+
+

नेपालको जर्सीमा अनिलको कीर्तिमानी पुनरागमन

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ २७ गते २१:१०

२७ माघ, काठमाडौं । नेपालका विकेटकिपर अनिलकुमार साहले क्यानडाविरुद्ध दोस्रो एकदिवसीमा कीर्तिमानी ब्याटिङ गरे । २८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका लागि अनिलले आक्रामक इनिङ खेल्दै गज्जबको सुरुवात दिलाएका थिए ।

शनिबार त्रिवि क्रिकेट मैदानमा अनिलले क्यानडाविरुद्ध खेल्ने पक्कापक्की थियो । अघिल्लो खेलमा मात्र ८ रन बनाएका आसिफ शेखलाई बेन्चमा राखेर अनिललाई मौका दिने अनुमान थियो । पछिल्लो पटक २०२२ मार्चमा नेपालका लागि खेलेका अनिलले प्रधानमन्त्री कपमा लोभलाग्दो प्रदर्शन गरेका थिए ।

तर नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले सबैलाई सरप्राइज दिँदै पहिलो खेलमा ६२ रन बनाएका कुशल भुर्तेललाई विश्राम दिए । अनि आसिफ र अनिल दुबैलाई खेलाए ।

नेपालले २८६ रनको विजयी लक्ष्य पाएको थियो । उक्त लक्ष्य पछ्याउन अनिल र आसिफ मैदान उत्रेका थिए ।

लामो समयपछि टोलीमा फर्किएका खेलाडी केही दबाबमा हुन्छन्, सुरुवाती समय विपक्षी बुझेर मात्र खेल्न खोज्छन् । तर अनिल पुनरागमन होइन, नियमित खेलाडी झैं भिन्न शैलीमा मैदान उत्रिए । तीव्र गतिका बलर उदय भगवानलाई दोस्रो बलमै कभरमा चौकाबाट सुरुवात गरे । पाँचौं बलमा कभरमा नै चौका हाने ।

क्रिजमा रोहित पौडेल र अनिल साह ।

चोभार एण्डबाट क्यानडाले स्पिनर हर्ष ठाकेरलाई दोस्रो ओभरमै बलिङमा ल्याएको थियो । हर्षलाई अनिलले चौथो बलमा लङअनमा छक्का, त्यसपछि कभर र स्टेटमा चौका हान्दै आक्रामक शैली देखाए ।

अनिल त्यतिमै रोकिएनन् । तेस्रो ओभरको अन्तिम दुई बलमा चौका र छक्का हाने । पाँचौ ओभरको पहिलो बल ईश्वरजोतलाई चौका हाने । दोस्रो बलमा कभरमा एक विश्वस्तरीय सट खेल्दै धेरैको ध्यान आफूतर्फ केन्द्रित गरे ।

लगत्तै अर्को बलमा सोही किसिमको सटमा चौका प्रहार गरे । पाँचौं ओभरको चौथो बलमा एक रन बटुलेपछि अनिल १३ बलमा ४३ रनमा पुगेका थिए । बाँकी दुई बलमा ७ रन बनाउन सकेको भए नयाँ विश्व कीर्तिमान बन्ने थियो ।

त्यो थियो एबी डिभिलियर्सको ओडीआईमा सर्वाधिक छिटो १६ बलको अर्धशतक ।

तर स्पिनर साद बिन जाफरको छैटौं ओभरको पहिलो बल डट र दोस्रो बलमा एक रन बुटलेपछि त्यो सम्भावना टर्‍यो । चौथो बल डट खेलेपछि बरावरी गर्ने अवसर पनि सकियो ।

ईश्वरजोत सोहीको सातौं ओभरको दोस्रो लेग साइडको बललाई पुल सट खेल्दै डिप मिडविकेटमा छक्का हानेपछि भने उनी नेपालबाट ओडीआईमा सर्वाधिक छिटो (१९ बलमा) अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाउन सफल भए । उनले आसिफले गतवर्ष पपुवा न्युगिनीविरुद्ध बनाएको २१ बलमा अर्धशतकको कीर्तिमान तोडे

