११ माघ, काठमाडौं । गण्डकी प्रदेशलाई १४५ रनको फराकिलो अन्तरले हराउँदै मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्ने संभावना कायम राखेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि ३३६ रनको लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १९० रनमा अल आउट भयो ।
गण्डकीका कमल परियार र ईश्वर क्षेत्रीले समान २७ तथा कृष ऐयरले २६ रन बनाए पनि टिमको फराकिलो हार टार्न सकेनन् ।
मधेशका रञ्जित कुमारले ४ तथा हरिशंकर साहले ३ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको मधेशले विकेटकिपर अनिलकुमार साहको शतकको सहयोगमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको थियो ।
यो प्रधानमन्त्री कप क्रिकेट इतिहासकै दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेशलाई ३३९ रन हानेको थियो ।
मधेशका अनिलले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको सानदार शतकीय इनिङ खेले । मधेशले कप्तान हरि शंकर शाहलाई २ रनमा गुमाएको थियो ।
दोस्रो विकेटका मयन र अनिलले १०४ रनको शतकीय साझेदारी गरेका थिए । मयन सन्दीपको बलमा केहि अघि बढेर सट खेल्ने धुनमा विकेटकिपर समिर कँडेलबाट २७ रनमा स्टम्पिङ आउट भए । उनले ४४ बलमा २ चौका हाने ।
पवन सरार्फ ३८ बलमा ३ चौका र २ छक्कासहित ४० रनमा आउट भए । तेस्रो विकेटका लागि पवन र अनिलले ६९ रनको साझेदारी गरेका थिए । अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्कासहित ६३ रनमा नट आउट रहे ।
अभिषेक तिवारी १९ बलमा १ चौका र १ छक्कासहित २७ रनमा नट आउट रहे । रुपेश सिंहले ३५ बलमा ३ चौकासहित ३२ रन बनाए । गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १-१ विकेट लिए ।
गण्डकीका कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेका थिए । प्रधानमन्त्री कपमा १०० रनभन्दा बढी खर्चने उनी पहिलो बलर बनेका छन् ।
यो जितपछि मधेश ८ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान ८ खेलबाटै १० अंक बटुलेको बागमती रन रेटका आधारमा दोस्रो र ५ खेलबाट १० अंक नै बटुलेको नेपाल पुलिस पहिलो स्थानमा छ ।
यो हारपछि गण्डकीको शीर्ष २ मा रहँदै फाइनल खेल्ने संभावना गणीतिय रुपमा मात्र कायम छ । आठौं स्थानमा रहेको उसको ६ खेलबाट ४ अंक मात्र छ । १० टिम सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छ ।
प्रतिक्रिया 4