+
+

भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ७:२५

२५ पुस, काठमाडौं । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) सत्तामा फर्किएको छ ।

मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका प्रधानमन्त्री बनेका थिए ।

भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले पीडीपीले ४७ मध्ये ३० सिट जितेको जनाएको छ । अर्कोतर्फ पूर्व कर्मचारी पेमा चोबाङ्ग नेतृत्वको भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ सिटमा सीमित भएको छ । निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम परिणाम घोषणा गर्दैछ ।

सन् २००८ मा भुटानले राजाको प्रत्यक्ष शासन त्यागेर संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको थियो । त्यसयता भुटानमा भएको यो चौथो चुनाव हो । तत्कालीन राजा जिग्मे सिङ्घे वाङ्गचुकले आफ्ना छोरा जिग्मे खेसर नाम्ग्याल वाङ्गचुकलाई राजगद्दी सुम्पिएपछिको यो पहिलो संसदीय निर्वाचन हो ।

पुरानो र नयाँ पार्टीबीच प्रतिस्पर्धा

करिब आठ लाख जनसंख्या रहेको भूपरिबेष्ठित मुलुक भुटानमा करिब पाँच लाख मतदाता छन् ।

राष्ट्रिय सभामा बहुमत हासिल गर्ने दलले भुटानमा सरकार बनाउँछ । भुटानमा दुई चरणमा निर्वाचन हुने गर्दछ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई वटा पार्टी अन्तिम चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् ।

यसपटक पहिलो चरणको निर्वाचनमा भुटानका पाँच वटा दल प्रतिस्पर्धामा थिए । तीमध्ये तीनवटा पुराना पार्टी ड्रुक न्यामरुप त्शोग्पा (डीएनटी), ड्रुक फुएनसम त्शोग्पा (डीपीटी) र पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) सहित नयाँ दुई दल भुटान टेन्ड्रेल पार्टी (बीटीपी) र ड्रुक थुएन्ड्रेल त्शोग्पा (डीटीपीटी) बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतिस्पर्धाबाट पुरानो दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) र नयाँ दल भुटान टेन्ड्रेल पार्टी (बीटीपी) अन्तिम चरणको प्रतिस्पर्धामा पुगेका थिए ।

भुटानका वर्तमान प्रधानमन्त्री लोटे छिरिङ नेतृत्वको ड्रुक न्यामरुप त्शोग्पा (डीएनटी)लाई पछि पार्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले दुई तिहाइ सिट जितेर सरकार बनाउने अवसर पाएको हो । अब भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुकले पूर्वप्रधानमन्त्री पीडीपीका नेता छिरिङ तोब्गेलाई नयाँ सरकार बनाउनका लागि आह्वान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?