+
+

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा चार जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १७:२६

२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशसभाका चार वटा विषयगत समितिको सभापतिमा चार जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार सर्वसम्मत नेतृत्व चयन गर्नेगरि चार जनाले मात्र उम्मेदवारी दिएका हुन् ।

विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसका देवानसिंह बिष्ट, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेकपा(एकीकृत समाजवादी) की माया पन्त र सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिरबहादुर थापा ‘पातल’ ले उम्मेदवारी दिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

एकल उम्मेदवारी परेपछि प्रदेशसभाका सबै समितिको सभापति सर्वसम्मत चयन हुने भएको छ । यद्यपी प्रदेशसभा सचिवालयले उम्मेदवारमाथिको दाबी विरोधको समय मंगलबार दिउँसोसम्म राखेको छ । कुनै पनि उम्मेदवारको दाबी नपुग्ने अवस्था बाहेक मंगलबार(भोलि) विषयगत समितिको सभापति सर्वसम्मत चयन हुने सचिवालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिमा उम्मेदवारी दिएका एमालेका थापालाई सत्तारुढ माओवादी केन्द्रका प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले समर्थन गरेका छन् ।

सोमबार सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले नेकपा माओवादी केन्द्रलाई विशेषाधिकार समिति दिने सहमति गरेपछि भागबण्डा मिलेको थियो । प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएपछि उक्त समिति गठन गरेर सभापति चयन गर्ने सहमति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?