+
+

सामाजिक अराजकतामा सत्ता पक्षका कार्यकर्ता अगाडि देखिएको एमालेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १७:५७

२० पुस, काठमाडौं । नेकपा एमालेले सामाजिक अराजकताका घटनामा सत्ता पक्षका कार्यकर्ताको मुख्य भूमिका देखिने गरेको बताएका छन् ।

पार्टी सचिवालयको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा एमाले महासचिव शंकर पोखरेलले सरकारलाई यस्ता क्रियाकलाप तुरुन्त नियन्त्रणमा लिन आग्रह गरेको बताए ।

‘सत्ता पक्षको अकर्मण्यता र कार्यकर्तामा देखिएको अराजकताले समाजमा अराजक गतिविधि भइरहेका छन्’, उनले भने, ‘त्यो स्थितिलाई तत्काल नियन्त्रण गर्न, जनताको जिउधनको सुरक्षा गर्न, र जनप्रतिनिधिले निर्वाध काम गर्न पाउने अवस्था बनाउन एमाले सरकारसँग माग गर्दछ ।’

आजै सर्लाहीको बर्थवामा भएको घटनामा सरकार पक्षका कार्यकर्ताको हुलदंगा मुख्य कारक रहेको उनको भनाइ छ ।

एमाले केन्द्रीय सदस्य समेत रहेकी मेयर कल्पना कुमारी कटुवाल नगर अस्पतालको क्षमता विस्तार गर्ने कुरामा के गर्ने भनेर बोलाएको छलफलमा सत्ता पक्षका कार्यकर्ताले हुलदंगा गरी ढुंगामुढा र तोडफोड गरेपछि प्रहरीले बल प्रयोग गर्दा एकजना नागरिकको मृत्यु भएको महासचिव पोखरेलको भनाइ छ ।

‘सत्ता पक्ष आफैं यस प्रकारका क्रियाकलापमा संलग्न हुनु दुखद पक्ष हो । यस्ता कुरा सत्ता पक्षले नियन्त्रण गर्नुपर्छ । आज सामाजिक अराजकता सिर्जना गर्नेमा सत्ता पक्षकै भूमिका देखिने गरेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?