+
+

कमाण्डर गुमाएको बेथान मोर्चाको त्यो ‘क्लोज लडाइँ’

सूर्यमान दोङ ‘लालध्वज’ सूर्यमान दोङ ‘लालध्वज’
२०८० पुष १९ गते ११:४९

म पूर्वी ब्युरोमा कार्यालय स्टाफको रूपमा कार्यरत थिएँ । काभ्रे जिल्लामा नेतृत्व अपुग भयो भन्ने भएपछि एकजना मधेशका कमरेडसँग म काभ्रे जिल्ला कार्यक्षेत्रमा पहिलोपटक फर्किएँ । दुई तीन वटा कटुवा पेस्तोल लिएर आएको थिएँ ।

म आफैं ब्युरो कार्यालयको स्टाफ भएकाले ब्यूरोमा जम्मा भएका पेस्तोल लिएर आउन सम्भव भएको थियो । मुस्किलले पड्किने तर मान्छेलाई तर्साउन काम लाग्ने भएकाले कटुवा पेस्तोल बोकेर आएको थिएँ ।

एउटा कुनै न कुनै फौजी कारबाही गर्नुपर्छ भन्ने पार्टीको स्पष्ट निर्देशन थियो । त्यसैले कमरेड चलाखसिंह र बमध्वज (पूर्व सांसद) लाई लिएर सँगै बेथानको यात्रामा निस्किएँ । रोशी गाउँपालिकास्थित मंगलटारको माथि जंगलमा पुग्दा रात पर्यो, हामीले रात जंगलमै कटायौं ।

पुसको चिसो मौसम, रात कटाउन निकै कष्ट भयो । सिन्धुली हुँदै रामेछापको बेथान जानुपर्ने थियो । भोलिपल्ट गाउँ पुग्दा थाहा भयो कि चलाखसिंह र बमध्वज गिरफ्तार हुनुभएछ । एकजना स्थानीयको घरमा सुतिरहेको बेला राति उहाँहरू गिरफ्तार हुनुभएछ । यसले हामीमाथि एक प्रकारको धक्का दियो । उहाँहरू गिरफ्तार परेको थाहा पाएपछि हामी सिन्धुली हुँदै रामेछापको बेथान पुग्यौं ।

बेथान पुगेर साथी डिल्लीमानको गाउँमा सेल्टर लियौं । कमाण्डर तीर्थ गौतमसहितका अन्य टोली पनि हुनुहुन्थ्यो । तयारी र व्यवस्थापन हामीले यही गाउँबाट गर्नुपर्ने भयो । खासमा हामी त्यहाँ भएको कृषि विकास बैंक कब्जामा लिने र लखनपुरको चौकी आक्रमण गर्ने योजना लिएर गएका थियौं ।

लखनपुरको चौकी आक्रमणको योजना कसरी हो, ‘एक्सपोज’ भयो । योजना बाहिरिएपछि हामीले लखनपुर चौकी आक्रमण गर्न नसक्ने भयौं । त्यसपछि हामीले बेथान चौकी आक्रमणको तयारी गर्यौं ।

अनि एउटा टिम बेथान चौकी रेकी गर्न मुभ भयो । जनयुद्ध सुरु भएको एक वर्ष भइसकेको थियो, तर फौजी आक्रमण भइरहेको थिएन । त्यसकारण हामी ‘गर कि मर’ को अवस्थामा आइपुग्यौं । हामीसँग अगाडि बढ्ने र फौजी आक्रमणमा उत्रिनेबाहेक विकल्पै थिएन ।

राज्यले हामी माथिको दमनको शृङ्खला बढाइरहेको स्थितिमा कुनै फौजी कारबाही गर्नुको विकल्प हुन्थेन । फलतः बेथान चौकीमाथि आक्रमण गर्नैपर्ने थियो ।

रेकीका लागि गएको टोलीको रिपोर्टपछि हामीले बेथान चौकी आक्रमण गर्न सक्ने निष्कर्ष निकाल्यौं । १९ पुस २०५३ मा बेथान चौकी आक्रमण गर्ने निर्णय भयो । दिउँसै आक्रमण गर्ने कि भन्ने थियो, तर हामीले पछि सबै परिस्थितिको विश्लेषण गरेर राति नै आक्रमण गर्ने निर्णय लियौं ।