अर्धशतकलगत्तै अर्को बलमा उनी एलबीडब्लू आउट भए । लेन्थको बल जज गर्न चुक्दा एउटा सुन्दर इनिङको अन्त्य भयो । फ्रन्ट फुडमा आएर खेल्ने धुनमा प्याडमा लाग्दा अम्पायरले क्यानडाका खेलाडीको जोडदार अपिलमा आउट दिएका थिए ।

२० बलमा ७ चौका र ३ छक्कासहित ५० रनको आक्रामक इनिङ खेलेका उनी नेपाललाई लक्ष्य भेट्टाउन राम्रो आधार तयार पारेर पभेलियन फर्किएका थिए ।

उनी आउट हुँदा नेपाल ६.३ ओभरमा ६४–२ को अवस्थामा थियो । देव खनाल र रोहित पौडेलको जोडीले १५० रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्‍याए ।

अनिलका अनुसार लक्ष्य अलि ठूलो नै थियो, टोलीलाई पावर प्लेमा राम्रो सुरुवात पनि चाहिएको थियो ।

प्रशिक्षक मोन्टी देशाइले ‘प्रधानमन्त्री कपमा जे गरेर यहाँसम्म पुगेको छौं, त्यही गर्नू’ भनेका थिए । त्यसैले बल हेर्ने, त्यसअनुसार खेल्ने सोचका साथ मैदान प्रवेश गरेका थिए । त्यसमा यति डुबेका थिए कि सबभन्दा कम बलको अर्धशतक बनाउने अवसर आएको मात्र होइन, कति बल खेलेँ भन्ने समेत याद थिएन ।

‘आउट भएर गएको १५/२० मिनेटपछि रमन दाइ (टेक्निकल एनालिष्ट) लाई कति बल खेलेँ भनेर सोधेको थिएँ । त्यति बेला मात्रै २० बल खेलेको थाहा पाएँ’ उनले भने, ‘दिमागमा रेकर्डबारे केही थिएन । सायद कसैले भनिदिएको भए अतिरिक्त गर्न खोज्थेहोला । त्यसबेला नराम्रो पनि सक्थ्यो । त्यसैले जे भयो, राम्रो भयो ।’

उनले अगाडि भने, आउट भएर आएको धेरै समयपछि नेपालबाट सर्वाधिक छिटो अर्धशतक भन्ने सुनेपछि चाहिँ एकछिन के गरौं के गरौं भएको थियो ।’

दमदार पुनरागमन

नेपालले २०१८ अगष्टमा नेदरल्यान्ड्ससँग ओडीआईमा ऐतिहासिक डेब्यू गर्दा अनिल नेपालको पहिलो रोजाईका खेलाडी थिए । त्यो खेलमा ३२ बलमा ३ चौकासहित २१ रन बनाएका अनिल अर्को खेलमा चार रनमा आउट भए ।

त्यसपछि नेपाली टोलीबाट बाहिरिए । २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई खेल खेल्ने अवसर टियुमा पाएका थिए । त्यो समय अनिल ६ र १ रनमा आउट भएका थिए । त्यसपछि अनिललाई सिनियर टोलीमा फर्किन कठिन भयो ।

२०२१ मा पर्याप्त खेल्ने अवसर नपाएको भन्दै नेपाल पुलिस क्लब छाडेर मधेश प्रदेश फर्किने निर्णय लिए । आफ्नै खर्चमा दिल्लीमा पुगेर प्रशिक्षण थाले, पटक दशैं तिहारमा समेत घर आएनन् । परिणाम, हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ३८६ रनका साथ सर्वाधिक रन बनाउने ब्याटर भए ।

त्यही प्रर्दशनको बलमा सिनियर टिममा परेका अनिलले शनिबार विष्फोटक ब्याटिङ देखाएका छन् ।

हालका अनिल क्यानडाविरुद्ध सिरिज खेल्ने टोलीमा मात्र छन् । आईसीसी विश्वकप लिग २ मा नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ, जसमा आसिफ र अर्जुन साउद दुबै विकेटकिपरको रुपमा छन् ।

त्रिकोणात्मक टी–२० आई सिरिजको लागि भने टोली घोषणा गर्न बाँकी छ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?