कतै तपाईंको अनुहार पो भेट्छु कि भनेर ! 

ए साँच्चै मैले त तपाईंको अनुहार पनि देखेकै छैन। सबैभन्दा बढी यादले यस्तै चाडपर्वको बेलामा सताउँदो रहेछ। आजकाल त झन् चाडपर्वमा आमाको अस्तित्वको कमी ज्यादै हुने गर्दछ। सायद यो उमेरले आमाको साथ खोजिरहेको छ होला तर मेरी आमा मबाट कहीं टाढा छिन्। निकै पर आकाशमा कतैबाट मलाई नै हेरिरहे जस्तो लाग्छ। आमा भन्नेबित्तिकै स्नेह र निश्चल मायाको अभाव स्मरण हुन्छ। आमाको माया कसैसँग तुलना हुँदैन। घरमा जति नै सदस्य संख्या भए पनि मनै त हो तन-मन र आँखाले आमा खोज्छ। 

आयु त अरुको पो धेरथोक लाग्छ, आफ्ना मान्छेको आयु अमर होस् भन्ने हुने रहेछ किनकि त्यो मान्छेसँग आफ्नो इतिहास जोडिएको हुन्छ, जीवनका पन्नापन्नामा अमिट छाप छोडिएको हुन्छ।

आफ्नो जन्मलगत्तै आमाको मृत्यु भएपछि त्यो नवजात शिशुको जीवनमा केकस्ता समस्याहरू आइपर्छन्, त्यो हेक्का तपाइँहरू पनि गर्न सक्नुहुन्छ। आमाको स्तन चुस्ने अधिकार मबाट खोसियो। आमासँगै रम्ने, आमालाई सताउने लगायत धेरै कुरा मबाट विलीन भए। मेरो बचपना मैले बाँच्न पाइनँ भन्दा पनि फरक नपर्ला।

हामीबीच तपाईं नरहे पनि तपाईंका बारेमा घरपरिवार, छरछिमेकीले वर्णन गरेका ती शब्दले आँखाबाट हर्षका आँसु खस्छन् र गर्व लाग्छ- मेरी आमा त कति महान् ! आज म संघर्षमा हुँदा, कुनै दुःखमा पर्दा तपाईंको धीरता सम्झेर आँखाबाट आँसु झर्छ र त्यसले मलाई झन् बलियो बनाउँछ।

आमा हुनेहरूले आजको दिनमा आमाकै लागि धेरथोर आफूले सक्दो कर्म गरेर मिठामिठा परिकारहरू खुवाएर नयाँ बस्त्र किनिदिएर खुशी पारिरहनुभएको छ होला। आमा नहुनेहरूले भने आमाको नाममा दियो बाली आमालाई सम्झिरहनुभएको छ होला। 

वैशाख कृष्ण औंसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिधादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता छ। मैले मेरी आमाको लागि बिहानै उठी आमाको नाममा दियो बाल्दै अर्को जन्म मिलेमा म तपाईंकै सन्तान हुन पाउँ र तपाईंकै साथमा लामो समयसम्म रहन पाउँ भनी प्रार्थना गरें।

हुन त आमाका लागि कुनै दिन चाहिन्न, किनकि आमा हामीलाई दिन देखाउने देउता हुन्। र पनि तिथिमितिले वर्षमा एकपटक आउने दिन हो मातातीर्थ औंसी। 

आमाको नाममा जोडिएका बगरका ढुङ्गा त देउता हुन्छन् भने आमालाई जोडेर आएको औंसीको महत्व नहुने त कुरै भएन। आफ्ना सन्तानका निम्ति आफ्नै संसार भुलिदिने ती सम्पूर्ण आमाको सोच, साहस र ममतालाई पङ्क्तिकारको सलाम छ। 

आमाको जीवनको रक्तश्रावबाट नै मेरो जीवनको ब्रह्मनाल बनेको हो। जसले आफूलाई टुक्राएर मलाई सिङ्गो जीवन दिइन्, सारा जीवन उनै आमाको नाममा अर्पित छ ।

पुनः एकपटक मातातीर्थ औंसीको सम्पूर्ण महान् आमाहरू, आमा शब्दप्रति, आमाप्रति, आमाको स्नेहप्रति र सिङ्गो आमाको स्वरूपप्रति आभारसँगै नमन अनि शुभकामना। अर्को जन्म मेरै आमाको कोखबाट लामो समय सँगै रहन मिल्ने गरी जन्म लिन पाउँ ।

गुल्मी 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?