+
+

झापामा बन्ने भयो १ अर्ब लगानीमा तेस्रो पाँचतारे होटल

कुल १ सय ५८ कोठा र ३ सय शय्या रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन २१ गते १८:५८

२१ फागुन, काठमाडौं । झापामा तेस्रो पाँचतारे होटल निर्माण हुने भएको छ । होटल रोयल रिक्रिएसन नेपालले झापाको मेचीनगर नगरपालिका–१४ स्थित पाथिभरा टोलमा १ अर्ब लगानीमा होटल बनाउन लागेको हो ।

कुल १ सय ५८ कोठा र ३ सय शय्या रहने पाँचतारे होटलले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

प्रतिवेदन अनुसार होटलमा विभिन्न स्तरका पाहुना कोठासहित ब्यांक्वेट हल, कन्फ्रेन्स हल, मिटिङ हल, ज्याकुजी, स्पा, स्टिम, साउना, मसाज, फिटनेस सेन्टर तथा स्विमिङ पुलजस्ता सुविधा रहने कम्पनीले जानकारी दिएको छ । यो झापाको तेस्रो पाँचतारे होटल हुनेछ ।

अहिले झापाको भेगास सिटी इन्टरटेन्मेन्ट प्रालिले चलाएको होटल मेची क्राउन पाँचतारे डिलक्स र होटल द किङ्सबेरी पाँचतारे होटल सञ्चालित छन् । नयाँ होटल खाली जग्गामा बन्न लागेको र यसले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र अन्य संवेदनशील वन क्षेत्रमा भने कुनै असर नगर्ने प्रतिवेदनमा उल्लेख छ ।

होटल धुलाबारी चोकबाट ३.१ किलोमिटर दक्षिण–पूर्वमा बन्ने छ । यो नेपाल–भारत सीमा (काँकडभिट्टा) बाट ९ किलोमिटर पश्चिममा पर्छ ।

७ बिघा १ कठ्ठा जमिनमा बन्ने होटलले कुल ८ हजार २ सय २३ वर्गमिटर ‘ग्राउन्ड कभरेज’ गर्ने भएको छ । जुन कुल जग्गाको १७ प्रतिशत हो । ४३ प्रतिशत खुला क्षेत्र, १० प्रतिशत पार्किङ र ३० प्रतिशत हरियाली क्षेत्र कायम गरेर संरचना निर्माण गर्ने प्रस्ताव होटलले गरेको छ ।

होटल निर्माण अवधि तीन वर्ष हुने अनुमान छ । प्रस्तावित होटलको भवन सात तलाको हुनेछ । जसमध्ये तेस्रो तलाबाट पाहुना कोठा निर्माण गर्ने गरी प्रस्ताव गरिएको छ ।

होटललाई पाँचतारे डिलक्सका रूपमा सञ्चालन गर्ने उद्देश्य कम्पनीको छ । होटलहरूको वर्गीकरण २०७७ का मापदण्ड ध्यानमा राखेर होटल निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

आयोजनाले निर्माण चरणमा दैनिक ६० जनालाई रोजगारी दिने र सञ्चालनका दौरान कुल १ सय २० जनालाई प्रत्यक्ष रोजगारी दिने बताइएको छ । होटलमा ३ सय दुई पाङ्ग्रे र १ सय ७० चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ ।

भारतीय र इलाम आउने आन्तरिक पर्यटक मुख्य पाहुना

नेपाल–भारत सीमाबाट ९ किलोमिटर दूरीमा अवस्थित यो होटलले भारतीय पर्यटक लक्षित गरी संरचना निर्माण गर्न लागेको जनाएको छ । यसबाहेक बंगलादेश र भुटानी पर्यटक समेत आकर्षित गर्ने लक्ष्य होटलको छ ।

प्रस्तावित होटल स्थलबाट इलामको कन्याम र श्रीअन्तु नजिक रहेका कारण आन्तरिक पर्यटक समेत होटलका मुख्य पाहुना हुने कम्पनीको भनाइ छ ।

विवाह, इन्गेजमेन्ट, सभा–सम्मेलन जस्ता गतिविधिका लागि भारतीय पाहुना आकर्षण गर्न सम्भव रहेको कम्पनीले जनाएको छ । यसले स्थानीयमा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै उनीहरूको जीवनस्तर उकास्न समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?