+
+

प्रधानमन्त्री कपमा मधेश र लुम्बिनीको पनि सुखद सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते १७:३१
शतक हान्ने मधेशका खेलाडी अनिलकुमार साह । तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान) ।

२८ पुस, काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा मधेश र लुम्बिनी प्रदेशले पनि सुखद सुरुवात गरेका छन् ।

शनिबार भएको प्रतियोगिताकै पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले हराएको थियो । अर्को खेलमा मधेश प्रदेशले अनिलकुमार साहको उत्कृष्ट ब्याटिङको मद्दतमा कोशी प्रदेशलाई ७ विकेटले हराएको छ ।

मूलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले ४१ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाउन सक्यो । खाता नखोल्दै विकेट गुमाएको उसका कप्तान अंकित सुवेदीले टिकेर खेल्ने प्रयास गरे । ४० रन बनाएका उनी १९ औं ओभरमा चौथो विकेटका रुपमा आउट भए, त्यतिबेला टिमको स्कोर ५६ रन थियो ।

उनको स्थानमा आएका फिर्दोसले पनि त्यसरी नै खेले, तर अरु ब्याट्सम्यानले साथ दिएनन् । ४१ औं ओभरको अन्तिम बलमा अन्तिम ब्याट्सम्यानका रुपमा आएका उनले ४१ रन बनाए । कोशीका अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रञ्जित कुमार र पवन सरार्फले २–२ विकेट लिए भने विशाल पटेलको नाममा एक विकेट रह्यो ।

१२८ रनको लक्ष्य पछ्याएको मधेशले निकै राम्रो सुरुवात गर्‍यो हरिशंकर साह र अनिलकुमार साहले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे । साह २४ रनमा आउट भए । अनिलसँग २० रनको साझेदारी गरेका मयान यादव १ रनमै आउट भए भने तेस्रो विकेटका रुपमा अनिल १८ औं ओभरको तेस्रो बलमा ८८ रनमा आउट भए ।

पवन सरार्फ र निराज यादवले खेल पूरा गरे । पवन २ र निरज ९ रनमा अविजित रहे ।

कोशीका सोनु मण्डलले २ विकेट लिए भने सुजन थपलियाले एक विकेट आफ्नो नाममा लेखाए ।

लुम्बिनीको जित

प्रधानमन्त्री कप अन्तर्गत नै रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा लुम्बिनीले अजय चौहानको उत्कृष्ट बलिङको मद्दतमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ३४.४ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाए ।

गण्डकीलाई कम रनमै सीमित गर्ने क्रममा अजय चौहानले ५ विकेट लिए । ८.४ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै जम्मा १६ रन खर्चिएका थिए । एमडी हसनले २ विकेट लिए भने कृष्ण कार्की, अनिशेष गौतम र नर सार्कीको नाममा समान १–१ विकेट रह्यो ।

११२ रनको लक्ष्य लुम्बिनीलाई पनि सहज भने भएन । २८.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
उसका लागि ओपनर मृनाल गरुङले ४७ रनको निर्णायक पारी खेले । पहिलो विकेटका लागि विराट भण्डारीसँग ३३ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका लागि एमडी हसनसँग ३६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

गण्डकीको विपिन खत्री र कमल परियारले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?