+
+

रहेनन् सगरमाथालाई विश्वभर चिनाउने हलिउड फिल्म निर्माता डेभिड ब्रेसियर्स

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १७:०६

काठमाडौं । फिल्ममार्फत सगरमाथालाई विश्वमाझ चिनाउन योगदान दिएका हलिउड फिल्म निर्माता तथा छायांकार डेभिड ब्रेसियर्सको निधन भएको छ । मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्समा ६८ वर्षीय ब्रेसियर्स घरमा मृत फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबरलाई ब्रेसियर्सको परिवार निकट अमेरिकी पर्वतारोहीहरु एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पुष्टि गरेका हुन् । उनको परिवारले समेत विज्ञप्तिमार्फत निधनबारे जानकारी दिएको छ । ब्रेसयर्सको मृत्युको ठोस कारण भने यकिन नभएको परिवारको विज्ञप्तिमा उल्लेख छ ।

आरोही समेत रहेका ब्रेसियर्सले पाँच पटक सगरमाथा आरोहण गरेका छन् । सन् २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘एभरेस्ट’ थ्रीडीका उनी सहायक निर्माता र दोस्रो तहका छायांकार थिए । सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका थिए ।

सन् १९९८ को आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट उनी विश्वचर्चित बने । आइम्याक्स डकुमेन्ट्री इतिहासमा यो सर्वाधिक कमाउने फिल्म बन्यो । आठ फिल्ममा काम गरेका उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म निर्माण गरे ।

जलवायु परिवर्तनले हिमालयका हिमनदीमा पारेको प्रभावलाई सम्बोधन गर्न उनले गैरनाफामूलक संस्था ग्लेसियरवर्क्सको स्थापना गरेका थिए ।

१० मे १९९६ मा उनले एभरेस्ट डकुमेन्ट्री फिल्म छायांकन गर्दा खसेको हिमपहिरोले आठ जनाको मृत्यु भएको थियो । यो घटनापछि छायांकन समेत रोकिएको थियो । ‘एभरेस्ट’ थ्रीडीले १९९६ को उक्त दर्दनाक घटनाको कथा भन्छ । नेपाली हलमा समेत रिलिज भएको यो फिल्मले राम्रै कमाइ गरेको थियो । विश्वभर यसले १२० मिलियन डलर कमायो ।

आफ्नो फिल्म र प्रसारण संस्थाबाट उनले लाखौंलाई सगरमाथाबारे जानकारी दिएका छन् । उनले आफू सधैं सगरमाथाको निकट रहेको समेत बताउने गर्थे ।

ब्रेसियर्सको निधनमा नेपाली फिल्मकर्मी र पर्वतारोही समुदायले समेत सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । सन् २०१४ मा उनले काठमाडौंमा हिमालय पर्वतमा जलवायु परिवर्तनले पारेको असरबारेको फोटो प्रदर्शनी आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?