+
+
साहित्य :

जोगीले सुनाएर गएको कुरा

जोगीले सुनाएर गएको यात्रा वर्णन एक कान, दुई कान हुँदै विस्तारै गाउँतिर छिर्दै थियो। दिनभरि चौतारो रुँगेर बस्ने मलाई कुरा बढाइँचढाइ गरेर सुनाउन कुनै समस्या थिएन।

नवीन प्राचीन नवीन प्राचीन
२०८० पुष २८ गते ६:३८

… वर्षौं भयो यसरी पथ–प्रदर्शन गरेर बसेको। मेरा प्रात:स्मरणीय, पूजनीय गुरुका कृपाले सबैथोक राम्ररी चलेको छ। उनी नै त थिए, जो यो असाध्य मार्ग पहिलोपल्ट हिंडेर उज्यालो देखाउन हाम्रो आँगनसम्म आइपुगेथे।

हाम्रो आफ्नै ठाउँ, हाम्रै खेत खलियान हुँदै जाने मुक्तिको मार्ग, पुराणहरुमा भनिएको स्वर्गसम्म पुग्ने पथका बारेमा यसरी पथिकहरुलाई बताउनु, उनीहरुको सेवा गर्नु अनि उनीहरुले कृतज्ञताले, दिएका उपहार, प्रेम, सद्भाव नै हो यो वैभवको स्रोत, यो मेरो आनन्दको कारण।’

यति जवाफले पत्रकार महोदयको जिज्ञासा शान्त भयो। उसले मेरा केही तस्बिर खिच्यो, आश्रममा पाकेको हलुवा खायो र साष्टांग दण्डवत् गरेर बिदा भयो। म एउटा अर्को झमेला फत्ते गरेर हलुका भएँ।

खासमा, एक जोगी वर्षौं अघि यही बाटो हुँदै ओरालो झरेका थिए। उनको यात्रा वर्णन बडो रोमाञ्चक थियो। उनले कुरै कुरामा एक बाटोका बारेमा बताएका थिए। जुन यही आश्रम हुँदै जान्छ। उनका अनुसार उनले भनेको बाटो हुँदै गए भूस्वर्गसम्म पुगिन्छ। बाटो खास कष्टपूर्ण त छैन तर असाध्य लामो छ। अहिलेसम्म उनी एकजना मात्र हिंडेकाले बाटोमा चिनोहरु छैनन्। उनले राखेनन् रे पनि।

यो मेरो आश्रम भएको ठाउँमा पहिला चौतारो थियो। यहीं हाम्रो भेट भएथ्यो। जहाँ उनले हामीलाई आफ्नो यात्रा वृत्तान्त सुनाएर बिदा भएथे। यो हाम्रो ठाउँको सबैभन्दा अग्लो भूभाग हो। यहाँभन्दा माथि कुनै मानव बस्ती छैन।

वर्षौंसम्म बेरोजगारीले थलिएको मैले ती जोगीको कुरामा सम्भावना देखें। त्यतिबेला मान्छेहरु भर्खर-भर्खर नयाँ गन्तव्यतिर यात्रा गर्न थालेका थिए। यो भेगकै सबैभन्दा दुर्गम हाम्रो गाउँसम्म आइपुग्नुलाई अझै पनि धेरै मान्छे युद्ध जिते जस्तो गर्छन्।

जोगीले सुनाएर गएको यात्रा वर्णन एक कान, दुई कान हुँदै विस्तारै गाउँतिर छिर्दै थियो। दिनभरि चौतारो रुँगेर बस्ने मलाई कुरा बढाइँचढाइ गरेर सुनाउन कुनै समस्या थिएन।

शहरतिरबाट फाट्टफुट्ट आइपुग्ने फिरन्ते अनि वल्लो-पल्लो गाउँका जिज्ञासुहरुलाई जोगीको यात्रा वर्णन र बाटोले पुर्‍याउने भूस्वर्गसम्मको बयान मेरो दिनचर्या हुन थालेको थियो। खैनी र बिंडीको जोहो यसले गर्न थालेको थियो। विस्तारै यात्रुहरु बढ्दै गए। अब कुरा मैदान पुगिसकेको थियो। अब भने मेरो दाल चामलकै जोहो … गुरु कृपाले हुन थालिसकेको थियो।

कथाको नयाँ अध्याय अनुसार मैले भू–स्वर्गको यात्रा गरिसकेको थिएँ। अब मसँग आफ्नै यात्रा वृत्तान्त पनि थियो, गुरु पनि थिए।

*****

समथर र मोटर गुड्ने ठाउँबाट आउनेहरुलाई दुर्गम गाउँको सबैभन्दा अग्लो भागमा रहेको आश्रमबाट देखिने दृश्य नै भू–स्वर्ग बराबर हुन्छ। जुन मैले जोगीले कहानी सुनाएको चौतारो  हड्पेर बनाएको हुँ।

