+
+

साहित्यकार विश्वम्भर चञ्चलको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:३८

काठमाडौं । साहित्यकार विश्वम्भर चञ्चलको निधन भएको छ । उनको आइतबार ८२ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली साहित्यमा कथाकारको रुपमा प्रसिद्ध चञ्चल २०२० सालमा रुपरेखा साहित्यिक मासिकमा प्रकाशित ‘एक लास हाँसिरहेछ’ कवितामार्फत नेपाली साहित्यमा प्रवेश गरेका थिए ।

कविता लेखनबाट साहित्य यात्रा सुरु गरे पनि उनको लेखनको प्रमुख विधा भने कथा रह्यो । उनले बाल साहित्यमा पनि आफूलाई संलग्न गराए । लेखनको उत्तरार्धमा उनले संस्मरण, यात्रा संस्मरण लगायतका गद्य विधामा समेत कलम चलाएका थिए । उनको संलग्नता अनुवाद र सम्पादनमा समेत थियो ।

चञ्चलका अतृप्ति (२०२६), विश्वम्भर चञ्चलका कथाहरु (२०३३), जीवनवृत्त (२०४०), युध्द भड्किरहेछ (२०४७), अनामनगर (२०५४), गन्तव्यहीन दिशाहीन (२०५७)लगायत कृति प्रकाशित छन् ।

त्यस्तै उनका यात्रा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म, बाँचेको युग मरेका मान्छे, ईन्मेरिका लगायत छन् ।

उनका बाल साहित्यमा टमको बहादुरी (बाल उपन्यास, २०३०), पञ्चैबाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत संग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा संग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चिं बिरालो म्याउँ (बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवी (जीवनी, २०५५), के कसरी बन्छ ? (हास्यकथानक भोजन गाथा, २०५७), हाम्रो सम्पदा (चिनारी, २०५८), जादूको बादल (बालकथा, २०५९), बलभन्दा बुध्दि ठूलो (बालकथा, २०६०) लगायतका कृति छन् । मलाई एउटा कथा भनिदिनोस् न (२०५५) उनले अङ्ग्रेजीबाट अनुवाद गरेको बाल साहित्यको  कृति हो ।

उनले विद्यालय स्तरका पाठ्यपुस्तक पनि लेखेका थिए ।

चञ्चलले साहित्य सेवाका लागि विविध पुरस्कार समेत प्राप्त गरेका थिए । उनले मैनाली कथा पुरस्कार (२०४३), राष्ट्रिय बाल साहित्य पुरस्कार (२०५४), बाल पुस्तक पुरस्कार (२०४७), रत्न बाल पुरस्कार (२०५७), नूर गङ्गा बाल साहित्य पुरस्कार (२०६९) प्राप्त गरेका थिए ।

सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड बिताएका उनी साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत भएका थिए ।

पछिल्लो समय उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?