वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख भनेको जे–जस्तो रुखोसुखो खाए पनि मज्जाले पचाउन सकियोस् । मान्छेहरू अहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिंदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा पनि ।

हाम्रो पेटले चार वटा काम गर्छ । पहिलो, स्वस्थ धारण । दोस्रो, धर्म धारण । तेस्रो, सौन्दर्य धारण । चौथो, गर्भधारण ।

पेटको पहिलो काम आरोग्य धारण हो । अर्थात् शरीरलाई स्वस्थ बनाइराख्नु हो । धेरैजसो रोग पेटकै विकारले पैदा हुन्छ । आयुर्वेदले भन्छ, ‘पेटमा मल सडिएपछि सबै रोग सुरु हुन्छ ।’

पेटको दोस्रो काम हो, धर्म धारण । पाप वा धर्म गराउने पनि यही पेट हो । पेट ठीक छ भने मान्छे ठीक हुन्छ । ऊ आनन्दित र सन्तुष्ट हुन्छ । कुकर्म सोच्दैन । पेट खराब छ भने उसको मन पनि गडबड हुन्छ ।

पेटको तेस्रो काम सौन्दर्य धारण । हाम्रो अनुहार, छाला भनेको पेटको ऐना हो । यदि पेट सफा छ, सहज रूपमा खानेकुरा पचाएको छ, विकार छैन भने छालामा चमक देखिन्छ । अनुहारमा आभा देखिन्छ ।

पेटको चौथो काम गर्भधारण । हरेक सृष्टिको रचनाकार हो गर्भ । हामी जति पनि धर्तीमा आएका छौं गर्भबाटै आएका छौं । आमाको गर्भबाट केही न केही अंश लिएर हामीले आफ्नो शरीर बनाएका छौं । जब हामी सन्तानको रचना गर्छौं, त्यससँग पेटको सम्बन्ध हुन्छ । नवजात शिशुको नाभिसँग आमाको नाभि जोडिएको हुन्छ ।

त्यसैले हाम्रो नाभि रहेको स्थान पेटको धेरै ठूलो महत्व छ । अब यो पेटलाई स्वस्थ, तगडा, बलियो राख्नु हाम्रो धर्म हो, प्रथम दायित्व हो ।

तपाईं–हामीलाई थाहा छ, धेरैको लागि समस्या बनिरहेको छ पेट । ग्याष्ट्रिक, एसिडिटी, अजीर्ण, अपच, वायु विकारले सताइरहेको छ । नयाँ–नयाँ रोगहरू पनि पेटलाई गाँज्न आइपुगेको छ । अल्सर, क्यान्सरले पनि पेटलाई छाडेको छैन ।

यसरी पेट नै रोगी भएपछि मान्छे तन्दुरुस्त रहने कुरा भएन । न शरीर बलियो हुन्छ, न सौन्दर्य कायम रहन्छ । पेटले धर्म छाडेपछि शरीरले पनि आफ्नो कर्म छाड्छ । त्यसैले पेटलाई स्वस्थ, चुस्त राख्नु जरूरी छ ।


पेटलाई बुझौं

हाम्रो पूर्वीय संस्कृतिले पेटलाई कसरी प्राकृतिक रूपमै बलियो र तगडा राख्ने भन्ने विधि सिकाएको छ । खासगरी प्राणायाम क्रिया, योग आसनले पेटलाई बलियो बनाउन सकिन्छ । पेटको विकार हटाउन सक्छौं ।

तर, जान्नुपर्ने कुरा के भने पेट गडबड भएपछि उपचार खोज्नुभन्दा पेट खराब हुनै नदिनु उत्तम हो । यसका लागि पहिलो शर्त हो, सही खानपान ।

हामी मोबाइल किन्नुअघि सय पल्ट त्यसको फिचरबारे हेर्छौं, बुझ्छौं । मोटरसाइकल–गाडीमा तेल हाल्नुप¥यो भने ‘कति शुद्ध छ ? कतै मिसावट त छैन’ भनेर सोधीखोजी गर्छौं । किनभने अशुद्ध तेल हालेमा इन्जिन खराब हुन्छ ।

जबकि पेटमा चाहिं जे पनि हाल्छौं । कुन खानेकुराले पेट बिगार्छ भनेर सोच्दैनौं । गाडीको त्यति माया लाग्छ तर यो अनमोल शरीरप्रति हामी खेलाँची गर्छौं ।