कोही कोही हुन्छन् जो बाँकीको पथबारे पनि सोध्ने गर्छन्, जाने रहर गर्छन्। तिनीहरुलाई भेट्दा भने मेरो कन्पारो तात्छ। इच्छा त उनीहरुलाई यतै समाधिस्थ गरिदिउँ जस्तो नहुने हैन। तर यतिन्जेलको अनुभवले होला सम्झाएर बुझाएर काम चलिरहेकै छ।

कसैले यहाँभन्दा माथिको पथ बारे सोधे म मेरो पछिल्लो यात्रा जुन मैले गरेको त छैन, तर … गरेको छुको बारे बताउने गर्छु। कहिलेकाहीं त अनेक प्रश्न, जिज्ञासा, कौतूहल र केरकारहरुको सामना गर्नुपर्छ। बाटो कष्टसाध्य छ, असाध्य लामो र जोखिमले भरिएको छ भनेर बताएर, तर्साएर काम निकाल्नुपर्छ।

त्यहाँ गएर साधना गरेर आएको नयाँ गुरुको चरण कमलको सेवा र दर्शन गरे यात्रा बराबरकै पुण्य, लाभ प्राप्त हुने प्रवचनले धेरैको यात्रा यही आश्रमसम्म पुगेर रोकिन्छ। यो हुनु जरुरी पनि छ।

*****

तर, त्यो मान्छे कुन धातुले बनेको थियो — जति जति ऊसँग जोखिमका कुरा गरें, उति उति उसका आँखा चम्किए। जति जति उसलाई यहीं रोकिई भनें, उति उति उसले आफ्ना जुत्ताका तुना कस्यो। उसले मसँग कुनै प्रश्न गरेन, कुनै जिज्ञासा राखेन। मेरा हरेक छलहरुलाई अलिकति पनि शंका गरेन। तर यात्रा जसरी पनि गरिछोड्ने अड्डी भने छोडेन।

उसलाई जोगीले देखाएको बाटो देखाउँ— आफूले कुम्लो–कुटुरो बोके हुन्छ। नदेखाउँ, ऊ यसै फर्कनेवाला छैन। अनेक भय, डर, आश्वासन केहीले पार लागेन। मसँग ऊबाट छुट्कारा पाउने कुनै उपाय बाँकी थिएन। अर्को दिन बिहान मैले उसलाई त्यो बाटो देखाइदिएँ जहाँबाट आजसम्म कोही मान्छे फर्केर आएको थिएन।

गाउँलेहरु त्यो बाटोलाई भूताहा बाटो भन्छन्। उनीहरुका अनुसार कुनै अजंगको भीरमा त्यो बाटो टुङ्गिन्छ र आश्चर्यजनक रुपमा फर्किने बाटो समेत बिलाउँछ।

पहिले पहिले बाटो बिराएका कैयौं मान्छे कैयौं दिनसम्म रोएको, चिच्याएको सुनेको कुरा गाउँले बुढापाका बताउँछन्। त्यो बाटो ठिक यही आश्रमबाट जोगी फर्केको बाटो भन्दा विपरित दिशातिर जान्छ।

मैले त्यसदिन बिहान उसलाई अन्तिम हात हल्लाएँ। तर ऊ कृतज्ञताले मेरो पाउमा आफ्नो शिर राखेर खुसीले उफ्रँदै बिदा भयो। म एउटा बोझ बिसाएर हलुका भए जसरी आफ्नो दैनिकीमा फर्किएँ।

पथिकहरु आउने-जाने क्रम चलिरह्यो। मेरो उनीहरुलाई आश्रममै रोक्ने र फर्काउने काम चलिरह्यो। दिनहरु बितिगए।

*****

एक साँझ आश्रममा बत्ती बाल्दै गर्दा एक पथिक उत्साही पाइला चाल्दै आइपुग्यो र मेरो चरणमा लम्पसार पर्‍यो। उसलाई उठाएर अनुहार हेरें। ऊ कुनै बहुमूल्य रत्न जस्तै चम्किएको थियो।

अहो ! यो त उही थियो। जसलाई मैले उल्टो बाटो बताएको थिएँ। उसले मलाई अंकमाल गरिरह्यो, खुसीले बोकेर आश्रम भरी डुलायो अनि मप्रति कति धेरै कृतज्ञ छ भनेर बतायो। म भने भित्रभित्रै आतंक र जिज्ञासाले भरिएको थिएँ।

उसले भन्यो, ऊ त्यही मैले देखाएकै बाटो हुँदै भूस्वर्ग पुगेर आयो। त्यो अभूतपूर्व सौन्दर्यले भरिएको थियो। ठ्याक्कै ती जोगीले भने जस्तै।

तर, मैले त उसलाई …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?