+
+

बूढीगण्डकी जलविद्युत् आयोजना पीपीपी मोडलमा बनाउन चेम्बरको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १७:०५

२० पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडी बढाउनुपर्ने बताएका छन् ।

गोरखा चेम्बर अफ कमर्सले गोरखामा आयोजना गरेको कृषि, पर्यटन तथा व्यपार प्रवर्द्धन मेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बूढीगण्डकी जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’ उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने बताए ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।

कृषि लगायतका स्थानीय उत्पादनको बजारीकरण एवम् प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रवाभकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नेपालको जडीबुटीलाई प्रवर्द्धन एवम् प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष मल्लले भने, ‘नेपालमा प्रशोधित जडीबुटीको छिमेकी चीन लगायतका देशमा माग उच्च रहेको छ ।’

मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए । मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा मल्लले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?