+
+

याक एण्ड यती, एभरेष्ट, र्‍याडिसन र फूलबारीले गरेनन् लाइसेन्स नवीकरण, पाँचतारे होटल १७ मात्र

अच्युत पुरी अच्युत पुरी
२०८० पुष २७ गते १९:१९

२७ पुस, काठमाडौं । काठमाडौंका तीन र पोखराको एक पुुरानो पाँच तारे होटलले लाइसेन्स नवीकरण नगर्दा नेपालमा दर्ता र नियमित नवीकरण भएका पाँच तारे होटलको संख्या १७ मात्र कायम हुन पुगेको छ । पर्यटन विभागले नेपालमा दर्ता तथा नवीकरण भएका पाँच तारा डिलक्स तथा पाँच तारा होटलको विवरण सार्वजनिक गरेको छ । जसमा काठमाडौंमा सञ्चालित याक एण्ड यती, र्‍याडिसन, एभरेष्ट र पोखराको द फू लबारी होटलको नाम उल्लेख छैन ।

विभागले पाँच तारा डिलक्स तथा पाँच तारा स्तरमा स्तर वर्गीकरण भई इजाजत पत्र नियमित रुपमा अध्यावधिक होटलको विवरण मात्र सार्वजनिक गरिएको बताएको छ । होटलले हरेक ५/५ वर्षमा इजाजत पत्र नवीकरण गर्नुपर्छ ।

विभागका अनुसार यसअघि पाँच तारे स्तरमा वर्गीकरण भई सञ्चालनमा रहेका ठूला होटलले नै इजाजत पत्र नवीकरण गरेका छैनन् । एकसाथ चार वटा पाँच तारे होटल नवीकरण नहुँदा अहिले देशभर पाँच तारे र पाँच तारा डिलक्स स्तरमा वर्गीकरण भएका होटलको संख्या १७ मात्र कायम भएको विभागले जनाएको छ । नवीकरण नभएपनि यी होटलमध्ये फूलबारीबाहेकका अन्य होटेल सञ्चालनमा छन् ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार यी होटल नवीकरण गर्ने प्रक्रियामा भने छन् । तर, यस प्रक्रियाका दौरान केही प्राविधिक विषयले होटल नवीकरण हुन नसकेको उनले बताए । अहिले होटल नवीकरण गर्न वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य बुझाउनु पर्छ ।

ठूला होटलले यसको प्रक्रिया पूरा गर्दा नै लामो समय लाग्दा समयमै नवीकरण गर्न नसकेको उनले बताए । कुनै होटलमा क्यासिनोको भुक्तानी र कुनै होटलमा श्रमसँग सम्बन्धित विषय समेत रहेका कारण होटलहरु नवीकरण हुन नसकेको उनले जानकारी दिए ।

इजाजत नवीकरण गरेमा सूचीमा समावेश हुन्छ : विभाग

पर्यटन विभागका अनुसार विगतमा पाँच तारा स्तरमा वर्गीकरण भएर इजाजतपत्र लिएका होटलले नवीकरणको प्रक्रिया पूरा गरेपछि भने पुनः सोही स्तरमा वर्गीकरण हुन सक्नेछन् । त्यसपछि ती होटललाई समेत पाँचतारे सूचीमा समावेश गरिने विभागले जनाएको छ । विभागले आफूले प्रक्रिया पूरा गरेको प्रमाण भए पेश गर्न समेत आह्वान गरेको छ । प्रमाण वास्तविक ठहरिए सूचीमा सुधार र परिमार्जन गरिने विभागको भनाइ छ ।

पाँच तारा डिलक्समा एक होटल–१६ होटल पाँच तारे

नेपालमा पाँच तारा डिलक्स स्तरमा वर्गीकरण भएको होटलको संख्या एक मात्र छ । झापाको मेचीनगरस्थित भेगस सिटी इन्टरटेन्मेन्ट (होटल मेची क्राउन)ले मात्र यो स्तरको वर्गीकरण पाएको छ । यसबाहेकका १६ होटल भने पाँच तारा स्तरका रहेका छन् ।

यी हुन् पाँच तारा डिलक्स र पाँच तारामा वर्गीकरण पाएका होटल

  • होटल मेची क्राउन, झापा (पाँच तारा डिलक्स)
  • सोल्टी होटल लिमिटेड, काठमाडौं
  • होटल डेला अन्नपूर्ण, काठमाडौं
  • पोखरा ग्राण्ड, पोखरा
  • तारागाउँ रिजेन्सी, बौद्ध
  • द मल्ल होटल, काठमाडौं
  • होटल साङ्ग्रिला, काठमाडौं
  • टाइगरवान प्रालि, रुपन्देही
  • सोल्टी वेस्टेन्ड प्रिमियम, नेपालगञ्ज
  • होटल सेन्ट्रल प्लाजा, कोहलपुर
  • होटल मेरियट, काठमाडौं
  • होटल द किङ्ग्सबरी, विर्तामोड
  • सिटी होटल लिमिटेड, काठमाडौं
  • होटल अलफ्ट, काठमाडौं
  • इच्छा होटल, बारा
  • होटल ल्हासा इन्टरनेसनल, काठमाडौं
  • अकामा होटल, काठमाडौं

पाँचतारेमा २३ सय ४६ कोठा

नेपालका पाँच तारे होटलमा कोठा संख्या २३ सय ४६ पुगेको विभागको तथ्यांकमा उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै कोठा तारागाउँ रिजेन्सी बौद्धमा छन् । यस होटलमा २९० वटा कोठा रहेको विभागले जनाएको छ ।

सोल्टी होटलमा २८२ वटा कोठा छन् । होटल मेरियटमा २१५ वटा कोठा छन् । अन्नपूर्णमा कोठा संख्या १५३ रहेको विभागले जनाएको छ ।

होटल मेची क्राउनमा १०१, पोखरा ग्राण्डमा १४०, द मल्ल र सांग्रिलामा १००/१००, सोल्टी वेस्टेण्ड र होटल सेन्ट्रल प्लाजामा ८०/८० होटल छन् । अलफ्टमा १६७, सिटी होटलमा १५३, इच्छा होटलमा ८९, होटल ल्हासामा १०७ र अकामा होटलमा १०५ वटा कोठा रहेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?