+
+

नेपाल र इण्डिया मात्रै होइन, मेरो विश्व खाने योजना छ : मेनुका पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १२:४२

काठमाडौं । इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेल यतिबेला काठमाडौंमा छिन् । केही दिनअघि राजधानीमा आइपुगेकी उनलाई अन्तर्वार्ता दिन र समारोहमा भाग लिन भ्याइनभ्याइ छ ।

मेचीपुल हुँदै नेपाल आएकी उनलाई गृहजिल्ला झापामा भव्य स्वागत भएको थियो । इण्डियन आइडलको जारी १४ औं सिजनको अन्तिम १० बाट बाहिरिएकी मेनुकाको प्रसिद्धि यतिबेला चुलिएको छ । इण्डियन आइडलले दिलाएको चर्चाले उनको सांगीतिक करिअरलाई पूरै मोडिदिएको छ ।

काठमाडौंमा एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै मेनुकाले आफ्नो विश्व खाने योजना रहेको बताइन् । ‘मेरो विश्व खाने योजना छ, नेपाल र इण्डिया त… । म्युजिकबाट मैले विश्व खानैपर्छ,’ उनले भनिन् ।

‘यो उत्साह भगवानको कृपा । जहिले पनि म बिहान उठेपछि साईबाबासँग प्रार्थना गर्छु । रियाज गर्न बस्दा पनि स्वामीको फोटो मेरो अगाडि नै हुन्छ । मैले भन्ने कुरा नै के हो भने बाबा मलाई एउटा ऊर्जा प्रदान गरिदिनुस् बाँकी कुरा म मिहेनत गर्छु भन्ने प्रार्थना हुन्छ,’ उनले भनिन्, ‘भगवानले मलाई हिम्मत दिनुहुन्छ र त्यसलाई स्वीकारेपछि राम्रै हुन्छ जस्तो लाग्छ ।’

इण्डियन आइडल टुरअन्तर्गत अप्रिलदेखि उनको विश्व यात्रा सुरु हुनेछ । अप्रिलमा मौरिसस र बेलायतमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । मेदेखि एक महिनाको अवधि अमेरिकामा छ । त्यसपछि दक्षिण अफ्रिका र अन्य दुई मुलुकमा कन्सर्ट हुने मेनुकाले बताएकी छन् ।

आगामी दिनमा भारत आफ्नो कर्मभूमि हुने भएपनि नेपालमा हुने रेकर्डिङलाई नछुटाउने उनको भनाइ छ । ‘काठमाडौं आएर भए पनि ती गीत रेकर्ड गर्छु,’ उनले भनिन् ।

मेनुकाले ‘म्युजिक ट्रयाक’को प्रयोग गरेर गीत नगाउने समेत प्रतिबद्धता जनाइन् । ‘कहीं पनि गीत गाउनुपर्‍यो भने म म्युजिकल ट्रयाक युज गर्दिनँ । लाइभ ब्याण्ड नै युज गर्छु । नेपथ्य र कन्दराको कन्सर्टजस्तै लाइभ । ट्रयाकमा कुनै पनि हालतमा कहीं पनि नगाउने,’ उनले भनिन्, ‘चाहे त्यो हार्मोनियम र तबला दुईवटा मात्र नै किन नहोस्, तर म म्युजिक ट्रयाकमा चाहिं गाउँदिनँ ।’

उनले निकट भविष्यमा ब्याण्ड खोल्ने योजना रहेको बताइन् । ‘मैले एक-दुईवर्ष संघर्ष गर्छु । तत्कालै ब्याण्ड खोलिहाल्ने योजना छैन किनभने मेरो पाटो अलग छ,’ मेनुकाले भनिन्, ‘म भजन पनि गाउँछु । गजल पनि गाउँछु । लाइट म्युजिक, क्लासिकल पनि गाउँछु । हिन्दुस्तानी, कर्नाटक सबै दक्षिण एसियाली गीत सिकिराखेको छु । म जुन ठाउँमा जान्छु, त्यही ठाउँको म्युजिक युज गर्छु, त्यसले मलाई नयाँ अनुभव हुन्छ ।’

इण्डियन आइडलको जारी सिजनमा मेनुकालाई लिएर वाइल्ड कार्ड इन्ट्रीको चर्चा पनि भइरहेको छ । तर यसबारे आफूलाई थाहा नभएको उनले बताइन् । कम भोट ल्याएपछि गत साता मेनुका प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?