+
+

आईपीओमार्फत उठाएको प्रिमियम रकमबाट बीमा कम्पनीले बोनस सेयर दिन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १४:२६

१९ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओमार्फत उठेको प्रिमियम रकम तत्काललाई जगेडा कोषमा राख्न निर्देशन दिएको छ ।

प्रिमियममा आईपीओ जारी गरेका बीमा कम्पनीहरूलाई प्राधिकरणले बुधबार पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । यसको अर्थ त्यो रकमबाट बीमा कम्पनीहरुले बोनस सेयर दिन नसक्ने भएका छन् ।

संसद्को लेखा समितिले बीमा कम्पनीहरुले प्रिमियममा आईपीओ जारी गरेको विषयमा अध्ययन गर्न निर्देशन दिएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

‘सार्वजनिक लेखा समितिले यस विषयमा चासो राखेको छ । हामीले नपुग पूँजी पुर्‍याउन प्रिमियममा आईपीओ निष्कासन गर्न दिएको हो । त्यसमै मात्रै प्रिमियम खर्च पाइन्छ,’ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइनखबरसँग भने ।

प्राधिकरणबाट अर्को निर्णय नहुँदासम्म प्रिमियम रकमलाई जगेडा कोषमा राख्न निर्देशन दिएको अध्यक्ष सिलवालले बताए । १२ पुसमा संसदको सार्वजनिक लेखा समितिले बीमा ऐनविपरीत बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गरेको भन्दै त्यसको छानबिन गर्न समेत निर्देशन दिएको थियो ।

ऐनविपरीत सेयर जारी गरेको भन्दै हिमालयन रिइन्स्योरेन्सको सम्बन्धमा पनि सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । अदालतबाट कस्तो फैसला आउँछ, त्यहीअनुसार प्रिमियम रकम फिर्ता गर्नुपर्ने वा नपर्ने निर्णय हुने भएकाले हाललाई यस्तो रकम जगेडा कोषमा राख्न प्राधिकरणले निर्देशन दिएको हो ।

प्रिमियमको रकम जगेडामा राख्दा उक्त रकम पनि कम्पनीको पूँजी नै भएकोले त्यसलाई प्राधिकरणले नपुग चुक्ता पूँजीको रुपमा गणना गर्न दिने प्राधिकरणका अध्यक्ष सिलवाले बताए ।

‘अदालतले प्रिमियम फिर्ता गर्नुपर्छ भन्ने नै फैसला गर्‍यो भने सोहीअनुसारको निर्देशन दिउँला,’ उनले भने, ‘कम्पनी ऐन र बीमा ऐनअनुसारको स्वीकृति दिएको हो । अहिलेलाई अर्को निर्देशन नहुँदासम्म प्रिमियम रकमलाई बोनस सेयर पनि जारी नगर्नु भन्ने निर्देशन हो ।’

सूचीकृत कम्पनीहरुले उठाएको प्रिमियम रकम नगद लाभांशको रुपमा वितरण गर्न पाउँदैनन् भने बोनस सेयर दिन प्रयोग गर्न सकिन्छ । प्रिमियमबाट लाभांश वितरण गरेको अवस्थामा त्यसको आयकर तिर्नुपर्ने हुन्छ ।

कम्पनीको जगेडा कोषमा रहेको रकम पूँजी नै भएकाले ५ अर्ब पूँजी नपुगेका कम्पनीले त्यस्तो रकम पुँजीको रुपमा गणना गर्न दिइने अध्यक्ष सिलवालले बताए ।

बीमा कम्पनीहरूले पनि प्रिमियमको रकमबाट बोनस वितरण गरेर आफ्नो चुक्तापूँजी वृद्धि गर्ने योजना बनाएका थिए । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापूँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउनु पर्ने व्यवस्था गरेको छ ।

नेपाल जीवन बीमक संघको अध्यक्ष पोषक पौडेलले पनि प्रिमियम रकमलाई जेगेडा कोषमा राख्न निर्देशन आएको बताउँछन् । बीमा कम्पनीले पहिले नै प्रिमियम रकम जगेडा कोषमा राखेकोले त्यसमा थप केही गरिरहनु नपर्ने उनले बताए ।

आईएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर जारी गरेका थिए । त्यस्तै हिमालयन रिइन्स्योरेन्सले पनि प्रिमियममा आईपीओ जारी गरेको थिए । आईएमई लाइफले प्रिमियममा आईपीओ जारी गर्दा १ अर्ब ५६ करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले करिब १ अर्ब ७९ करोड, सन् नेपाल लाइफ इन्स्योरेन्सले करिब १ अर्ब २७ करोड र सिटिजन्स लाइफ इन्स्योरेन्सले करिब १ अर्ब ५४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

यस्तै हिमालयन रिइन्स्योरेन्स कम्पनीले ३ अर्ब १८ करोड प्रिमियम संकलन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?