+
+

बीमा कम्पनीहरुले पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १९:४९

२३ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका संशोधन गर्दै एक पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सक्ने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीले कुनै पब्लिक कम्पनीको ५ प्रतिशतसम्म सेयर किन्न पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो ।

प्राधिकरणले पुनर्बीमा, निर्जीवन तथा जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका एकैसाथ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि बीमा कम्पनीहरुले साधारण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था रहेकोमा संशोधनमार्फत साधारण र संस्थापक सेयरमा लगानी गर्न पाउने भएका छन् । सबै बीमा कम्पनीले कुल लगानीमध्ये नेप्सेमा सूचीकृत पब्लिक लिमिटड कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था थियो ।

अब कुनै पनि पुनर्बीमा कम्पनी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीले कुनै पनि पब्लिक लिमिटेड कम्पनीको १५ प्रतिशतसम्म सेयर खरिद गर्ने सक्ने भएका छन् । यसरी सेयर खरिद गर्दा कुल लगानीको १० प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था प्राधिकरणले गरेको छ ।

हिमालयन रि– इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको स्वामित्वको सेयर खरिद गर्ने सम्झौता गर्दै स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो ।

साबिकको हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको थियो । सिभिल बैंकलाई गाभेपछि उक्त सेयर स्वामित्व १५ प्रतिशतभन्दा तल आएको छ । उक्त सेयर हिमालयन रि इन्स्योरेन्सले खरिद गर्ने सम्झौता गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकमा समेत पठाएको छ ।

‘विगतमा पनि कृषि तथा उत्पादनमूलक कम्पनीको संस्थापक सेयरमा लगानी गर्न समस्या भयो भन्दै बीमा कम्पनीहरुले लगानीको सीमा र दायरा बढाउनुपर्ने माग गर्दै आएका थिए । त्यतिबेला प्राधिकरणको प्राथमिकतामा यो विषय परेको थिएन,’ बीमा प्राधिकरण स्रोतले अनलाइनखबरसँग भन्यो । लामो समयपछि बीमा कम्पनीको लगानीसम्बन्धी निर्देशिकामा संशोधन भएको हो ।

सूचीकृत कम्पनीमा सञ्चालक प्रतिनिधित्व हुन १५ प्रतिशत सेयर चाहिन्छ । त्यसो हुँदा बीमा कम्पनीहरुले सञ्चालक प्रतिनिधित्व हुन नसक्ने गरी लगानी गर्नुपर्ने अवस्था रहेको भन्दै यो व्यवस्था संशोधनको माग गरेका थिए ।

प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा पनि लगानी गर्नसक्ने

बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको १.५ प्रतिशत प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्डमा पनि लगानी गर्नसक्ने व्यवस्था गरेको छ । विशिष्टीकृत लगानी कोष नियमावली अनुसार धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्विटी फण्ड र भेञ्चर क्यापिटल फण्डमा बीमा कम्पनीहरुले लगानी गर्न पाउने भएका हुन् । निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुले त्यस्तो लगानी आफ्नो कुल लगानीको १.५ प्रतिशत भन्दा बढी हुन नहुने बीमा प्राधिकरणले जनाएको छ ।

एउटा फण्डमा बढीमा १ प्रतिशत मात्रै लगानी गर्न पाउने बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको संशोधित व्यवस्थामा उल्लेख छ । यसरी प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड लगायत लगानी निर्देशिकामा भएको सीमा भन्दा लगानी गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने गरी सबै बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका संशोधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?