+
+

अन्तिम ११ मा प्रवेश गरिन् मेनुका, गाउँदा समस्या भएपछि हौसला दिन मञ्चमै पुगे सञ्जय दत्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:३७

काठमाडौं । नेपालकी मेनुका पौडेलले गायन प्रस्तुतिमार्फत इण्डियन आइडलमा सबैको मन जितिरहेकी छन् । सेलिब्रेटी हुन् या दर्शक उनको गायकीका फ्यान बनिरहेका छन् । अभिनेता रणवीर कपुरले त ‘संगीतकी साक्षात् देवी’ भन्दै उनको पाउ नै छोए ।

इण्डियन आइडलको आइतबार रातिको एपिसोड मेनुका प्रेरित रह्यो । उक्त एपिसोडबाट एकजना प्रतिस्पर्धी बाहिरिंदा मेनुका भने अन्तिम ११ मा प्रवेश गरिन् । ‘बटम चार’मा रहेकी उनी बाँकी तीन जनाभन्दा बढी भोट ल्याएर सुरुमै सुरक्षित भइन् । तर ‘बटम चार’मा पर्नुको अर्थ भोटको कमी छ भन्ने हो ।

उक्त एपिसोडमा मेनुकाले लगातार तीन गीत गाइन् । एक गीत गाउँदा उनले लिरिक्सै नै बिर्सिइन् । गाउँदै गर्दा उनको मुटुको चाल (हार्ट बिट) बढेपछि म्युजिक बन्द गरियो । पानी पिउन दिइयो । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे । डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो ।

त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् । शारीरिक असहजताका कारण उनले अघिल्ला एपिसोडमा जस्तो उत्साही ढंगले भने गाइनन् । यद्यपि, उनको गायकी सुमधुर नै रह्यो । विशेष अतिथि बनेका बलिउड अभिनेता सञ्जय दत्तले मेनुकाको गायकीको प्रशंसा गर्दै कहिल्यै पनि हार नमान्न सुझाव दिए ।

सञ्जयले आफूलाई पनि फोक्सोमा स्टेज फोरको क्यान्सर लागेको र आत्मबलले जितेको प्रसंग निकाल्दै मेनुकालाई पनि आत्मबल बलियो राखेर अघि बढ्न आग्रह गरे । ‘आज म यहाँ छु, मैले जितें र क्यान्सर हार्‍यो,’ सञ्जय भन्छन्, ‘त्यसरी नै तिमी पनि अघि बढ्दै जानुपर्छ । कहिल्यै नछोड्नु । तिमीले त्यो पर्खाल भत्काउनैपर्छ ।’

मेनुकालाई जज श्रेया घोषालले पनि सान्त्वता दिइन् । उनले भनिन्, ‘चाहे जेसुकै होस्, तिमीले यो गीत पूरा गर्न प्रयत्न गर्नैपर्छ । किनभने तिमी सक्षम छौ । संसारभरका संगीतप्रेमीको आशाको किरण हौ । तिमीले गरेनौ भने कसले गर्छ ? आई लभ यू ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?