+
+

बालकुमारी घटनामा आधारित ‘सक्किगो नि’को विशेष एपिसोड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १३:०६

काठमाडौं । कोरियाली भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाए । आन्दोलनमा उत्रिंदा दिवंगत भएका सुजन रावत र वीरेन्द्र शाहको सपना घरको ऋण तिर्न र पैसा कमाउन विदेशिनु थियो ।

उक्त घटनाले मुलुक स्तब्ध बन्यो । सरकारले पनि यो घटनामा सुरक्षा कमजोरी स्वीकारिसकेको छ । यस्तोमा लोकप्रिय टेलिभिजन सिरिज ‘सक्किगो नि’ले उक्त घटनामा आधरित रहेर पछिल्लो एपिसोड ल्याएको छ ।

दलालको फन्दामा परेर अवैध बाटो हुँदै विदेशिन बाध्य युवाको नियति, रोजगारी माग्दा दमनमा उत्रिने राज्यको प्रवृत्ति र नागरिकमा बढ्दो वितृष्णाको कथामा उक्त सिरिज बनेको छ । ‘सक्किगो नि’को तेस्रो सिजनको ३३ एपिसोड बिहीबार राति हिमालय टिभीमा प्रसारण भएको छ भने युट्युबमा स्ट्रिमिङ भइरहेको छ ।

सिरिज निर्देशक, लेखक र कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बालकुमारी घटनालगत्तै सिरिज बनाउने आफूहरुको योजना रहेको बताए । ‘घटना भएपछि नै बनाउने सोच थियो । हाँसीमजाकको सिरियल त बनाइरहेका थियौं । गम्भीर एपिसोड बनाऊँ भनेर बनाएका हौं । यस्तो बेला नागरिक आवाज बोल्ने हाम्रो दायित्व पनि हो,’ उनले अनलाइनखबरसँग भने ।

‘रोजगारी माग्दा र देश छाड्छु भन्दा त्यो सजाय भयो । हामीले पनि त्यो एंगलबाट सोच्यौं । त्यसपछि एपिसोड बनाउन पहले गरेका हौं,’ घिमिरेले भने । कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ले पनि बालकुमारी घटनाका मृतकप्रति यो एपिसोड समर्पित भएको उल्लेख गरेका छन् ।

यो एपिसोडमा रमेश बुढाथोकी नेताको भूमिकामा देखिएका छन् । उनी बेलाबेलामा नेताको भूमिकामा यो सिरिजमा देखिने गर्छन् । आन्दोलनकारी युवाको भूमिकामा जिग्री ब्रो प्रस्तुत छन् । बालकुमारी घटनाक्रमबाट प्रभावित भएर बनाइएको सिरिजमा अवैध बाटो र जंगल हुँदै विदेशिन बाध्य युवाको अवस्था दर्शाइएको छ । नेतालाई पनि कटाक्ष गरिएको छ ।

‘सक्किगो नि’ टिमले यसअघि स्थानीय चुनावलाई लक्षित गर्दै चार एपिसोड ल्याएको थियो । यसैबीच, ‘सक्किगो नि’ टिम फिचर फिल्म निर्माणको तयारीमा जुटेको छ । माघमा फिल्मको घोषणा गर्ने तयारी छ । सोहीअनुसार स्टक एपिसोडको छायांकन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?