+
+

केएमसीले फिर्ता गर्‍यो डा. विशद दाहालको निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १४:५१

२५ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले डा. विशद दाहालको निलम्बन फिर्ता लिएको छ ।

बुधबार कलेज प्रशासन, काठमाडौं विश्वविद्यालय र आवासीय चिकित्सकका प्रतिनिधिबीच भएको छलफलमा डा. दाहालको निलम्बन फिर्ता लिने र कलेज प्रवेश गर्न दिने ८ बुँदे सहमति भएको हो ।

सहमति अनुसार डा. दाहाललाई पुस १२ बाट गरिएको एक महिनाको लागि पोष्टग्रेजुयट कार्यक्रमका कुनै पनि गतिविधिहरुमा सहमागी हुन नपाउने गरी गरिएको निलम्बन फिर्ता लिइएको छ ।

यस्तै आवासीय चिकित्सकले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिई नियमित अध्ययन तथा कामकाजमा फर्किनुपर्नेछ ।

सहमति अनुसार गत दुई वर्ष देखि सिन्धुपाल्चोक जिल्लाको सिपाघाटस्थित सामुदायिक अस्पतालमा आवासीय चिकित्सकलाई खटाइने छैन ।

कलेजबाट हुने गरेको स्थानीय स्तरमा गरिने निःशुल्क स्वास्थ्य शिविरमा अर्को व्यवस्था नभएसम्म २ हप्तामा ३ पटक र स्वास्थ्य शिविर बढीमा महिनामा एक पटक वा कलेज व्यवस्थापनले आवश्यक ठानेमा १ पटक थप गरी दुई पटकसम्म मात्रै आयोजना गर्न सहमति पत्रमा उल्लेख छ ।

यस्तै २–२ महिनामा नियमित समीक्षा बैठक बसी आवासीय स्वास्थ्य शिविर तथा अन्य शिविरमा भएगरेका र हुनसक्ने कमी कमजोरीलाई सुधार गर्दै लगायतका विषयमा सहमति भएको छ ।

कलेज व्यवस्थापकको तर्फबाट सहायक प्राचार्य डा. पावना कायस्थ, आवासीय चिकित्सकको तर्फबाट डा. विजय केसी र काठमाडौं विश्वविद्यालय –(केयू) प्रतिनिधि प्रा. डा. लक्ष्मण अधिकारी र दिपक दाहाल साक्षीको रुपमा रहेर सहमति भएको थियो ।

स्वास्थ्य शिविरका नाममा अन्याय गरिएको भन्दै आवाज उठाइरहेका कारण कलेज प्रशासनले डा. विशद दाहाललाई एक महिना निलम्बन गर्ने निर्णय गरेको थियो । केएमसीका आवासीय चिकित्सकले भने अन्याय विरुद्ध आवाज उठाउँदा कारबाही गरिएको भन्दै उक्त निर्णय तत्कालै फिर्ता लिन माग गर्दै आएका थिए ।

डा. दाहालको निलम्बन तत्काल स्थगन गर्न भन्दै यसअघि काठमाडौं विश्वविद्यालयले कलेजलाई पत्र पठाएको थियो भने मंगलबार शिक्षामन्त्रीले नै निलम्बन फिर्ता लिन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?