+
+

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा गठबन्धनको पल्लाभारी

यज्ञ खत्री यज्ञ खत्री
२०८० पुष २३ गते ११:३८

२३ पुस, सुर्खेत । कर्णालीमा राष्ट्रिय सभाका तीन सिटका लागि प्रतिस्पर्धा हुँदैछ । ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा चुनिएका भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते निर्वाचन हुन लागेको हो ।

जाजरकोटका श्रेष्ठ अन्य, कालीकोटका लुहार दलित र सुर्खेतकी चपाईं महिला क्लस्टरबाट राष्ट्रियसभा सदस्य भएका थिए । उनीहरु निर्वाचित भएकै क्लस्टरमा चुनाव हुने भएकाले सत्ता गठबन्धनबाट अन्य, दलित र महिला एक/एक जनाले मात्र उम्मेदवार बन्ने अवसर पाएका छन् ।

सत्ता गठबन्धनको सहमतिअनुसार  कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक/एक सिटमा उम्मेदवारी दर्ता गर्नेछन् ।

माओवादीले कर्णालीमा कालीकोटका विष्णु बिकलाई दलित क्लस्टरबाट उम्मेदवार बनाएको छ । कांग्रेसले प्रदेश महामन्त्रीसमेत रहेका रुकुम पश्चिमका कृष्ण रोकायालाई उम्मेद्वार बनाएको छ भने एकीकृत समाजवादीले महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सावित्री नारायण नगरपालिका दैलेखककी पूर्वउपमेयर हुन् ।

चुनावमा एक्लै भिड्न लागेको नेकपा एमालेले कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेश सभा सदस्यहरु मतदाता हुने यो मतदानको नजिता मतभारका आधारमा हुन्छ ।  जसअनुसार प्रदेश सभा सदस्यको ५३ र स्थानीय तह प्रमुख/उपप्रमुखको १९ मतभार तोकिएको छ ।

७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिका गरी १५८ जना मतदाता रहेका छन् । जसमध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदान गर्ने छन् । जसको मतभार २ हजार ९६४ हुँन आउँछ ।

प्रदेश सभातर्फ ४० जना सदस्य छन् । जसको मतभार २ हजार १२० मतभार हुन आउँछ । स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कर्णालीमा जम्मा पाँच हजार ८४ मतभार हुन आउँछ ।

कसको मत कति ?

कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १५ जना सदस्य छन् । जसको मतभार ७५९ हुन आउँछ ।

स्थानीय तहतर्फ नेपाली कांग्रेसबाट ३३ पालिका प्रमुख (नगर प्रमुख र गाउँपालिकाका अध्यक्ष) र २६ जना उपप्रमुख र उपाध्यक्ष गरी कुल ६९ स्थानीय जनप्रतिनिधि मतदाता छन् । जसको मतभार एक हजार ३११ हुन आउँछ । यसरी हेर्दा राष्ट्रिय सभामा नेपाली कांग्रेस एक्लैको २ हजार ७० मतभार छ ।

कांग्रेसबाट निर्वाचित दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ्ग र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । तर, कांग्रेसबाट बागी उठेर चुनाव जितेका चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही र चन्दननाथ नगरपालिका जुम्लाका राजुसिंह कठायत पुनः कंग्रेसमै फर्किएको कांग्रेस प्रदेश प्रवक्ता दमन शाहीले बताए ।

‘हामीले दुई पालिका प्रमुख गुमायौं । तर कांग्रेसकाबाटै बागी उठेर जित्नु भएका पुन कांग्रेसमै फर्किनु भएको छ । त्यसो हुँदा गुमाएको ठाउँमा पूर्ति भएको छ,’ प्रवक्ता शाहीले अनलाइनखबरसँग भने ।

दोस्रो ठूलो दल माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा १३ जना सदस्य छन् । जसको मतभार ६८९ हुन्छ । स्थानीय तहतर्फत माओवादी केन्द्रले नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी ४८ रहेको छ । जसको मतभार ९ सय १२ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहको कुल मतभार एक हजार ६०१ छ ।

एमालेले कर्णाली प्रदेश सभामा १० सिट जितेको छ । जसको मतभार ५३० हुन आउँछ । स्थानीय तहतर्फ एमालेले नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षगरी ३५ जना निर्वाचित भएका छन् । जसको मतभार ६६५ हुन आउँछ । प्रदेश सभा सदस्य र स्थानीय तहका गरी एमालेसँग एक हजार १९५ मतभार छ ।

एकीकृत समाजवादीबाट कर्णाली प्रदेश सभामा एक जनाको उपस्थिति छ । यस्तै स्थानीय तहतर्फ नगर प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षगरी १० जना निर्वाचित भएका छन् । प्रदेश सभा सदस्य एक जनाको ५३ र स्थानीय तहतर्फबाट १९० गरी २४३ मतभार उसको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कर्णाली प्रदेश सभामा एक जनाको प्रतिनिधित्व छ । स्थानीय तहतर्फ शून्य छ । राप्रपाको मतभार राष्ट्रिय सभामा ५३ हुनेछ ।

अहिले सत्ता गठबन्धन दलबाट कर्णालीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको उपस्थिति छ । यसरी मिलेर राष्ट्रिय सभाको चुनावमा मतदान हुँदा कांग्रेसको २ हजार ७०, माओवादीको एक हजार ६०१ र एकीकृत समाजवादीको २४३ गरी ३, ९१४ मतभार गठबन्धनको पक्षमा आउनेछ ।

एमाले र राप्रपा मिलेर चुनावमा जाँदा पनि गठबन्धनसामु उसको मतभार निकै कम हुनेछ । एमालेको १, १९५ र राप्रपाको ५३ जोड्दा उनीहरुको पक्षमा १, २४८ मतभार हुनेछ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?