+
+
अलबिदा भक्तराज आचार्य :

‘हजार सपनाहरुको माया लागेर आउँछ’

गायक तथा संगीतकार आचार्य भौतिक रुपमा त अब हामीमाझ रहेनन् । तर उनले संगीतप्रेमीलाई आफ्ना कालजयी गीत-संगीत उपहार दिएर गएका छन् । यसलाई सम्हालेर राख्नुको अर्थ एकबाट अर्को पुस्तालाई उनका गीत हस्तान्तरण गर्दै जानु हो । उनका गीत कालजयी बनेर युगौंयुग गुञ्जिनु हो ।

खेम रिसाल खेम रिसाल
२०८० फागुन १४ गते २०:१६

हजार सपनाहरुको माया लागेर आउँछ

बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

यस्तै यस्तै कालजयी गीतका गायक तथा संगीतकार भक्तराज आचार्य अब हामीमाझ रहेनन् । गीतका यी हरफले भने झैं अब हजार सपनाहरुलाई माया गरेर राख्नुको मात्रै विकल्प छ, बाँच्ने रहर अब अधुरै रहेको छ, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ।

भजन शिरोमणिको रुपमा नेपाली जनजनले हृदयमा सजाएका आचार्य अब भौतिक रूपमा हामीमाझ छैनन् । उनको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको छ । ३० वर्षदेखि क्यान्सरबाट पीडित वरिष्ठ गायक तथा संगीतकार आचार्यको अक्सिजन लेभल कम भएर अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भयो ।

३० वर्षदेखि क्यान्सरसँग लडिरहेका आचार्यले यस अवधिमा ठोस खानेकुरा समेत खान पाएनन् । उनले दूध जस्ता झोलिलो कुरामै यत्तिका वर्ष बिताए ।

आचार्यको निधनसँगै नेपाली संगीत क्षेत्रले अग्रज पुस्ताका एक दरिलो धरोहरलाई गुमाएको छ । उनी स्वरसम्राट नारायणगोपाल, प्रेमध्वज प्रधानका समकालीन हुन् ।

कालिम्पोङमा जागृत भयो संगीत सपना

मुटु जलिरहेछ यो मन गलिरहेछ

तिम्रो याद आइदिंदा आँसु त्यसै बगेछ

यस्तै यस्तै कालजयी गीतले आचार्यले लाखौं नेपाली संगीतप्रेमीको मन जिते । १९९९ सालमा धनकुटामा जन्मिएका आचार्यको परिवार त्यस समय पूर्वी नेपालमा महामारी फैलिएपछि भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो । त्यहाँ पुगेपछि भक्तराजको संघर्षको जीवन सुरु भएको थियो । उनी सानै हुँदा नै बुवाको निधन भयो, उनकी आमाले चिया बगानमा मजदुरी गरेर आफ्ना सन्तानलाई हुर्काइन् ।

भक्तराजमा संगीतप्रतिको मोह कालिम्पोङमै हुँदा जागेको थियो । उनकी आमाले मजदुरी गरेर पढ्न पठाएको स्कुल छोडेर उनी संगीत सिक्न थाले । आमाको इच्छा छोरा पढेर अरु नै काम गरेर ‘ठूलो’ मान्छे बनोस् भन्ने थियो, तर गीत गाउने काम नगरोस् भन्ने थियो । हुन त त्यो बेला संगीतमा व्यावसायिक भविष्य पनि त थिएन ।

तर भक्तराज आफ्ना सपनाहरुको पछाडि दौडिन छाडेनन् । उनमा जागेको संगीतको मोह यस्तो थियो कि उनले चिया बगानमा गीत गाए, चोकचोकमा गीत गाए । आफ्नो सपनालाई पूरा गरिछाड्न के गर्न सकिन्छ त्यो गरे ।

पारिवारिक अवस्था राम्रो थिएन, तर पनि उनी गायक बन्ने सपना बोकेर काठमाडौं आए । काठमाडौं आउँदा भक्तराजको काँधमा हार्मोनियम र एउटा टिनको बाकस थियो । काठमाडौं आएर गीत गाउन थाले, गीत सुनाउन सकिने हरेकलाई गाएर सुनाए । तर गाएर केही पार नलागेपछि चिया बगानमा मजदुरी गरेर बोकेर आएको पैसा सकियो । भोको पेट भएपछि घरबेटीलाई तिनुपर्ने केही पैसा बुझाएर हार्मोनियम बोकेर भक्तराज पुनः सपनाहरूलाई काठमाडौंमै छोडेर डुम्सीपाडा कालिम्पोङ नै फर्किन्छन् ।

