+
+

आधारभूत अस्पताल बनाउन अन्तर्राष्ट्रिय सहयोग खोज्ने स्वास्थ्यमन्त्रीको योजना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १८:५२

२२ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा आधारभूत अस्पताल बनाउन अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रस्ताव गरेका छन् ।

२५ चैतमा हुने अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने उनको प्रस्ताव छ । आइतबार कान्ति बाल अस्पतालको ६२औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले आधारभूत अस्पतालको निर्माण र उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय सम्मेलन गरेर सहयोग जुटाउने बताएका हुन् ।

‘विकास साझेदार संस्था, सबै शुभेच्छुक दातृ निकायलाई बोलाएर रंगशालामा अन्तर्राष्ट्रिय सम्मेलन गरौं । हाम्रो स्वास्थ्य क्षेत्रको स्वास्थ्यमा भएका काम, चुनौती र गर्नसक्ने कामको बारेमा बताऔं,’ मन्त्री बस्नेतले भने, ‘त्यसबाट अर्बौं पैसा उठ्न सक्छ । उठेको पैसाले उपकरण खरिद र भवन निमार्ण गरौं ।’

मन्त्री बस्नेतले आधारभूत अस्पतालका लागि कर्मचारीको न्यूनतम दरबन्दीको व्यवस्थापन सरकारले गर्न सक्ने तर अस्पताल भवन निर्माण र उपकरण खरिदका लागि भने सहयोग जुटाउनुपर्ने धारणा राखेका हुन् । उनले महिनाको तीन लाख रुपैयाँ तलब दिंदा पनि दुर्गममा काम गर्न जाने डाक्टर नभेटिएको जिकिर गरे ।

‘महिनाको ३ लाख रुपैयाँसम्म तलब दिंदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिदैन’, उनले भने, ‘सब जना सुगम मात्रै ताक्नुहुन्छ । म आएपछि मात्रै ८ सय जनाको काज फिर्ता गरेको छु ।’

चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने उनको तर्क थियो । ‘त्यसैले अब जसरी पनि चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छ’, मन्त्री बस्नेतले भने ।

सरकारले डाक्टर र नर्स उत्पादन गरी विदेश पठाएर धेरै पैसा कमाउन ध्यान दिनुपर्ने योजना समेत मन्त्री बस्नेतले सुनाए । उनले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा मासिक २० लाख रुपैयाँसम्म कमाइ हुने दाबी गरे ।

‘धेरै डाक्टर, नर्स पढाउँदा ठूलो स्रोत आउँछ । इज्जत,सम्मान मान, प्रतिष्ठा हुन्छ’, मन्त्री बस्नेतले भने, ‘त्यसकारणले यो क्षेत्रमा विशेष ध्यान दिनुपर्छ । यसका लागि हामीले कदम पनि अगाडि सारेका छौ ।’

मन्त्री बस्नेतले सरकारी अस्पतालमा १०० देखि ३०० वेडका अस्पतालमा नर्सिङ र पारामेडिक्स र ३०० बेडभन्दा माथिका अस्पतालमा एमबीबीएस अध्ययन गराउन दिने व्यवस्था लागू गर्न चिकित्सा शिक्षा आयोगलाई समन्वयका लागि पत्र लेखिसकेको पनि जानकारी दिए ।

मन्त्रिपरिषद्, विभिन्न दलका नेता, सभामुख तथा आफ्नै दलको पार्टी सभापति सामु पनि उक्त कुरा गरेको भन्दै सबैले नेपाललाई चिकित्सा शिक्षाको हब बनाउनुपर्ने कुरा राखेको उनको भनाइ छ ।

‘मन्त्रिपरिषदमा यस विषयलाई राखेको छु । संसदबाटै पास गर्नुपर्ने भएकाले सम्माननीय सभामुखज्यूलाई पनि राखेँ । पार्टीका सभापति शेरबहादुर देउवाज्युलाई पनि यो कुरा राखेको छु’, उनले भने, ‘सबैको एउटै स्वर छ नेपाललाई चिकित्सा शिक्षाको हब बनाऔं, सबैको एक स्वर छ ।’

४ करोड बरावरको निःशुल्क सेवा

आइतबार कान्ति अस्पताल स्थापना भएको ६२ वर्षको अवसरमा आयोजित समारोहमा अस्पतालका निर्देशक डा. पंकज रायले गत आर्थिक वर्षमा अस्पतालले ४ करोड रुपैयाँ बराबरको निःशुल्क सेवा दिएको बताए ।

अस्पतालको तथ्यांक अनुसार एक वर्षमा १ लाख ९९ हजार २ सय ५६ जनाले सेवा लिएका छन् । जसमध्ये १ लाख ४६ हजार २ सय ४९ जनाले बहिरंग सेवा र ५३ हजार ७ जनाले आकस्मिक सेवा लिएका थिए ।

उपचारमा आएकामध्ये १ सय ८५ जना बालबालिकाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । आर्थिक वर्ष ७९/८० मा २ हजार ८४२ जनाको शल्यक्रिया भएको छ । जसमा ७२४ जनाको गम्भीर किसिमको शल्यक्रिया भएको ८१९ जनाको मध्यम खालको र ९३९ जनाको सामान्य शल्यक्रिया भएको डा. रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?