हामी जे खान्छौं, त्यो खानेकुराबारे परिचित हुनुपर्छ । नचिनेको खाना नखाने । घरमा नचिनेको पाहुना आयो भने हामी प्रवेश गर्न दिंदैनौं । त्यसरी नै पेटले नचिनेको खानेकुरा नखाऔं ।

सही खानपान एउटा कुरा भो । अर्को महत्वपूर्ण कुुरा के भने, खाएको कुरा राम्ररी पचाउन सक्नुपर्छ । आहार कार्यको महत्वपूर्ण पाटो हो पाचन । खानामा रहेको पोषणलाई राम्ररी अवशोषण गर्ने, बाँकी रहेको विकारलाई राम्ररी निष्काशन गर्ने हुनुप¥यो ।

जब खानेकुरा राम्ररी पच्दैन पेटमा बोसो लाग्न थाल्छ । पेट बढ्न थालेपछि सतर्क हुनुपर्छ । बैंकको ब्याज बढ्दा हामी जसरी सावधान हुन थाल्छौं, त्यसरी नै पेटमा बोसो बढेपछि पनि सजग हुनुपर्छ ।

यी चाहिं व्यावहारिक नियम भए । आयुर्वेदका दृष्टिले पनि केही नियम छन् । योगका दृष्टिले पनि केही आसन–क्रिया छन् ।

पाचन क्षमता बढाउने प्राकृतिक तरिका

बिहान उठ्नासाथ मनतातो पानी पिउनु पाचनका लागि सर्वोत्तम हो । बिहान शौचालय जानुअघि मनतातो पानी पिउने । त्यसपछि गर्ने चार वटा आसन क्रिया छन् । जस्तो, ताडासन, तिर्यक ताडासन, कटिचक्रासन, उदर आकर्षण । यी आसनहरू कसरी गर्ने भन्ने कुरा अहिले युट्युबबाट पनि थाहा पाउन सकिन्छ ।

यी आसनपछि शौचालय जान सकिन्छ । राम्ररी दिसा हुन्छ । पेट सफा हुन्छ । शौचालयमा धेरै समय गुजार्नुपर्दैन ।

शौच क्रिया सकेपछि शरीरबाट पसिना निकाल्ने कुनै गतिविधि गर्न सकिन्छ । चाहे व्यायाम गरेर होस्, काम गरेर होस्, खेलेर वा दौडिएर । शरीरबाट पसिना आउनु भनेको पाचन प्रणाली बलियो बनाउनु हो ।

केही शक्तिवद्र्धक आसन छन्, जसले पनि पेटलाई बलियो बनाउँछ । सूर्य नमस्कार, प्रज्ञा योग लगायतका विधिहरू अपनाउन सकिन्छ ।

पेटलाई लक्षित गरेर अर्को योग क्रिया गर्न सकिन्छ, जसलाई अग्निसार क्रिया भनिन्छ । यो भनेको पेटलाई हल्लाउने हो । सास बाहिर छाड्ने र नरम पेटलाई मज्जाले अगाडि–पछाडि, तल–माथि, दायाँ–बायाँ हल्लाइदिने । यसले पेटको आन्तरिक मांसपेशीहरू सक्रिय र बलियो हुन्छ ।

गड्यौला हिंडे जसरी पेटमा रहेको मललाई बटारिंदै, तन्किंदै, गुडुल्किंदै तलतिर ठेल्छ । पेटमा मल सड्न पाउँदैन । पेट सफा हुन्छ ।

अब पेटलाई बलियो बनाउन प्राणायाम विधिहरू पनि गर्नु उपयोगी हुन्छ । अनुलोम विलोम, कपालभाती जस्ता प्राणायामले पेटलाई बलियो बनाउँछ ।

सुधार गरौं गल्ती

हामीले गर्ने केही गल्ती छन्, जसले पेटलाई रोगी बनाउँछ । जस्तो एकै पटकमा धेरै खानु । खाना खानासाथ सुत्नु । राति अपच हुने गरी खानु ।

खाना खाने नियम छन् । जस्तो बिहान पुग्दो खाने त्यसपछि क्रमशः खानाको मात्रा घटाउँदै जाने । राति सकेसम्म थोरै र सुपाच्य खानुपर्छ । सूर्यास्त अघि खानु सर्वाेत्तम हो । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्ने । वा खाना खाने र सुत्ने अवधिबीच दुई–तीन घण्टाको अन्तराल हुनुपर्छ ।