काठमाडौंबाट फर्किएको केही समयमै उनी घरमा कुरा नमिलेपछि हार्मोनियम बोकेर फेरि घर फर्किन्छन् । बस चढेर आउँदै गर्दा उनले मनमनै अठोट गरेका हुन्छन्- अब गायक बनेर मात्रै घर फर्कन्छु ।

भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म समेत बनेको छ- ‘आचार्य’ । जसमा उनको जीवन र सांगीतिक संघर्षबारेको कथा प्रस्तुत गरिएको छ ।

२०३० सालको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता 

२०३० सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा उनले स्वर्ण पदक प्राप्त गर्छन् । त्यसबेला उनले रेडियो नेपालमा गाएको ‘होसियार यसबखत समयको’ गीतको रचना र संगीत अम्बर गुरुङले गरेका थिए । प्रतियोगितामा प्रथम भएपछि उनी रेडियो नेपालको जागिरे भए र त्यसपछि भने उनको सांगीतिक जीवनले एकखालको लय समात्न पुग्यो ।

आचार्यले आफ्नो जीवनकालमा करिब ५०० गीत गाए । सुगम संगीत मात्रै होइन, फिल्ममा पनि गाए । दर्जनौं गीतमा संगीत पनि दिए । उनी जति अब्बल गायक थिए, उति नै उपल्लो तहका संगीतकार पनि । जीवनकालमा उनले थुप्रै भजन पनि गाएका छन् । त्यसैले त उनलाई ‘भजन शिरोमणि’ उपाधि दिएका छन्, नेपाली संगीतप्रेमी नागरिकले ।

आचार्यले जति गीत गाए, अधिकांश गीत श्रोताका मनमा बसेका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने, प्रिय तिम्रो मुहारमा, सबै बेहोसी नशा पिएर, एक दिन मैले प्रभुसँग सोधें लगायत गीत धेरै लोकप्रिय छन् ।

२०४६ सालको त्यो एक साँझ

मान्छेको जीवनमा आउने कतिपय उतारचढाव यस्ता हुन्छन्, जसले जीवनको लय नै बदलिदिन्छ । भक्तराजको हकमा त अझ भनौं जीवनको लय नै बेसुरा बनाइदियो, बिगारिदियो ।

२०४६ सालको एक साँझ उनीमाथि सांघातिक आक्रमण भयो । उनको टाउकोमा ठूलो चोट लाग्यो । लगत्तै उनलाई वीर अस्पतालमा भर्ना गरियो । तर १२ दिनपछि मात्र डा. उपेन्द्र देवकोटा मार्फत उनको टाउकोको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनको गायकीमा पूर्णविराम लाग्यो । सांगीतिक उचाइमा यात्रा गरिरहेका आचार्यको सांगीतिक जीवनले बिश्राम लिन बाध्य हुनुपर्‍यो ।

२०४९ सालमा जिब्रोमा खटिरा देखिएको थियो, त्यसको एक वर्षपछि त्यो क्यान्सर भएको पुष्टि भयो र अन्तत: जिब्रो नै काट्नुपर्‍यो । २०५० सालदेखि उनी बोल्न सकेनन्, राम्ररी खान सकेनन् । आफ्ना हजार सपनामध्ये कति पूरा गरे, कति अधुरै रहे । नेपाली संगीतलाई कालजयी गीत दिने सपना चाहिं पूरा गरे ।

आचार्यको निधनले नेपाली सांगीतिक क्षेत्रले एक दर्विलो अभिभावक गुमाएको महसुस गरेको छ । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा उहाँको निधनले संगीत क्षेत्रलाई अपूरणीय क्षति पुर्‍याएको बताउँछन् । आचार्य संगीतको विश्वविद्यालय भएको उनी बताउँछन् ।

