+
+

‘फिल्मकी पात्र आभा र मबीच धेरै कुरामा समानता छ’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १३:१८

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको ‘पर्खिबसें तिमीलाई’बाट नेपाली फिल्मले नयाँ अभिनेत्री पाउनेछ । रक्षा बुढाथोकीले यसबाट अभिनय करिअर थाल्दैछिन् । डेब्यु हिसाबले उनको पहिलो फिल्म चाहिं ‘लाखे’ हो । ‘लिड एक्ट्रेस’को भूमिकामा दीपक श्रेष्ठ निर्देशित फिल्मलाई पहिलो भन्दा अन्यथा हुँदैन ।

फिल्म प्रदर्शनको मिति नजिकिंदै जाँदा रक्षालाई प्रचार चटारो छ । ‘दबाब र दौडधुपलाई रमाइलोसँग लिएकी छु । कताकता नर्भस पनि’ अनलाइनखबरसँग रक्षा भन्छिन् । हुन त हरेक नयाँ कलाकारलार्ई फिल्म रिलिजको बेला हुने यस्तै मिश्रित अनुभव हो । एकातिर नर्भस र अर्कोतिर उत्साहको मिश्रण ।

पुस २७ गते रिलिज हुने यो रोमान्टिक-सोसल ड्रामामा बुढाथोकीको शीर्ष भूमिका छ । यो फिल्ममा उनी आभा नामकी लभरगर्लको भूमिकामा छिन् ।

‘आभा भनेको यस्तो क्यारेक्टर हो, जसले एउटा मान्छेलाई एकदमै माया गर्छ । लोयल हुन्छ । आभाको लोयल स्वभाव र इमान्दारिता मसँग मिल्छ,’ चरित्र चित्रणबारे रक्षा भन्छिन्, ‘शतप्रतिशत दिएर आभाको पात्रमा काम गरेकी छु ।’

रक्षाको रुचि ‘भेरिएसन’ खालका पात्रमा काम गर्नु हो । उनलाई ठ्याक्कै यस्तो रोलमा काम गरुँ भन्ने छैन । ‘भेरिएसन हुने खालका क्यारेक्टरमा काम गर्न मन छ । आभाको क्यारेक्टरबाट सन्तुष्ट छु,’ उनले भनिन् । ‘लाखे’मा काम गराइको अनुभवले आफूलाई ‘पर्खिबसें तिमीलाई’मा सजिलो भएको अनुभव उनले सुनाइन् ।

‘मैले यी दुई फिल्मबाट सिकेको कुरा भनेकै आफूले गर्ने काममा कसरी भेरिएसन ल्याउन सकिन्छ र आफूले पात्रलाई कसरी न्याय दिन सकिन्छ भन्ने हो,’ फिल्मबारे सिकेको कुरा उनले सेयर गरिन् ।

रक्षालाई लाग्छ, यो फिल्मको कथावस्तु समाज र मान्छेसँग निकट छ । ‘एकदमै सान्दर्भिक कथा । कहीं न कहीं मैले भोगेको जीवनको घटनासँग यो पनि मिल्न आइपुगेको छ । जसले गर्दा आफूमा ल्याउन र जोड्न गाह्रो भएन,’ उनले भनिन् ।

‘पहिले मलाई पात्र र अभिनय के हो थाहा थिएन । मैले अझै धेरै कुरा सिक्नु छ,’ उनी भन्छिन्, ‘लाखेमा केही सिकें । यसले मलाई धेरै मद्दत पुगेको छ । आफूलाई ग्रुमिङ गर्न सजिलो भएको छ ।’

आफूले निर्वाह गरेको आभा र आफूबीच धेरै कुरामा समानता रहेको रक्षाको बुझाइ छ । ‘यदि मेरो पुनर्जन्म भए आभाकै रोलमा जन्मिन चाहन्छु,’ उनी भन्छिन्, ‘जिन्दगीको वास्तविक घटनाले आभा बन्न मद्दत मिल्यो । आभाले जे फेस गरेको छ, रक्षाले पनि त्यही फेस गरेकाले सजिलो भएको हो ।’

यो फिल्ममा किरण श्रेष्ठले रक्षासँग अनस्क्रिन रोमान्स गरेका छन् । मण्डलाका विद्यार्थी किरण अहिलेका प्रसिद्ध अभिनेता दयाहाङ राईका विद्यार्थी पनि हुन् । उनैसँगै रक्षाले फिल्ममा जोडी बाँधेकी छन् । रक्षालाई किरण मेहनती, लगनशील र काम गर्दा कम्फर्टेबल महसुस हुन्छ । अभिनय गर्दा आफूलाई को–एक्टरको रुपमा किरणले सघाएको रक्षाको भनाइ छ ।

बिजनेस म्यानेजमेन्टमा स्नातक अध्ययनरत रक्षा फिल्म करिअरलाई अघि बढाउन चाहन्छिन् । यो फिल्मको ट्रेलर र गीतले दिएको सकारात्मक प्रतिक्रियाले उनलाई हौसला थपेको छ । ‘कालो चस्मा लाऊ है मैयाँं’ गीतको रिमेकबाट प्राप्त गरेको प्रतिक्रियाले उनी हौसिएकी छन् ।

आफूजस्ता नयाँ कलाकारलाई साथ र उत्प्रेरणाको जरुरी रहेको रक्षा बताउँछिन् । ‘फिल्म हेरिदिनुहोला । हामी पहिलो यात्रा सुरु गर्दैछौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?