यसरी राति कम खाएपछि पेटमा सड्न पाउँदैन । भोलिपल्ट बिहान पेट हल्का र सफा हुन्छ ।

स्वादका लागि जंकफुड, फास्टफुड, प्याकेटबन्द, प्रशोधित खानेकुरा बन्द गरौं । सकेसम्म ऋतु, भूगोल, हावापानी अनुसार उत्पादन हुने प्राकृतिक भोजन गरौं । फाइबर र रेसादार खानेकुराले थाली भरौं ।

खानेकुरा खाँदा हतार नगरौं । दाँतलाई पनि काममा लगाऔं । मिहिन ढंगले चपाउन खाऔं । यसरी विस्तारै, राम्ररी चपाएर खाएपछि त्यो खानेकुरा सुपाच्य हुन्छ ।

अन्नबाली उत्पादन गर्न वर्षदिन लाग्छ, त्यसलाई पकाउन तीन–चार घण्टा लाग्छ तर हामी खानका लागि दुई मिनेट पनि लगाउँदैनौं । खानामा समय दिऔं । आरामले, धैर्यले, आनन्दले, स्वादले खाऔं ।

खाना खानुअघि वा पछि पानी पिउनु उचित हुन्न । यसरी पानी पिउँदा खाना पचाउने विभिन्न किसिमको तत्व एवं इन्जाइमहरू पखालिन्छन् ।

पेटको अग्नि

आयुर्वेदले पेटमा ‘अग्नि’ हुन्छ भन्छ । यसलाई शरीर विज्ञानको भाषामा ‘डाइजेस्टिभ फायर’ भनिन्छ । यो आगोलाई सधैं प्रदीप्त बनाइरहनुपर्छ ।

अग्नि दुई प्रकारका हुन्छन्– एउटा बाहिरको, अर्को भित्रको । बाहिरको अग्निलाई हामी फायर भन्छौं । घाम, आगो बाहिरको अग्नि हो । यसैगरी आयुर्वेदले हाम्रो शरीरभित्र पनि विभिन्न १३ प्रकारको अग्नि हुने बताएको छ । त्यसमध्ये पेटको अग्नि मुख्य हो, जसलाई उदर अग्नि भनिन्छ । यस अग्निको काम हामीले खाएको खानेकुरालाई टुक्र्याउने, धुल्याउने, निचोर्ने र पचाउने हो ।

शरीरको पनि आफ्नै तापमान छ । यसलाई सन्तुलित राख्न जरूरी हुन्छ । शरीरको अग्निलाई कायाअग्नि भनिन्छ । यो बडो विचित्रको धर्ती जस्तै स्वचालित छ । यसको आफ्नै गुरुत्वाकर्षण छ, रक्त निर्माण प्रक्रिया छ, धातु निर्माण संयन्त्र छ । आरोग्य निर्माण प्रक्रिया छ, वीर्य निर्माण प्रक्रिया छ, रजो निर्माण प्रक्रिया छ । शरीरको सुख निर्माण प्रक्रिया छ । बोध निर्माण प्रक्रिया छ । त्यो सबै अग्निले गराउँछ । त्यसैले अग्नि महत्वपूर्ण छ ।

पेटको अग्नि प्रदीप्त भइरह्यो भने पेट सफा हुन्छ । तर, त्यो अग्नि निभ्यो भने अपच, अजीर्ण, कब्जियत जस्ता अनेकन् रोग लाग्छ ।

पेटको अग्नि कसरी बढाउने ?

१. पेटको अग्नि बढाउन एउटा योग छ, अग्निसार । यसले पेटको अग्नि बढाउँछ ।

२. प्राणायाम गरौं । यसले प्राणशक्ति बढाउँछ ।

३. दिनमा एक पटक शरीरबाट पसिना निकालौं ।

४. शरीरलाई शिथिल हुन नदिऔं । हलचल गरिरहनुपर्छ । हिंडौं, खेलौं, काम गरौं ।

५. हप्तामा वा पन्ध्र दिनमा उपवास बसौं ।

६. बेलाबखत जडीबुटी खाऔं । जस्तो घिउकुमारी, अमला, त्रिफला । हर्रो पेटको सबैभन्दा राम्रो औषधि हो ।

७. रक्सी, मासु, चुरोट, जंकफुड, प्रशोधित खानाले पेटलाई दुःख नदिऔं ।