‘उहाँको निधनप्रति एकदमै दुःखी छु । म उहाँलाई दाइ भन्छु । उहाँ मेरो समकालीन पनि हुनुहुन्छ । मभन्दा उमेरले ठूलो भएपनि हामी रेडियो नेपालमा सहकर्मी थियौं’ उनी भन्छन्, ‘उहाँसँग मेरा धेरै अविष्मरणीय क्षण छन् । उनको निधनको समाचार सुनेर म स्तब्ध छु । नेपाली संगीतमा उहाँको अभाव खट्किरहने छ ।’

बास्कोटा अगाडि भन्छन्, ‘सँगै हिंडेको, खाएको, बसेको र उठेको सहयात्री दाइ जाँदा परिवारलाई जुन पीडा परेको छ, त्यो पीडा मलाई भएको छ त्यही हो । उहाँ नेपाली संगीतको संरक्षक पनि हुनुहुन्छ । संगीत साधना कति प्रभावकारी हुन्छ भन्ने कुराको उहाँ युनिभर्सिटी हुनुहुन्छ ।’

बास्कोटा राज्यले आचार्य जस्ता स्रष्टाका लागि केही नगरेकोमा दु:खेसो पोख्छन् । ‘नेताहरुको आफ्नै सोच छ । नेतालाई आफ्नै लागि गर्नुछ । म दुःखी भएको छु,’ उनी भन्छन् ।

शुद्ध शब्द उच्चारणका साथ सुरमा खेल्न सक्ने अब्बल गायक

भक्तराज आचार्य अब्बल गायक र संगीतकार त थिए नै, उनलाई संगीत संयोजन (एरेन्ज)को समेत राम्रो ज्ञान थियो । संगीतकार आलोकश्री आचार्यको निधनले देशले एक महान् संगीतज्ञ गुमाएको बताउँछन् । ‘

उहाँको निधनको खबरले म एकदमै स्तब्ध छु । हाम्रो पुस्ता उहाँहरुको पुस्तालाई सुनेर, देखेर प्रोत्साहित भएर आएको हो,’ उनी भन्छन्, ‘भक्तराजज्यूको नेपाली संगीतमा अतुलनीय योगदान छ । म त भन्छु जुन दिनदेखि स्वास्थ्यका कारण उहाँले संगीतमा पूर्णविराम लगाउनुपर्‍यो त्यो दिन सुगम संगीतमा ठूलो स्वरको अवसान भएको थियो । आज भौतिक रुपमा उहाँ रहनुभएन, यो अर्को कालो दिन हो । नेपाली संगीतले सुरको महाराज नै गुमाएको छ ।’ उनी आचार्यलाई शुद्ध उच्चारण गरेर सुरसँग खेलेर गाउन सक्ने अब्बल गायकको रुपमा स्मरण गर्छन् ।

संगीतकार राजु सिंह शुद्ध उच्चारणका साथ गाउने विश्वस्तरका गायकको रुपमा आचार्यलाई सम्झिन्छन् । ‘शुद्ध उच्चारण गरेर गाउने महान् गायक, विश्वस्तरको गायकको रुपमा म उहाँलाई लिन्छु । उहाँको जादुयी स्वर र शुद्ध उच्चारणलाई पाकिस्तानी महान् गायक गुलाम अलीले पनि प्रशंसा गर्नुभएको थियो । उहाँको गीत सुनेर यस्तो शुद्ध गाउने, मिठासपूर्ण आवाज भएको गायक नेपालमा छ भनेर प्रशंसा गर्नुभएको थियो,’ संगीतकार सिंह भन्छन्, ‘भक्तराज आचार्यज्यू नेपाली संगीत क्षेत्रमा सबै जनाको प्रेरणाको स्रोत हुनुहुन्छ । म स्तब्ध छु ।’

गायक तथा संगीतकार आचार्य भौतिक रुपमा त अब हामीमाझ रहेनन् । तर उनले संगीतप्रेमीलाई आफ्ना कालजयी गीत-संगीत उपहार दिएर गएका छन् । यसलाई सम्हालेर राख्नुको अर्थ एकबाट अर्को पुस्तालाई उनका गीत हस्तान्तरण गर्दै जानु हो । उनका गीत कालजयी बनेर युगौंयुग गुञ्जिनु हो । उनका दुई छोरा सत्यराज र स्वरुपराज आचार्यले उनको विरासतलाई पछ्याउँदै नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाएका छन् ।

अलबिदा, भजन शिरोमणि भक्तराज आचार्य ।

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?