आक्रमणमा जानका लागि २१ जनाको टोली तयार भयौं । केही स्थानीय साथीहरू थपिंदा हाम्रो टोली झण्डै ३५/४० जना बन्यो ।

चारैतिरबाट आक्रमण गर्ने हाम्रो योजना थियो । हामीसँग ८० हजार पर्ने एउटा टोयलबर, २/३ वटा कटुवा पेस्तोल, घरेलु सुतली बम, ४/५ लिटर पेट्रोल, मट्टिटेल र ३/४ थान भरुवा बन्दुक थियो ।

प्रहरीसँग ४ थान थ्री–नट–थ्री राइफल थियो । हाम्रो टोलीले त्यसको गहिरो अध्ययन गरेका थियो । प्रहरीहरू कुन खाटमा सुत्छन्, हतियार कहाँ–कहाँ राख्छन् भन्नेसम्मका पूर्ण सूचना थियो ।

सुरुमा ‘फायर ओपन’ गर्ने हाम्रो एउटा टिम थियो । दोस्रोमा त्यसलाई ‘फायर’सहित सहयोग गर्ने टिम पनि थियो । तेस्रोमा हाम्रो मोर्चाका कमाण्डर तीर्थ गौतमसहितको विना हतियारको टिम थियो । तीर्थसहितको टिमले नाराबाजा सहित फायर गरेको टिमलाई सहयोग गर्ने योजना थियो ।

मनोवैज्ञानिक रूपले चौकीमा रहेका प्रहरीलाई कमजोर बनाउन अघिल्लो टोलीले फायर गर्ने बितिकै तेस्रो लहरका टोलीले नाराबाजी गर्ने तयारी थियो । हामी राज्यसँग लडिरहेका थियौं, चौकीमा भएका प्रहरी हाम्रा दुश्मन थिएनन् । त्यसैले सकेसम्म कम क्षतिमा लडाइँ जित्नुपर्छ भन्ने हामीलाई निर्देशन थियो, हाम्रो तयारी पनि त्यही अनुसारको थियो ।

सुरुमा हामीले बाहिरबाट भन्यौं, ‘तपाईसँग हाम्रो दुश्मनी होइन, हामी राज्यसत्तासँग लडिरहेका छौं, हतियार बुझाउनुस्, हामी जान्छौं ।’ तर, उहाँहरूले मान्नुभएन । ४ वटा राइफल लिएर भित्रबाट उहाँहरूले उल्टै धमाधम ‘फायर’ खोल्नुभयो ।

अनुभवको कमीले गर्दा हामी कभरमा पनि थिएनौं । हाम्रो आह्वानलाई मानेर हतियार बुझाइहाल्लान् नि भन्ने पनि लागेको थियो । हामी चौकीको ढोकैमा थियौं । ८/१० फिटको दुरीमा हामी थियौं । यो एकदमै ‘क्लोज लडाइँ’ थियो ।

हतियार बुझाउनुको साटो उहाँहरू धमाधम फायर गर्न थालेपछि हाम्रा कमरेडहरू ढल्नुभयो । उहाँहरूको आक्रमणबाट सुरुमा दिलमाया बम्जनलाई गोली लाग्यो । गोली लागेपछि उहाँ छटपटिंदै ढल्नुभयो । हाम्रो पूर्वनिर्धारित योजना भत्कियो । सुरुमै दिलमाया ढलेपछि कमाण्डर तीर्थ गौतम उठेर दुश्मनमाथि आक्रमण गर्न थाल्नुभयो ।

आफ्नो कमाण्डका सहयोद्धा कमरेड दिलमायाको आँखै अगाडिको छटपटिका कारण उहाँ केही आवेगमा आउनुभयो र सिधा–सिधा लड्नुभयो । उहाँ पनि कुनै कभरमा हुनुहुन्नथ्यो । उहाँको टाउकोमा गोली लाग्यो । कमरेड तीर्थ पनि ढल्नुभयो ।

बेथान एउटा गौरवपूर्ण मोर्चा थियो । त्यो लडाइँ वीरता र साहसको केन्द्रीकृत अभिव्यक्ति थियो ।

