+
+

मर्जरपछि सनराइज र लक्ष्मी क्यापिटल मार्केटको एकीकृत कारोबार सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १७:३५

२३ पुस, काठमाडौं । सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट मर्जर भएर एकीकृत कारोबार सुरु गरेका छन् । दुवै क्यापिटलको माउ कम्पनी लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भई गत असारदेखि एकीकृत कारोबार सुरु गरेका थिए ।

प्रवर्द्धन गर्ने बैंक मर्जर भएसँगै दुवै बैंकका सहायक कम्पनी मर्जर भई ‘एलएस क्यापिटल’ को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट २९ मंसिरमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको नाममा कारोबार गर्ने स्वीकृति प्राप्त गरेका थिए । सोमबार कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वरमा आयोजना गरिएको एक समारोहमा साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडका अध्यक्ष अपछकुमार यादवले एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरे ।

मर्जर पश्चात राजिव सापकोटाले अध्यक्षको पदभार ग्रहण गरेका छन् । यस्तै विजयलाल श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीलाई निरन्तरता दिएका छन् । मर्जर पश्चात कम्पनीले हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ व्यवसायमा प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी आफ्ना सेवाहरुको विस्तार गर्ने जनाएको छ ।

सकारात्मक सोचका साथ आफ्ना सेवाहरुलाई अझ सुदृढ र सशक्त रूपमा विस्तार गर्दै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउने विश्वास लिएको क्यापिटलले जनाएको छ ।

मर्जरसँगै मर्चेन्ट बैंकको एकीकृत चुक्ता पूँजी ४८ करोड ८९ लाख कायम भएको छ । कम्पनीले सर्वसाधारणका लागि २०० भन्दा बढी धितोपत्र निष्कासन, ४१ वटा बोलपत्र मार्फत धितोपत्र निष्कासन र ५२ वटा सेयर प्रत्याभूति व्यवस्थापन गरिसकेको छ ।

कम्पनीले ३०० जनाको करिब ६४ करोड रकम बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको, ९ वटा म्युचुअल फण्ड व्यवस्थापन गरिसकेकोमा छ ।

हाल १ खुल्लामुखी म्युचुअल फण्ड सहित ७ वटा म्युचुअल फण्ड व्यवस्थापन गर्दै आइरहेको कम्पनीले जनाएको छ । जस अन्तर्गत ७ अर्बको सम्पत्ति व्यवस्थापन भइरहेको, एक विशिष्टीकृत लगानी कोष अन्तर्गत ‘प्राइभेट इक्विटी भेञ्चर क्यापिटल फण्ड’ को रुपमा १ अर्ब बराबरको ‘लक्ष्मी सस्टेनएबल इनर्जी फण्ड’ सञ्चालनमा ल्याएको छ ।

यस्तै ३२ वटा कम्पनीहरुको सेयर रजिष्ट्रारको काम गरिरहेको र ३ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?