कमाण्डर तीर्थले नेतृत्व गर्नुभएको टोलीभन्दा अर्को साइडमा हामी थियौ‌ं । उहाँकै साइडमा रसकमल हुनुहुन्थ्यो । उहाँले तीर्थ र दिलमायाको सहादत भएको खबर ल्याउनुभयो । त्यसपछि आक्रमणले अर्को उचाइ लियो । फतबहादुर स्माली मगर मसँगै हुनुहुन्थ्यो, उहाँ मान्छे पुरानै भए पनि लडाइँको मोर्चामा हि‌ंडेको धेरै भएको थिएन ।

हामी सबैसँग आधारभूत फौजी ज्ञान मात्रै थियो । उहाँसँग फौजी तालिम र अनुभवको कमी थियो । अनि मैले उहाँलाई टाउको लुकाएर हान्नका लागि सिकाउँदै थिएँ । दुई जना कमरेडको सहादत भएको पीडाका कारण उहाँ पनि केही आवेगमा आउनुभयो । उहाँले पनि जोसिएर दुश्मनको किल्लामा आक्रमण गर्दै हुनुहुन्थ्यो, त्यही बेला उहाँको पनि टाउकोमा गोली लाग्यो । म र रसकमलको काखमा उहाँको सहादत भयो ।

लडाइँमा सामेल भएका तीन जना साथीको सहादत भएपछि स्थिति झन् तनावपूर्ण बन्यो । त्यसपछि हामी सबै झन् आक्रोशित भयौं, आवेगमा आयौं । घाइते हुनेको अब कुनै सीमा र संख्या रहेन । सबैमा बदलाको भाव जाग्यो । कुनै पनि हालतमा लडाइँलाई जित्ने र दुश्मनको किल्ला भत्काउने भन्नेबाहेकको उद्देश्य कसैसँग भएन ।

अनि हाम्रो टोलीले चारैतिरबाट आक्रमण गर्यो । सबै कमरेडहरू फ्रन्टलाइनमा गयौं । हामीले चौकीमा आगो लगायौं । चौकीमा आगो लागेसँगै उनीहरूले बन्दुक चलाउन छाडे । हामीले लगातार एक घण्टासम्म निरन्तर लड्यौं । हाम्रो पार्टीको फौजी आक्रमणको इतिहासमा यो नै पहिलो सफल आक्रमण बन्यो । मूल रूपमा लडाइँ जित्यौं ।

हामीले तीन जना कमरेडहरू गुमायौं । उहाँहरु सात जना हुनुहुन्छ भन्ने सूचना थियो तर चार जना मात्रै हुनुहँदो रहेछ । त्यसमध्ये दुई जना पछाडिको झ्यालबाट हतियार छाडेर भाग्नु भएछ । हामीसँग हतियार छैन भन्ने सोचेर उहाँहरू लड्नु भएको रहेछ ।

हामीले उहाँहरूसँग भएको ४ थान राइफल कब्जामा लियौं । अहिलेको तेमाल–८ धुल्खुमा आएर हतियार हेर्यौं । त्यो हतियारको लक खोल्न हामीलाई हम्मेहम्मे पर्यो । गोली ७२ पिस निस्क्यिो । त्यो हतियार पूर्वाञ्चलमा एउटा, मध्यमाञ्चलमा एउटा, सुदूर पश्चिमाञ्चलमा एउटा र हेडक्वार्टरमा राख्ने गरी बाँड्यौं ।

बेथान एउटा गौरवपूर्ण मोर्चा थियो । त्यो लडाइँ वीरता र साहसको केन्द्रीकृत अभिव्यक्ति थियो । आफ्नो यात्राप्रतिको आत्मविश्वास र भरोसा थियो । यसले नेपालको जनयुद्धमा एउटा ठूलो तरङ्ग पैदा भएको थियो । राजनीतिक, मनोवैज्ञानिक, फौजी पाटोबाट यसको बहुआयमिक महत्व थियो र आजको दिनमा पनि छ ।

आजको दिन एउटा वीरताको दिन हो । जनयुद्धले एउटा उचाइ चुमेको दिन हो । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेथान विरता दिवस मनाउन रामेछापको सुनापति आउँदैहुनुहुन्छ । बेथानमा सहादत प्राप्त गर्ने महान शहीदहरूप्रति उच्च सम्मानसहित श्रद्धासुमन प्रकट गर्न चाहन्छु ।

(लेखक पूर्वराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?